बेलौरी खबर

पुनर्वास नगरपालिका ४ नम्बर वडावासीद्वारा आफ्नै वडामा वडा कार्यालय स्थापनाको माग ।।

हेमन्त न्यौपाने, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ ले विहिबार आफ्नो प्रथम वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बस्नेतले आफुबाट कुनै कमजोरी भए आम वडावासीहरुबाट सुझाव संकलनका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा उपस्थित वडावासी वक्ताहरुले जनप्रतिनिधिहरु प्रति गुनासो नरहेको धारणा व्यक्त गरे । अधिकांश वक्ताहरुले वडा कार्यालय धेरै टाढा भएकाले आफ्नै वडामा वडा कार्यालयको माग गरेका छन । केहि वक्ताहरुले अपारदर्शी देखिएका कामहरुलाई पारदर्शी र प्रष्ट पार्न अनुरोध गरेका थिए । 

 

 

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ वडाअध्यक्ष बस्नेत र नगरपालिकाका प्रवक्ता तथा पशुसेवा विभाग इन्चार्ज भारमल सुनारले दिनुभएको थियो । प्रश्नकर्ता वडावासीहरुको स्पष्ट जवाफ दिँदै वडाअध्यक्ष बस्नेतले वडाबाट भएगरेका कामहरुमा कुनै शंका लागे सिधै प्रश्न गर्न आग्रह गरे । उनले जनताले पाउनुपर्ने सेवासुविधामा कहिल्यै ढिलासुस्ती र आलटाल नहुने बताए । कार्यक्रममा उपस्थित नगरपालिकाका अधिकृत तथा सुचना अधिकारी प्रेम बहादुर सिंहले जनशक्ति अभावका कारण वडा कार्यालय पठाउन नसकिएको बताए । उनले नगरपालिकाको चाहाना प्रत्येकवडामा वडा कार्यालय स्थापना भएको भएपनि जनशक्ति अभावका कारण संयुक्त वडाकार्यालयबाट नै सेवा दिनुपरेको बताए । कार्यक्रमका प्रमुख अतिथि नगरपालिका उपप्रमुख शारदा बिष्टले जनताको गुनासो, सल्लाह र सुझावलाई आत्मसात गर्दै नगरपालिका विकास तर्फ अघि बढेको जिकिर गर्नुभयो  ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता स्थिर प्रसाद घिमिरेले वडाअध्यक्षले खुलेर तारीख गर्न योग्य काम गरेको बताए । त्यस्तै, नगरपालिका प्रवक्ता भारमल सुनारले समेत पुनर्वासका वडाअध्यक्षहरुमा सक्रिय वडाअध्यक्ष भएको भन्दै वडाअध्यक्ष बस्नेतको प्रसंसा गरे । उनले नगरपालिकालाई विकास तर्फ डोर्याउन सबै नगरवासीहरुको साथ, सहयोग र सल्लाहका लागि आग्रह गरे । नगरपालिकाबाट हुने हरेक कार्यक्रम तथा योजना पारदर्शी हुने हुँदा कुनैपनि योजना तथा कार्यक्रमको आवश्यक जानकारी चाहिए नगरपालिका कार्यालयबाट सहजै लिन सकिने हुँदा अनावश्यक र कहिँकतैबाट प्राप्त तथ्यहिन जानकारीमा टिकाटप्पणी गर्न आवश्यक नहुने बताए । उनले सबै कृषकलाई प्रोत्साहन स्वरुप कृषि सहुलियत वा सहयोग दिन सम्भव नभएकाले विभिन्न सर्वेक्षण पछि उत्कृष्ट कृषकहरुलाई उन्नतजातका बोका, बिउबिजन तथा अन्य कृषि सामाग्री प्रदान गरिएको जानकारी दिए । 

 

आर्थिक बर्ष २०७४/०७५ मा सर्वाधिक कम ५४ लाख बजेट पाएको यस वडाले सरकारका अन्य निकायहरुबाट समेत बजेट पार्न सफल बनेको थियो । शहिद गोविन्द गौतमको वडाको नामले परिचीत यस वडामा यस बर्ष नगरपालिकाको ५ लाख बजेटमा शहिद गोविन्द गौतमको शालिक बन्ने भएको छ । कार्यक्रममा नगरउपप्रमुख शारदा बिष्ट, नगरपालिका प्रवक्ता भारमल सुनार, अधिकृत तथा सूचना अधिकारी प्रेम बहादुर सिंह, वडासदस्यहरु, नगरपालिका इन्जिनियर मुरलीधर जोशी लगायत स्थानीय विभिन्न पार्टी प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय, प्रहरी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

<