बेलौरी खबर

कञ्चनपुरको बेलडांडी गाउँपालिका भित्र सञ्चालित विभिन्न योजनाहरुको अनुगमन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलडांडी गाउँपालिका भित्र चालु आर्थिक वर्ष २०७५–०७६ अन्तर्गत सञ्चालित विकासे योजनाहरुको विभिन्न वडाहरुमा स्थलगत अनुगमन गरिएको छ । बेलडांडी गाउँपालिकाको वडा १ को विजयटोल सहित वडा नं. ३, ४ र ५ का विभिन्न योजनाहरुको बिहिबार स्थलगत अध्ययन अवलोकन गरिएको हो । 

 

अनुगमन टोलीले बेलडांडी गाउँपालिका वडा नं. ५ झिलमिलामा रहेको रौतेली विचवा स्वास्थ्य चौकीमा गरिएको रंगरोगन, सोही वडामा रहेको एक मन्दिरमा निर्माणाधिन यज्ञशाला, वडा नं. ४ र ५ लाई जोड्ने नालामा ह्युमपाइप कल्भर्ट निर्माण, सरस्वति जनता माविको घेर पर्खाल निर्माणका साथै वडा नं. १, ३, ४ र ५ मा निर्माणाधिन विभिन्न सडकखण्डहरुको स्थलगत अनुगमन गरेको बेलडांडी गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक कमला कार्कीले जानकारी दिनुभयो । 

 

गाउँपालिका र वडाबाट विनियोजित बजेटले गत वर्ष र चालु आर्थिक वर्षमा थुप्रै योजना सम्पन्न गरिएको र बाँकी योजनाहरुको पनि जनतालाई राहात मिल्ने गरी दिगो विकास निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ । सोही अवसरमा बेलडांडी गाउँपालिकाका उपाध्यक्ष कमला कार्कीले गाउँपालिकाले विकास निर्माणका कार्यलाई प्राथमिकता दिई आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनु भयो । 

 

योजना अनुगमन पछि मात्र उपभोक्ता समितिलाई योजनाको रकम भुक्तानी हुने गाउँपालिकाले बाध्यकारी नियम बनाएको हुँदा प्राविधिक सहितको अनुगमन समितिले अनुगमन गरेर प्रतिवेदन पेश गरेपछि मात्रै उपभोक्ता समितिले भुक्तानी पाउँने छन् । त्यसैले काम सही ढङ्गले होस् र बजेट ठीक ठाउँमा सही सदुपयोग होस् भनेर प्रत्येक योजनालाई छुट्टाछुट्टै अनुगमन गरिएको बेलडांडी गाउँपालिका वडा नं. १ का सदस्य शंकर भट्टले बताउनु भयो ।

 

अनुगमनका क्रममा अधिकांश योजनाहरु स्टमेट भन्दा अझै बढी काम गरेको देखिएको बेलडांडी गाउँपालिकाका प्राविधिक तेज बहादुर सुनारले बताउनु भयो । मनोज बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिले वडा १ को विजय टोलमा स्टमेट भन्दा १२० मिटर लम्बाई बढी ग्राभेल गरेको वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता अमर खत्रीले बताउनु भयो । वडा नं. ३ मा समेत उपभोक्ता समितिले योजना भन्दा अझै राम्रो काम गरेको वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले बताउनु भएको छ । 

 

त्यस्तै, वडा नं. ४ र ५ लाई जोड्ने नालामा ह्युमपाइप कल्भर्ट निर्माण र सरस्वति जनता माविको घेर पर्खाल निर्माणको काम समेत गुणस्तरीय रहेको बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले बताउनु भएको छ । अनुगमन कै क्रममा बेलडांडी गाउँपालिका वडा नं. ५ मा निमार्णाधिन सडकखण्डको काम भने सन्तोषजनक नरहेको पाइएको छ । उक्त सडकखण्ड पूरा नगरी अधुरै छोडिएको छ भने स्थानीयकै अवरोधले काममा बाधा पुगेको उपभोक्ताहरुले बताएका छन् ।

 

बेलडांडी गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक कमला कार्कीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा बेलडांडी गाउँपालिका वडा नं. १ का सदस्य शंकर भट्ट, प्राविधिक तेज बहादुर सुनार, बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकाया, सम्बन्धित वडाका अध्यक्ष लगायत जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र स्थानीय बासिन्दा संगै पत्रकारको पनि सहभागिता रहेको थियो ।

 

<