लोप हुँदै गइरहेको संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्ने गरी थारु समुदाय सकृय
हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका थारु समुदायले कृष्ण जन्माष्टमी विशेष कार्यक्रम मार्फत आफ्नो संस्कृति प्रदर्शन गरेका छन् । बुधबार बेलौरी नगरपालिका वडा नं. ७ को आयोजनामा श्री कल्याण मावि, पौलाहाको प्रांगणमा आयोजित वडा स्तरीय श्री कृष्ण जन्माष्टमी विशेष कार्यक्रममा थारु समुदायको लोप हुँदै गइरहेको संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले परम्परा अनुसार प्रदर्शनी गरिएको थियो ।
वडाबाट विनियोजित रु. ५० हजार बजेटमा उक्त कार्यक्रम गरिएको र थारु समुदायले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिई संरक्षण गर्ने गरी दशैँ सम्म आफ्नो समुदायमा विभिन्न प्रस्तुति देखाउने वडा नं. ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले थारु संस्कृति जगेर्नाका लागि पहिलो पटक वडा नं. ७ बाट उक्त कार्यक्रम गरिएकोमा प्रशंसा गर्नुभयो । उहाँले लोप हुँदै गइरहेको थारु संस्कृतिलाई संरक्षणका लागि नगरपालिकाले पनि समयसमयमा विभिन्न खालका कार्यक्रम गरिरहेको बताउनु भयो ।
वडा स्तरीय श्री कृष्ण जन्माष्टमी विशेष कार्यक्रम मूल आयोजक समितिका संयोजक कुमारी चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, भलमन्सा, थारु अगुवाका साथै पाँच सयभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस