ताजा खबर

बेलौरी खबर

निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै कांग्रेशले दियो प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।। 

कञ्चनपुर । नेपाली कांग्रेशले १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । बालिकाको बलात्कारपछि हत्या भएको दुई साता बिति सक्दा पनि अपराधी पत्ता लगाउन नसकिएको प्रति कांग्रेशले दुःख व्यक्त गरेको छ । 

 

‘‘प्रहरी प्रशासनमा कुनै मानवीय संवेदना नदेखिनु, घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कानुनी कारबाही होस भनि विभिन्न पक्षबाट आएको आवाजलाई पनि स्थानीय प्रहरी प्रशासनबाट निर्मम दमन गरी दबाउन खोज्नु, लासमाथि राजनीति गर्यो भन्ने सत्ता पक्षका केही जिम्मेवार व्यक्तिको अभिव्यक्तिले कतै रक्षक नै भक्षक हुन् कि भन्ने शंका उत्पन्न हुन गएको छ,’’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ । 

 

 

नेपाली कांग्रेशका केन्द्रीय सदस्य एनपी सावदको नेतृत्वमा गएको कांग्रेश नेताहरुको टोलीले बुझाएको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याई नागरीकको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकार ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेशले ज्ञापनपत्र मार्फत सरकारलाई आफूहरुको माग बेवास्ता गरिए त्यसपछि उत्पन्न हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुनुपर्ने चेतावनी समेत दिएको छ । 

 

ज्ञापनपत्रमा कांग्रेश केन्द्रीय सदस्य सावद, पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी, पूर्वसांसद तथा पूर्व जिल्ला सभापति बहादुरसिंह थापा र जिल्ला सभापति हरिप्रसाद बोहराले हस्ताक्षर गरेका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको साउन १० गते बलात्कार पछि हत्या भए पनि प्रहरी अपराधी नजिक पुग्न नसकेको आफन्तहरुले आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचन यता कञ्चनपुरमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन् । #बाह्रखरी

<