बेलौरी खबर

छाडा पशुचौपाया व्यवस्थापन गर्न बेलडांडी गाउँपालिकाले सुरु गर्यो ट्यागिङ प्रणाली ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
सडकमा छाडिने छाडा पशु चौपाया व्यवस्थापन कार्य पेचिलो बनेपछि कञ्चनपुरको बेलडांडी गाउँपालिकाले ट्यागिङ कार्यक्रम सुरु गरेको छ । बेलडांडी गाउँपालिका भित्र संचालित व्यावसायिक फार्म तथा घरमा पालिएका पशु (गाई प्रजाती) लाई पहिचानका लागि ट्याग लगाएर नियन्त्रण गर्ने कार्यक्रम सुरु गरिएको बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले बताउनु भयो । 

 

बेलडांडी गाउँपालिका पशुसेवा शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत घरपालुवा चौपायलाई ट्यागिङ् गरी गाई प्रजातिमा अभिलेखिकरण एवं स्वामित्व हस्तान्तरण कार्यक्रम वडा नं. २ बाट सुरु गरिएको बेलडांडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनुभयो । ट्याग लगाइएका पशु सडकमा देखिए पशु धनीको पहिचान गरी आवश्यक कानुनी कार्वाही समेत गरिने प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनु भएको छ ।

 

सोमबार बेलडांडी गाउँपालिका वडा नं. २ बाट सुरु गरिएको उक्त कार्यक्रम गाउँपालिका भित्रका ५ वटै वडामा गर्दै लैजाने र स्वामित्व कार्ड प्रमाणीकरणलाई समेत अनिवार्य गरिने योजना रहेको बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनु भयो । उपयुक्त नीति तथा ऐनको अभावका कारण पशु अधिकारको उल्लंघन भैरहेको अध्यक्ष थापा क्षेत्रीको ठम्म्याइ छ । उहाँले भन्नुभयो, “सडकमा जथाभावि छोडिएका पशु आफ्नो अधिकारबाट पुर्ण रुपमा बञ्चित हुनुपरेको छ, भने रोगको प्रकोप बढ्न गई पशुधनको नोक्सान र खाद्यान्न उत्पादनमा समेत ह्रास बेहोर्नु परेको छ ।”

 

बेलडांडी गाउँपालिकाका उपाध्यक्ष कमला कार्कीले भन्नुभयो, “सनातन धर्म मान्नेहरुले जनावरलाई भगवान भन्ने गर्दछन् । तिहारमा गाई, कुकुर, गोरु, काग सबैलाई पुजा गर्ने गर्दछन् । तरपनि जनावर प्रतिको हिंसा भने गर्न छोड्दैन । जनावरको हकहितमा काम गर्ने संस्थाहरुले कानुन बनाएका छन् । यस्तो कानुनलाई अब कार्यान्वनमा ल्याउन जरुरी छ ।” 

 

दीर्घकालीन रुपमा छाडा पशु चौपायाको नियन्त्रण गर्न, पशुधनको स्वामित्व लिन, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्युनीकरण गर्न तथा गाउँको सौन्दर्यीकरणलाई थप प्रवद्र्धन गर्नका लागी यो कार्यक्रम प्रभावकारी हुने बेलडांडी गाउँपालिका वडा नं. १ का वडा सदस्य शंकर भट्टले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समय समयमा छाडा पशु चौपायालाई गाउँपालिकाले खटाएका हेराला र प्रहरीको सहयोगमा बन्दि गृह (काञ्जी हाउस) लगिन्छ र दण्ड पनि गरिन्छ । तर पनि समाधान भएको छैन र छोड्ने क्रमपनि जारी छ, कहिले काही पछि फेरी पशु धनी गएर ल्याएका हुन्छन् । कति त आफैँ आउँछन् । यो पनि दिर्घकालीन समाधान हैन । त्यसैले अब दिर्घकालीन समाधानको लागि जनावरको ‘ट्याग’ गर्ने काम सुरु गरेका हौँ, यो नै सही उपाय हो जस्तो लाग्छ ।”

<