ताजा खबर

बेलौरी खबर

कञ्चनपुरको पुनर्वासमा लाखौं मूल्यका ट्रान्सफर्मर प्रयोगविहिन, गाईवस्तुको घाँस राख्ने काममा प्रयोग ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर, २ साउन ।

कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिकामा जडानमा सम्बन्धित निकायले बेवास्ता गरे पछि लाखौं रुपैयामा खरिद गरिएका ट्रान्सफर्मर प्रयोगविहिन हुँदा स्थानियले विद्युतको समस्या झेल्दै आएका छन् । जिल्लाको दक्षिण सिमान्त गाउँ धनसिंगा र मोतियाफाँटाको न्यून विद्युत भोल्टेजको समस्या हल गर्न खरिद गरिएका टान्सफर्मर अहिले गाईबस्तुको घाँस राख्ने काममा प्रयोग भएका छन् । पुनर्वास नगरपालिका ८ मोतियाफाँटा र वडा नम्बर ९ धनसिंगामा विद्युत आपूर्तिमा समस्या भएको माग बढे पछि नगरपालिकाले झन्डै १० लाख खर्चेर डेढ वर्ष अघि  ट्रान्सफर्मर खरिद गरेको थियो ।  

 

खरिद गरेको डेढ वर्ष सम्म पनि ट्रान्सफर्मर जडान हुन नसक्दा पंखा समेत नचल्ने समस्याले स्थानीय आजित बनेका छन् । जडान गर्न आवश्यक पोल ,तार लगायतका अन्य उपकरण र सामाग्री खरिद गर्न नसकिए पछि लाखौंका ट्रान्सफर्मर प्रयोगविहिन बन्न पुगेका हुन् । ट्रान्सफर्मर खरिद गरिएको लामो समय बित्दा समेत जडान नगर्दा जनताले विद्युतको मार भोग्दै आएको स्थानिय भोजराज शर्माले बताए । उनले भने “पैसा नै नपुगेको कारण जडान नभएको कि अरु नै केही कारण हो ? यति लामो समय सम्म सम्बन्धित निकाय किन मौन भएर बसेको छ ।” विद्युत प्राधिकरण र नगरपालिकाले प्रयोग बिहिन बनेका ट्रान्सर्फमर अबिलम्ब जडान गर्नु पर्ने स्थानिय शर्माले बताए ।

 

खरिद गरिएको डेढ वर्ष सम्म जडान हुन नसक्नुको कारण बारे उपभोक्ता समितिका अध्यक्ष हरिशर्मा जैसी भन्छन् “नगरपालिकाले उपलब्ध गराएको रकमले ट्रान्सफर्मर त ल्याइयो तर त्यसको लागि आवश्यक पर्ने पोल, तार, एंगल लगायतका अन्य सामग्री र उपकरण खरिद गर्न बजेट अभाव भए पछि जडान हुन नसकेको हो ।” विद्युतिकरणको काम विद्युत प्राधिकरणले नै गर्ने भन्ने भएकाले र समयमा जडान नगरिदिएकाले नगरपालिकाको बजेटमा ट्रान्सफर्मर खरिद गरिए पनि  समस्या समाधान हुन नसकेको पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले बताए । 


पुनर्वासका यी दुई गाउँमा खरिद गरि ल्याइएका ट्रान्सफर्मर प्रयोग बिहिन हुँदा गाउले प्रभावकारी विद्युतको सेवा बाट बञ्चित बन्न पुगेका छन् । आवश्यक मात्रामा बिधुत आपूर्ति हुन नसक्दा यहाँका स्थानिय मर्कामा परेकाछन । पुनर्वासको बिचफाँटा, धनसिंगा, मोतियाफाँटा लगायतका थुप्रै गाउका जनता डिम लाइटका कारण सास्ती खेप्दै आएका छन् । साधारण पंखा समेत चलाउन नसक्ने क्षमताको विद्युतका कारण स्थानिय मारमा परेका छन् ।

 

विद्युत आपुर्तिमा देखिएको समस्या सल्टाउन लाखौं रुपैया खर्चेर खरिद गरिएका ट्रान्सफर्मर घाँस दाउरा राख्न प्रयोगमा आउँदा सम्म सन्बन्धित निकाय उदासिन बनेको छ । स्थानिय निकायको बजेटमा खरिद गरिएका ट्रान्सफर्मर लामो समय देखि अलपत्र र प्रयोग बिहिन भइ दुरुपयोग हुँदै आएका छन् । प्रयोगमा ल्याउन अझ सम्बन्धित सरोकारवाला निकायले बेवास्ता देखाएका कारण सार्बजनिक महत्वका योजना थला पर्दै आएका छन् ।

<