कृषि

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण ।।

कञ्चनपुर ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण गरिएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस हाताभित्र विभिन्न प्रजातिका दुई सय विरुवा रोपिएका हुन् । भीमदत्त नगरपालिका वन वातावरण शाखा, जिल्ला वन कार्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले शुक्रबार सामूहिक रुपमा वृक्षारोपण गरेको छ ।

 


भीमदत्त नगरपालिकाका वन वातावरण शाखा प्रमुख जीवछ यादवले स्वच्छ हरियाली बनाउन क्याम्पसमा वृक्षारोपण गरिएको बताउनु भयो । भीमदत्त नगरपालिकाले हरित भीमदत्त भन्ने नारा अघि सारेको उल्लेख गर्दैं उहाँले भन्नुभयो, ‘यसबाट विद्यार्थीहरुमा वन वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र सिंह विष्टले विद्यार्थीहरुबाट वन वातावरण संरक्षणका लागि सकारात्मक सन्देश प्रवाह र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने दाबी गर्नुभयो ।

 

वृक्षारोपण कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका वातावरण विषयका शिक्षक तर्कराज जोशी, स्टेप क्लबका अध्यक्ष सहित पदाधिकारी, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । भीमदत्त नगरपालिकाले नगरलाई क्लिन सिटी, ग्रिन सिटी बनाउने लक्ष्यका साथ एक घर, एक विरुवा वितरण र जनचेतनामूलक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा भृकुटी माध्यमिक विद्यालयको पछाडीको जमिनमा नर्सरी निर्माण गरी डेढ लाख विरुवा उत्पादन गरी वितरण गरिएको थियो ।

<