बेलौरी खबर

मेलम्ची खानेपानीको काममा देखिएको पेचिलोपनमा खानेपानी मन्त्री र परराष्ट्र मन्त्रीबीच छलफल ।।

काठमाडौं । तोकिएको समयमा मेलम्ची खानेपानीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुरुप कार्य गर्न इटालीको ठेकेदार कम्पनीको मुख्यालयमा समेत पहल गरी समस्या समाधान गर्न इटाली सरकारसँग कुटनीतिक पहलका लागि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयसमक्ष अनुरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेता पछि पनि काममा तीब्रता नदिएपछि इटालीको सरकारसँग कुटनीतिक पहल गर्न अनुरोध गरिएको हो ।

 

खानेपानी मन्त्री बीना मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग हिजो भेट गर्दै कुटनीतिक रुपमा इटाली सरकार मार्फत निर्माण कम्पनीसँग सहजीकरणका लागि आग्रह गर्नुभएको छ । ठेकेदार आफै सहमत भएको कार्ययोजनालाई समेत पुरा गर्न नखोजेको र बारम्बार झूठा प्रतिबद्धता मात्रै व्यक्त गरेको कारण इटाली सरकारप्रति समेत नकारात्मक धारणा विकास हुने भएकोले तत्काल इटाली सरकारसँग कुटनीतिक संवाद गरी निर्माण कम्पनीलाई थप दबाब दिन जरुरी रहेको वहाँले बताउनुभयो । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाईले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा यसबारेमा चासो व्यक्त गराउन नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभयो ।

 

भेटका अवसरमा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसिले चैत्र २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने ठेकेदारको प्रतिबद्धता र त्यसपछि सबै पक्षमा मिलेर अगस्त महिनाको ३० तारिखसम्म सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजनाको बारेमा बिस्तृतमा जानकारी राख्नु भएको थियो । सचिव बिसीले ठेकेदार कम्पनीले मागदावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकोले उक्त विषयलाई नजोडि उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरेको भएपनि नियतवश काम नगरेकोले दिल्लि स्थित इटालीको राजदूतावास मार्फत नेपाल सरकारको धारणा इटाली सरकारसमक्ष पहल गर्न जोड दिनुभएको थियो ।

 

खानेपानी मन्त्रालयको अनुरोधमा सकारात्मक प्रतिक्रिया दिनुहुँदै परराष्ट्र मन्त्री ज्ञवालीले यसविषयमा बिस्तृतमा छलफल गरेर इटाली दुतावासमा कुराकानी गर्ने बताउनुभयो । मेलम्ची खानेपानी आयोजना सबै नेपालको गौरवको आयोजना भएकोले यसलाई समयमा नै सम्पन्न गर्न दिल्लीस्थित इटाली दूतावासमा आवश्यक पहल गर्ने र यसमा मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने वहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।\

 

इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का कार्य शुरु गरेको थियो । कम्पनीको ठेक्का म्याद यही जुन १४ गते समाप्त हुन गइरहेको छ । आयोजनाको मुख्य कार्य भनिएको सुरुङ ब्रेक थ्रुको काम सम्पन्न भएपनि अन्य मुख्य कार्यहरु सुरुङ भित्रको फिनिसिङ कार्र्य, हेडवक्र्स निर्माण, भेन्टिलेसन साफ्ट जडान लगायतका कामहरु भने अझै बाँकी नै छन् । ठेकेदारले कार्ययोजना अनुरुप आफ्नो पूर्ण क्षमता अनुरुप  कार्य सम्पन्न गरेको खण्डमा अगस्त ३० भित्र नै मेलम्चीको पानी पथान्तरण गर्न सकिने मन्त्रालयको भनाई छ ।

<