बेलौरिमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न : ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर

बेलौरी  । बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम गरेको छ ।

“म स्वस्थ, मेरो समुदाय स्वस्थः स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने नारा सहित आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला समूह, कृषि समूह, भलमन्सा तथा बाल क्लब लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् ।
कार्यक्रममा सहभागीहरूले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत, संस्थागत तथा सामूहिक रूपमा सातबुँदे प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बहिष्कार, नुन–चिनी–तेलको प्रयोग घटाउने, जंक फुड निरुत्साहित गर्ने, नियमित व्यायाम तथा योगलाई प्रोत्साहन गर्ने, मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने, मोबाइल तथा स्क्रिनको अत्यधिक प्रयोग नियन्त्रण गर्ने, बजारमा अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री रोक्ने तथा सडक सुरक्षाका लागि ट्राफिक नियम कडाइका साथ पालना गराउने विषय समेटिएका छन् ।

कार्यक्रमको अध्यक्षता जोगराम चौधरी ले गरेका थिए । उनले पछिल्लो समय अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मानिसहरूमा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सबै नागरिक सचेत हुनुपर्ने बताए ।

उनले भने, “हाम्रो नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वस्थ नगर निर्माण गर्ने अभियानमा हामी दृढतापूर्वक जुटेका छौँ । यस अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक छ ।”
बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्द ले कार्यक्रमको उद्देश्य समुदायमा नसर्ने रोगबारे जनचेतना अभिवृद्धि गर्नु, नियमित स्वास्थ्य परीक्षण तथा स्क्रिनिङलाई प्रोत्साहन गर्नु र स्वस्थ जीवनशैली अपनाउन सबै सरोकारवालालाई प्रतिबद्ध गराउनु रहेको बताए ।

उनले व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो राख्न सके मात्र परिवार, समुदाय र राष्ट्रको स्वास्थ्य पनि सुदृढ बन्न सक्ने उल्लेख गर्दै अभियानलाई नगरव्यापी रूपमा विस्तार गरिने जानकारी दिए । साथै बेलौरी नगरपालिकालाई निकट भविष्यमा क्षयरोगमुक्त नगर घोषणा गर्ने तयारी भइरहेको पनि बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक सिद्धराज भट्ट ले नसर्ने रोगको बढ्दो जोखिमबारे तथ्यांकसहित प्रस्तुति दिएका थिए । उनका अनुसार हरेक १०० जनामध्ये करिब ३० जनाको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी नसर्ने रोगका कारण हुने गरेको छ ।

उनले अस्वस्थ खानपान, धूम्रपान , मद्यपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीले नसर्ने रोगको जोखिम झन् बढाइरहेको बताए । समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानीको विकास गर्न सके यस्ता रोगबाट बच्न सकिने उनको भनाइ थियो ।

बेलौरी नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाले गरेको थियो । अभियानले बेलौरी क्षेत्रमा स्वस्थ जीवनशैली सुधार  गर्दै नसर्ने रोगको जोखिम न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने  विश्वास गरिएको छ ।

 साझा प्रतिबद्धताहरू तपशिल अनुसार रहेका छन ।
१-  नसर्ने रोग (क्यान्सर, मुटु र कलेजोको रोग) को मुख्य कारण सुर्ती, चुरोट, गुट्खा र मदिरा भएकाले हामी आजबाट यस्ता पदार्थको सेवन गर्ने छैनौँ र आफ्नो परिवार, समाज तथा बजार क्षेत्रलाई समेत यसको लतबाट मुक्त गराउन दृढ संकल्प गर्दछौँ ।
२ - रोगको मुख्य जड भान्सा भएकाले खानामा नुन, चिनी र तेलको प्रयोग न्यून गर्ने, एक पटक प्रयोग भएको तेल दोहोर्‍याएर प्रयोग नगर्ने र पत्रु खाना (Junk Food) लाई पूर्ण रूपमा निरुत्साहित गर्नेछौँ ।
३- आफैँबाट सुरुवात गर्दै आफ्नो परिवार र समुदायलाई नियमित व्यायाम, खेलकुद, योग र ध्यानमा लाग्न तथा वर्षमा कम्तीमा एक पटक नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहित गर्नेछौँ ।
४-  मानसिक र शारीरिक स्वास्थ्य एकअर्काका परिपूरक भएकाले समाजमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउँदै, मानसिक समस्या भएका व्यक्तिहरू प्रति हुने सामाजिक लाञ्छना र विभेदको अन्त्य गर्नेछौँ ।
५ - शारीरिक निष्क्रियता र अनिद्रा जस्ता समस्या कम गर्न बालबालिका तथा युवाहरूमा मोबाइल र स्क्रिनको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै ‘प्रविधि उपवास’ (डिजिटल विश्राम) लाई बढावा दिनेछौँ ।
६ - बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुहरूको बिक्री रोक्न नियमित अनुगमन गर्नेछौँ र १८ वर्ष मुनिका बालबालिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री नगर्ने नियम कडाइका साथ पालना गराउनेछौँ ।
७- दुर्घटना र नसर्ने रोग दुवैको साझा दुश्मन मदिरा र लागुपदार्थ भएकाले, प्रहरीको सक्रियतामा ‘मापसे’ र ‘लापसे’ चेकिङलाई कडा बनाउँदै ट्राफिक नियमको पूर्ण पालना मार्फत सडक सुरक्षा कायम गर्नेछौँ।

प्रतिकृया दिनुहोस

हजारौं हात एउटै लक्ष्य : कृष्णपुरको ऐतिहासिक सरसफाइ अभियान

हेमा भट्ट, साउन १०,कञ्चनपुर - "स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नारालाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले

कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर,  २४ असार । कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबिच कञ्चनपुरलाई पूर्ण खोप

बेलौरी नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा १७६ थान कृषि यान्त्रीकिकरण सामग्री बितरण

बेलौरी  २३ असार। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत मंगलबार कृषि क्षेत्रमा