विचार

प्यारी बहिनी निर्मलाः तिम्रा लागी न रह्यो सरकार र न भयो गतिलो अनुसन्धान !  

 – कृष्ण महरा 


प्यारी बहिनी निर्मला,  
भौतिक रुपमा तिमी यो संसारमा छैनौ र पनि आज एउटा पत्र लेख्दैछु, तिम्रा लागी, तिम्रो मृतआत्माको लागी । थाहा छ, तिमी यो पत्र न पढ्न पाउनेछौ न देख्न नै । तैपनि तिमीलाई न्याय दिन आज हजारौं निर्मलाहरु सडकमा आएको घटनामाथी केन्द्रीत भएर यो पत्र लेख्न खोज्दैछु । 


भौतिक रुपमा तिमी यो संसारमा भएकी भए आज तिम्रा साथीहरुसंग स्कुलमा खेलिरहेकी हुन्थ्यौं, होमवर्क गरिरहेकी हुन्थ्यौ, स्कुलस्तरीय प्रतियोगिताहरुमा भाग लिइरहेकी हुन्थ्यौं । अझ नजिकिदै गरेको गौरा र तीजमा दिदीबहिनीहरुसंग छम्छमी नाचिरहेकी हुन्थ्यौं, रमाइलो गरिरहेकी हुन्थ्यौं । 


तर अपशोच ! 
फगत ती सबै कल्पनामा सीमित भए । तिम्रो कलिलो बालापन् कोपिलामै निमोठियो, पापीहरुले तिमीलाई जबरजस्ती मात्रै गरेनन्, तिम्रो ज्यान लिएरै छाडे र नजिकैको उखुवारीमा फ्याकीदिए । तिमी यो संसारबाट सदाका लागी विदा भयौं कहिल्यै नफर्किने गरी, कहिल्यै नभेटिने गरी । तिमी हराएको खबर पाउनासाथ प्रहरीले तदारुकता नदेखाउनु र अझ अनुसन्धानलाई नै मोड्न खोज्नुले तिम्रा लागी न रह्यो सरकार र भयो गतिलो अनुसन्धानको स्थिति सिर्जना भएको छ । सुरुमै गम्भीरताका साथ अनुसन्धान भएको भए आज यो भयावह परिस्थिति आउने थिएन । 

 

प्यारी बहिनी निर्मला, 
म सोध्न चाहन्छु, ती पापी हत्याराहरुलाई, सरकारलाई, विधायकलाई र प्रहरी प्रशासनलाई, आखिर तिम्रो के गल्ती थियो ? थाहा  छ बैनी, तिम्रो हत्यापछि महेन्द्रनगरबासीले के गरेनन्, ती पापीहरुलाई कारबाही गर अनि तिमीलाई न्याय दे भनेर । तिम्रा साथीहरु ती पापीहरुलाई कारबाही गर भन्दै स्कुल ड्रेसमै प्लेकार्डसहित आन्दोलनमा होमिएको, त्यतिमात्रै होइन,आज तिम्रौ न्यायका लागी हजारौ आमा–बुवा, दिदीबहीनी, दाजुभाईहरु सडकमा आएका छन् । तिमीलाई न्याय दिलाउने आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाए, अझै अर्जुन भण्डारी, चेतन भट्टसहित दजनौँ घाइते छन् र अस्पतालको बेडबाट भन्दैछन्, निर्मला बहिनीलाई न्याय देउ । 
तिमीमाथी अत्याचार गरी तिम्रो ज्यान लिएको पनि आज १ महिना ५ दिन भैसकेको छ तर नेपाल सरकार उक्त पासविक घटनाको वास्तविक अपराधी पत्ता लगाई तिम्रो ज्यान लिनेहरुमाथी हदैसम्मको कारबाही गरेर तिमीलाई न्याय दिलाउन सक्छ कि सक्दैन भन्ने कुरामा आम जनसमुदाय विश्वस्त हुन सकिरहेको छैन ।  


अझ तिम्रा सहपाठीहरु जानकी भट्ट, निर्मला जोशी, लक्ष्मी बडू, पूजा चन्दले त हाम्राी साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई पत्र पनि लेखेका छन् । 

 

बहिनी, 
एउटी आमा र बुवाको दुःख गरी हुर्काएकी छोरीको भविष्य देखेर गरीने चिन्ता, आशा र अपेक्षा पक्कैपनि अद्धितीय हुन्छ । 


तिमी त किताब बोकेर साथीको घरमा गृहकार्य गर्न गएकी थियौं होइन र ? तिमी र तिमीजस्तै लाखौं प्यारा बहिनीहरुले अब साथीको घरमा गएर खेल्न र गृहकार्य गर्न पनि नपाउनु ? देश छ, सरकार छ, अझ अहिले त पहिले जस्तो एउटामात्रै होइन, प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार गरी ३÷३ वडा सरकार छ,  प्रहरी छ तैपनि तिमीमाथी दिनदाहाडै त्यत्रौ अत्याचार ? र खोजीदिन आग्रह गर्दापनि कत्रो हेलचक्याई ?    


तिमी साँझसम्म घर नआउँदा आमा तिमीलाई खोज्न कहाँ–कहाँ जानुभएन होला ? पक्कै पनि एउटी आमाले आफ्नो प्राणप्रिय छोरी खोज्न तिम्रा सबै साथीभाई, आफन्त, छरछिमेक, खेतबारी सबैतिर खोज्नुभयो तैपनि तिमी नभेटिएपछि ठुलो आश बोकेर नजिकैको वडा प्रहरी कार्यालयमा धाउनुभयो । 


बहिनी,
आमाको आश त त्यतिबेला म¥यो जतिबेला सबैतिर खोजेर पनि नभेटिँदा आशा र भरोसको एउटै केन्द्र प्रहरीले समेत ‘अहिले राती भयो भोली खोजौँला’ भन्ने जवाफ दियो अरे । कस्तो प्रहरी जसले देश र जनताको सेवा गर्छु भनेर हाम्रै करबाट तलब भत्ता खाइरहेको छ, त्यही प्रहरी हाम्रो पीडामा मजाक गर्ने ? 

 

सारा संसार छोरी खोज्दापनि नभेटेपछि आमाको मन डराइसकेको थियोे, तैपनि राती २ बजेसम्म एक्ले खोज्नुभयो, तिमी भेट्ने आशै–आशमा, तर तिमी भेटिएनौं  । भेटिन्थ्यौं पो कसरी, तिमी त यो संसारमा थिएनौं, पापी, दुष्टहरुले अत्याचार गरी आफ्नो कुकृत्य बाहिर आउने देखेपछि ज्यान लिइसकेका थिए । एउटी आमा छोरी खोज्दा नभेटेपछि मध्यरात लखतरान घर आइन्, झिनो आशा मात्रै थियो तिमी भेटिन्छौ भन्ने । 


भोलिपल्ट कसैले उखुबारी नजिकै तिम्रो साइकल देख्यो, खोज्दै जाँदा त्यही अलि पर तिम्रो मृत शरीर । छोरी खोज्दै लखतरान् एउटी आमाका लागी यो भन्दा ठुलो बज्रपात के हुन सक्थ्यो र ? 
विहान छत्विछ्त अवस्थामा तिम्रो लाश भटियो, प्रहरीहरु आए, 


प्यारी बहिनी,   
ती तिनै प्रहरी थिए जो अघिल्लो राती आमाको चित्कार, अनुनय–विनयलाई हासीमजाकमा उडाउदै भोली खोजौंला भन्दैैथे । जब स्थानीयले तिम्रो शव भेटे, तब ठुलै बाजी मारेझैं गरिरहेका थिए । प्रहरीले मुचुल्का उठाए, अनुसन्धान गरे तर त्यो अनुसन्धान थिएन अनुसन्धानको अभिनय थियो । अभिनय यस कारण कि तिम्रो खोजी वा अनुसन्धान हुन्थ्यो भने अघिल्लो राती एउटा बेसहारा आमाको चित्कार, अनुनयको बेला हुन्थ्यो, त्यतिबेलै प्रहरीले तत्परता देखाएको भए तिमी फेला पर्न सक्थ्यौ कि ? कम्तिमा अपराधी त उम्बन पाउने थिएन । 

 

बलत्कार पछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी संगठन सबैले हत्यारालाई कारबाहीको माग गर्दै दबाब दिए, आन्दोलन गरे । हत्यारालाई हदैसम्मको कारबाही नगरिएसम्म लास नबुझ्न स्थानीय अधिकारकर्मी, नागरिक समाजले अडान लिए तर त्यो दबाब, रिले अनशन र आन्दोलनले खासै प्रभाव पारेन, लास बुझेर अन्तिम संस्कार गरियो । 


बहिनी,
हत्या भएको धेरै दिन वितिसक्दापनि अनुसन्धानमा खासै प्रगति नभएको देखिएपछि कञ्जनपुरका स्थानीय, अधिकारकर्मी, विद्यार्थी, नागरिक समाज लगायत सबैले रिले अनशन, विज्ञप्ति, विरोधस्वरुप विद्यालय बन्द गराएर दबाब दिईरहे । 


त्यति गर्दापनि अनुसन्धानमा प्रहरी सक्रियता खासै देखिएन । पीडित पक्षले शंका गरिएका व्यक्तिहरुमाथी अनुसन्धान होस् भन्दा खासै चाँसो दिइएन । जब घटनाको २५ औं दिन एकजना हत्या अभियोगमा सजाय भोगिसकेका मानसिक अवस्था ठिक नभएको भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो, त्यसपछि कञ्चनपुरका सारा जनता, अधिकारकर्मी, नागरिक समाज सबै सडकमा आउन वाध्य भए ।    


शंकित व्यक्तिमाथी अनुसन्धान गर्न आग्रह गर्दापनि प्रहरीले त्यसतर्फ कुनै ध्यान नदिएको, उनीहरुलाई पक्राउसम्म नगरेको तर मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई पक्राउ गरेपछि कञ्चनपुरबासीले वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन चर्काए ।  

 

बहिनी,
तिम्रो वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै चर्किएको आन्दोलन गर्नेमाथी प्रहरीले गोली चलायो, एक जनाको त प्रहरीले ज्यान नै लियो भने कयौँलाई खाइते अपांग बनायो । सुइ्य !, कस्तो देशमा जन्मिएछ बहिनी, जहाँ एउटा अबोध बालिकाको बलत्कारी र हत्यारालाई कारबाही गर भन्दै हजारौं भाइबहिनीहरु आन्दोलनमा होमिनुपर्ने र दबाब दिनेलाई उल्टै गोली हानेर मार्नुपर्ने ? यस्तो देशमा तिमीजस्ता हजारौं बहिनीहरुको सुरक्षाको जिम्मा यही प्रहरीले गर्नसक्ला ? बहिनी, अब त्यो फगत कल्पनामात्रै भएको छ । एउटा बालिकामाथी अत्याचार गरी हत्या गर्ने हत्यारालाई कानूनी दायरामा ल्याउन माग गर्ने बालकलाई गोली हानेर मार्ने प्रहरीबाट जनताको ज्युधनको सुरक्षा हुनेमा अब शंका उत्पन्न भइसकेको छ । 


नेपाल प्रहरी कमजोर, असक्ष भएर होइन् अपराधी पत्ता लगाउन ढिला भएकोमा म कम्तिमा विश्वस्त छैन । घटनालाई गम्भीरताका साथ नलिएका कारणमात्रै हालसम्म अपराधी कानूनको कठघरामा आउन नसकेको हो । अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वमै अब्बल मानिन्छ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीस रण बहादुर बमको हत्यारा होस् वा रानीवारीको विभत्स हत्याकाण्ड नै, नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल भएको प्रमाण हुन् । 
तिमीलाई न्याय दिलाउनका लागी आम कञ्चनपुरबासीहरु मर्न तयार भएपछि सरकारको ध्यानाकर्षण भएको छ, एउटा छानविन समितिसमेत गठन गरिएको छ । गृहमन्त्रीले गम्भीरताका साथ यस घटनालाई लिएका छन्, संसदमा सयौंपटक तिमीलाई न्याय दिलाइनुपर्ने आवाज उठाइएको छ, अझ देशकै प्रधानमन्त्रीले समेत तिमीलाई न्याय दिलाउने प्रतिवद्दता जनाउनुभएको छ । 


शंिकत व्यक्तिहरुमाथी अनुसन्धानको अनुनय गर्दापनि नसुन्ने प्रहरी अधिकारीहरु निलम्बनमा परका छन्, उनीहरुले स्पष्टिकरण दिनुपर्ने भएको छ र ती प्रहरी साच्चिकै तिमीमाथी अत्याचार गरी हत्या गर्नेहरुलाई जोगाउन भुमिका खेलेको भेटिए उनीहरु कारबाहीको दायरामा आउनेनै छन् ।  


बहिनी,
पीडित आमाबुवा, कञ्चनपुरको सिंगो नागरिक समाज, स्थानीयबासी, विद्यार्थी, अधिकारकर्मी, निर्मला बहिनीलाई न्याय दिलाउन आफ्नो ज्यानको बाजी राख्न तयार घाइते एवं सबै सरोकारवालाहरुलाई अब तिमीमाथी अत्याचार गर्दै हत्या गर्ने व्यक्ति उम्किन नसक्ने कुरा अवगत गराउन चाहन्छु । मुलुकी अपराध (संहिता) ऐन २०७४ कार्यान्वयनमा आईसकेपछि निसन्देहः ती अपराधी लाग्छन्, । यदि वास्तविक अपराधीलाई लुकाउन, अनुसन्धानमा गम्भीर लापरवाही गर्न खोजिन्छ भने त्यसको अनुसन्धानमा संलग्न अभियोजनकर्ता, अनुसन्धान अधिकारी एवं सम्बद्ध सबैमाथी फौजदारी अभियोगमा कारबाही गरिनेछ । 


बहिनी,
मुलुकी अपराध (संहिता)  ऐन २०७४ को दफा ९९ ले कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मा पाएको अधिकारी (सरकारी वकिल, नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु एवं सत्यतथ्य छानविन समिति) ले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपुर्वक अनुसन्धान गरे वा अभियोग लगाए त्यस्तो व्यक्तिलाई छ महिनासम्म कैद र ५ हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ । अझ त्यसरी अनुसन्धान वा अभियोजन गरेको कारण कुनै व्यक्तिलाई (पीडित परिवार) कुनै किसिमको हानी नोक्सानी भएमा निजले त्यस्तो अनुसन्धान वा अभियोजन गर्ने व्यक्तिबाट क्षतिपुर्ती भराई लिनसक्नेसम्मको कानूनी व्यवस्था रहेको छ । म यो कुरा अनुसन्धान अधिकृत, अभियोजनकर्ता एवं निर्मला पन्तको बलत्कारपछि हत्याको सत्यतथ्य छानविन समितिलाई समेत अवगत गराउन चाहन्छु । 

 

तसर्थ, नेपाल सरकारका सहसचिव, प्रहरी नायब महानिरीक्षकहरु सम्मिलित छानविन समिति एवं सिआईबीको टोली समेतले घटनाको सत्यतथ्य बाहिर ल्याई अपराधीहरुमाथी हदैसम्मको कारबाही गरी तिम्रा लागी न रह्यो सरकार न भयो गतिलो अनुसन्धानको परिस्थिति अन्त्य गरी देशमा सरकार भएको र तिमीजस्ता लाखौं बहिनीहरुले सुरक्षाको महशुस दिलाउनेछ भन्ने आशा लिएको छु । 


उही तिम्रो दाई 
कृष्ण महरा 


 

<