बेलौरी खबर

रानाथारु समुदायकी जेहेन्दार छात्रा रिमा रानालाई विज्डमले गर्यो सम्मान ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
रानाथारु समुदायमा जन्मिएकी कञ्चनपुरको पुनर्वासकी रिमा रानालाई बुधबार बेलौरी स्थित विज्डम एकेडेमीले सम्मान गरेको छ ।

 

पुनर्वास नगरपालिका वडा नम्बर ७ पराशन बस्ने बनवारी राना र ईन्दिरा रानाकी जेष्ठ सुपुत्री रिमा रानाले भारतको बैंगलोर स्थित मल्लिगे कलेजमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा कलेज अफ फार्मेसि (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याई प्रदेशमै प्रथम स्थान हाँसिल गरेको र भारतका उपराष्ट्रपतिद्वारा स्वर्ण पदकबाट विभूषित हुन सफल भएको भन्दै बेलौरीको विज्डम एकेडेमीले रिमालाई एक समारोहको आयोजना गरी प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 

 

साथै रिमालाई जन्मदिने रिमाका बुवालाई समेत सम्मान गरिएको थियोे । उक्त सम्मान समारोहमा रिमाका बुवाले आफुहरुले त रिमालाई जन्म मात्रै दिएको हो उनलाई राम्रो शिक्षा र अनुशासन दिने कार्य उनकै शिक्षकहरुले गरेका हुन्, भन्नुभयो ।

 

उक्त विशेष समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व रिमा रानाले विद्यार्थीहरू बीच महत्वपूर्ण भनाइ समेत व्यक्त गर्दै अध्ययन गर्ने क्रममा अभिभावक र शिक्षकहरूको लगानीलाई अलिकति पनि खेर जानदिनु हुदैन, थोरै पनि लापरबाही गर्यौँ भने हाम्रो भविष्य अन्धकारमय बन्छ, आजकल हरेक विद्यार्थीमा मोबाइलको फेसन चलेको छ र यो भनेको विकृती हो,  आमाबुवाले पनि त्यस्ता कार्य प्रति प्रोत्साहन गर्नु हुँदैन, राम्रोसँग पढ्यो भने आफु जस्तै सम्मानित भइने भन्नुभयो । 

 

 

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ परासन निवासी रिमा रानाले भारतको कर्नाटक राज्यमा फार्मेसी (औषधी विज्ञान) विषय अध्ययन गर्दै स्नातकोत्तर तहमा राज्यमै प्रथम स्थान हासिल गरी भारतका उपराष्ट्रपतिद्वारा स्वर्ण पदकबाट सम्मानित भएको सफलता प्रति गौरवान्वित हुँदै रानाथारु समुदाय संगै अन्य अभिभावक तथा विद्यार्थीहरुमा समेत यसप्रकारको प्रेरणा पलाओस् भन्ने उद्देश्यले उक्त सम्मान समारोहको आयोजना गरिएको विज्डम एकेडेमीका प्रिन्सिपल गोविन्द सिंह थापाले बताउनु भयो । 

 

उक्त समारोह मै बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरी, थारु कल्याणकारिणी संघ कञ्चनपुरका अध्यक्ष मेवाराम चौधरी र रानाथारु संघर्ष समितिका जिल्ला सचिव दुलारे राना लगायतले समेत रिमा रानालाई दोसल्ला ओढाएर सम्मान गरेको कार्यक्रमका सञ्चालक एवं विद्यालयका शिक्षक लक्ष्मण सिंह दियालले जानकारी दिनुभयो ।

 

बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम प्रकाश बडायकको प्रमुख आतिथ्यमा आयोजित सम्मान समारोहमा वडा नम्बर २ का वडा अध्यक्ष कलबीर चौधरी सहित सञ्चारकर्मी र स्थानीयको समेत सहभागिता रहेको र विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको विद्यालयका सहायक प्रिन्सिपल टेक बहादुर शाहीले बताउनु भयो ।
 

<