बेलौरी खबर

प्रदेश नं. ७ का भारतीय सीमा क्षेत्रमा अझै रोकिएन चोरी, तस्करी र आपराधिक गतिविधि।अडियो रिपोर्ट।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

सात नम्बर प्रदेशका भारतीय सीमा क्षेत्रमा चोरी, तस्करी र आपराधिक गतिविधि अझै रोकिएका छैनन् । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका भारतसंग सीमा जोडिएका क्षेत्रहरुमा विभिन्न चोरबाटो हुँदै भारतीय सीमा बजारबाट दैनिक लाखौँको अवैध सामानहरु भित्रिने गरेको छ । रसायनिक मल, खाद्यबस्तु, पेय पद्दार्थ, लुगाकपडा, किरानाका सामान, हार्डवेयरका सामानहरु, चोरीका सवारी साधनहरु देखि नक्कली रुपैँयाका नोट, हातहतियार र लागुऔषध ओसारपसार तथा मानव बेचविखन सम्मका घटना यहाँका सीमा क्षेत्रमा हुने गरेका छन् । भन्सार छली चोरबाटो हुँदै अवैध रुपमा भित्रिएका ती सामग्री देशका ठूलाठूला शहरहरु र प्रदेश नम्बर ७ का प्रायः सबै जिल्लामा पुग्ने गरेका छन् ।

 

प्रदेश नम्बर ७ का भारतसंग सीमा जोडिएका क्षेत्रहरुमा हुने गरेका अवैध कार्यहरुमा स्थानीय प्रशासनको मिलेमतो रहेको यहाँका सर्वसाधारणको आरोप छ । स्थानीय प्रशासनले मासिक रुपमा तस्करहरुबाट पैसा असुल्ने गरेको र मासिक रुपमा पैसा दिन अटेरी गरेको खण्डमा मात्रै त्यस्ता सामानहरु बरामद गर्ने गरेको सम्मका आरोप स्थानीयले लगाउने गरेका छन् ।

 

तर सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिम सिंह थापाले यो आरोप गलत भएको दाबी गरेका छन् । साथै उनले आफ्नो प्रशासनबाट कसैले पनि पैसा लिएर अवैधानिक कार्यमा मोलमोलाइ गरेको भएमा प्रमाण सहित स्थानीय प्रशासनमा पेश गर्न र त्यसपछि आवश्यक कार्वाही गर्न आफु तयार रहेको बताए । यस क्षेत्रमा भारतसंग खुल्ला सिमानाका भएकै कारण आफुहरुले अवैधानिक रुपमा भित्रिने समानहरु रोक्न नसकेको प्रशासनको स्वीकारोक्ति छ । तर आफुले खबर पाएसम्म आफुहरु खटिएर भए–गरेको चोरी तस्करीबाट अवैध रुपमा भित्रिएका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिम सिंह थापाको दाबी छ ।

 

प्रदेश नम्बर ७ का आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सीमानामा आवश्यक मात्रामा सीमा सुरक्षा बल र क्याम्प नभएको भन्दै अब छिट्टै केन्द्र सरकार संग समन्यव गरी समस्याको समाधान गर्न तर्फ प्रदेश सरकार केन्द्रित रहेको बताएका छन् । उनले सीमानामा देखिएका अपराधीहरुलाई कानुनको कठघरामा ल्याउन यहाँको सुरक्षा निकाय सफल भइरहेकोले आपराधिक क्रियाकलापमा संलग्न सबै अपराधीहरु कानुनको दायरामा आउने दाबी गरेका छन् ।

 

भारतसंग सीमा जोडिएका नेपाली क्षेत्रमा ठूलो भुभागमा सुरक्षा प्रदान गर्नका लागी थोरै मात्र सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट र क्याम्प रहेकोले पनि सबै ठाउँमा सीमा सूरक्षा गर्न र अवैधानिक कार्य रोक्न कठिनाई भएको छ । प्रायः जसो हुने गरेका चोरी पैठारी, तस्करी र आपराधिक गतिविधिको अन्त्य कहिले होला त भन्ने आमजनमानसको प्रश्न रहेको छ ।

 

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको अडियो रिपोर्ट....

http://radiobelauri.org.np/uploads/audio/70.Seema%20Taskari%20Report%20@%2003-04%20Radio%20Belauri.mp3

https://soundcloud.com/nb-media-network-kanchanpur/seema-taskari-report-03-04-nb-media-network

<