बेलौरी खबर

भीमदत्त नगरपालिकामा अस्थिरता मच्चाएर विकास निर्माण रोक्नका लागि विकास विरोधी गिरोह सक्रिय ।।

कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा अस्थिरता मच्चाएर विकास निर्माण रोक्नका लागि विकास विरोधी गिरोह सक्रिय रुपमा लागेको छ । स्थानीय तह निर्वाचनपछि जुर्मुराएको गिरोहले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि विकास निर्माण रोक्न त्यो गिरोहले सक्रियता बढाएको थियो । अहिले त्यो गिरोहले विकास निर्माणका कार्य अवरुद्ध गर्न एकपछि अर्को प्रकरण सिर्जना गरी अस्थिरता ल्याउन खोजेको छ । चालु आर्थिक वर्षको कर निर्धारण, छाडा पशु चौपाया व्यवस्थापन, निर्मला पन्त हत्या प्रकरण, नगर विकास प्रकरणलाई नगरपालिकासित जोडेर अस्थिरता मच्चाउने कार्य गरिरहेको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुले विकास विरोधी गिरोहलाई सत्तारुढ दलका केही साँसदहरुले समेत सहयोग गरिरहेको आशंका गरेका छन् । नेकपा पार्टी कार्यालयमा बिहीबार भीमदत्तका जनप्रतिनिधि र नेताहरुबीच भएको कार्यक्रममा समेत विकास विरोधी गिरोहको चर्चा भएको सहभागी एक नेता बताए ।

 


पछिल्लो पटक निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिकालाई अपेक्षित बदनाम 
गराउन नसकेपछि फेरि नगर विकास प्रकरण अघि ल्याइएको विषय बाहिर आएको छ । यसले नेकपाका नेताहरु गम्भीर भएका छन् । ‘निर्मला हत्या प्रकरणमा चाहे जसरी नगरपालिकालाई फेल गर्न सकिएन भनेर फेरि नगर विकास प्रकरण अघि सारिएको छ, त्यस बारेमा केही दिन अघि त्यो गिरोहले बसेर छलफल गरेको कुरा बाहिर आएका छन्’ कार्यक्रमपछि ती नेताले भने,‘यो कुरा बाहिर आएपछि नेताहरु गम्भीर भएका छन्, त्यसबारे क्विक एक्सन लिने गरी छलफल 
गरिएको छ ।’  केही जनप्रतिनिधिहरुले सत्तारुढ पार्टी र जनप्रतिनिधि विरुद्ध अफवाह फैलाएर बदमान गराउने नेता कार्यकर्ता विरुद्ध कारवाही थाल्न नेताहरुलाई दबाव दिएका छन् । ‘एउटाले राम्रो देखाएर अर्कोको खेदो खन्ने, फेसबुकमा जे पायो त्यही लेख्ने, यस्ता अराजक प्रवृद्धि विरुद्ध जान पर्छ, त्यसमा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउनु पर्छ, त्यसका लागि पार्टी तयार हुनु पर्छ’ ती नेताले भने ।

 


प्रमुख प्रतिपक्षी काँग्रेसको पछि लागेर नगरपालिका र पार्टी विरुद्ध अफवाह  फैलाउनेलाई कारवाही गर्न समेत आवाज उठेको छ । त्यस्ता कार्यकर्तालाई पार्टीबाट निश्कासन गरी करावाही गरिनु पर्ने माग गरिएको छ । नेकपाका नेता बीर बहादुर थापाले पार्टी  र जनप्रतिनिधि विरुद्ध अनावश्यक अफवाह फैलाउने नेता कार्यकर्ताको विषयमा पार्टी केन्द्रमा छलफल गरिएको बताए । ‘पार्टीलाई बदनाम हुने कार्यमा संलग्नको विषयमा केन्द्रमा कुरा भएको छ, पार्टी एकीकरणपछि त्यसमा छलफल गरी आवश्यक कारवाही गर्छौ’ उनले भने । भीमदत्त नगरपालिकामा पाँच वर्षसम्म अस्थिरता मच्चाउने गिरोह सक्रिय रहने भएकाले त्यसबारे पार्टीका सबै कमिटीलाई सक्रिय बनाइने भएको छ । जिल्लामा पार्टी एकीकरणपछि त्यसलाई टुङ्गो लगाएर जाने नेताहरु एकमत देखिएका छन् ।

 


गत मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि नगर क्षेत्रका सबै छाडा गाई गोरु नगरपालिका कार्यालयमा हुलिएको थियो । राजनीतिक प्रतिशोध साँध्न नगरपालिकामा अस्थिरता मच्चाउने सुरु गरिएको थियो । नेकपा एकीकरण नभएको मौका छोपेर त्यो गिरोह विभिन्न प्रकराणमा भीमदत्त नगरपालिकालाई मुछेर बदनाम गराउन सक्रिय छ । छाडा गाई गोरु कार्यालयमा हुल्ने गिरोहले पछिल्लो पटक बागफाँटास्थित बागफाँटामा टयाग लगाएका गाई गोरु लगेर समस्या उत्पन्न गराएको थियो । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र हुन नदिन वस्ती वस्तीमा दुष्प्रचार गरी वासिन्दालाई भड्काउने कार्य गरिएको छ । ‘त्यसको काम नगरपालिकाका काम हुन नदिने भन्ने हो, त्यसको अरु कुनै स्वार्थ छैन, तर त्यस्ता प्रयास सफल हुन दिदैनौ’ नेकपा नेता ईश्वरी प्रसाद खरेलले भने,‘कम्युनिष्ट सरकार जन चाहनाका विकास निर्माणका कार्य गरेर छाड्छ ।’ 

 


भीमदत्त नगरपालिकाले आयोजना गरेको म्याराथन मार्च विफल बनाउने विकास विरोध गिरोहको षडयन्त्र तुहिएको छ । जैविक मार्ग र म्याराथन मार्च विरुद्ध अफवाह फैलाउदेखि मार्च बहिस्कारसम्मका कार्य गरिएका छन् । म्याराथन धावक बैकुण्ठ मानन्धर सहभागी म्याराथन मार्चलाई टिशर्टसित जोडेर विवादमा ल्याउने समेत प्रयास गरिएको थियो । म्याराथन धावकले मानन्धरले जैविक मार्ग र म्याराथन मार्चको प्रशंसाद गर्दै आफू पुगेको सबै ठाउँमा पुगेर प्रचार गर्ने बताएका थिए ।

<