बेलौरी खबर

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेशद्वारा बेल्डाँडीमा विरोध प्रदर्शन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशले कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ । मंगलबार चवन्नी बजार देखि बेल्डाँडी बजार सम्म ¥यालीसहित बेल्डाँडी बजारमा जम्मा भएका कांग्रेशका नेता तथा कार्यकर्ताहरुले सरकार बिरुद्ध नारा लगाउँदै कोणसभा गरेका हुन् । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेशका नेताहरुले राज्यले संवैधानिक निकायमा हस्तक्षेप, व्यवसाय कर र सेवा शुल्कहरुमा अत्याधिक बृद्धि गरेका कारण राज्यको विरोध गर्नु परेको बताएका छन् । 


सरकारको विरोधको लागि सडकमा आउनु पर्ने मनसाय नहुँदा नहुँदै पनि अनियन्त्रित मुल्यबृद्धि, भष्ट्राचार, कालोबजारी र मिलेमतोको ठेकेदारी प्रथाका कारण नेपाली कांग्रेश सरकारको विरोधमा उत्रनु परेको उनीहरुले बताए । समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने भनेर सरकारले प्रचार गरेपनि ठेकेदार संगको मिलेमतोका कारण कामहरुमा लापरवाही हुँदा पनि सरकारले कारवाही गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् । वक्ताहरुले सरकार यसरी नै चल्दै गए नेपाली कांग्रेश चुप लागेर नबस्ने समेत चेतावनी दिएका छन् । 


केन्द्रिय मुद्धामा भन्दापनि स्थानीय मुद्धामा केन्द्रित भएका नेताहरुले बेल्डाँडी गाउँपालिकामा भइरहेका अपारदर्शी कामहरुलाई पारदर्शी ढंगले प्रस्तुत गर्न बेल्डाँडी गाउँपालिकामा गएर ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले तत्काल सबै कुरा पारदर्शी तरिकाले सार्वजनिक गरिने बताउनु भएको छ । उहाँले गाउँपालिकाले गरेका काममा कुनै त्रुटी भए जानकारी गराउन समेत नेपाली कांग्रेश बेल्डाँडीलाई आग्रह गर्नुभयो । उहाँले बेल्डाँडी गाउँपालिकाले कुनैपनि शीर्षकमा कर नबढाएको स्पष्ट पार्दै दुई वर्ष पहिले सर्वदलीय संयन्त्रले निर्णय गरे बमोजिम कै कर जारी रहेको बताउनु भयो । गाँउपालिकाले गरेका कुनैपनि काममा भ्रष्टाचार र अनियमितताको शंका गर्ने ठाउँपनि नरहेको अध्यक्ष धन बहादुर थापा क्षेत्रीले दाबी गर्नुभयो ।
 

<