बेलौरी खबर

पश्चिमी नाकाबाट तीन जना महिलाको उद्धार ।।

कञ्चनपुर, २० असार । 
कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् ।

 

दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल, गड्डाचौकीमा कार्यरत लक्ष्मी गिरीले जानकारी दिनुभयो । उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुबईमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुबई गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् ।

 

उनीहरुका अनुसार भारतीय नागरिक इक्वाल दुबईमा स्कूल सञ्चालक हुन् । प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारका सदस्य आएपछि जिम्मा लगाउने जनाएको छ । पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

 

 

त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादँनी झोलुंगे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो ।

 

 

उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । रासस

<