ताजा खबर

बेलौरी खबर

जनप्रतिनिधि सहित स्थानीयको अवरोधले महाकालीमा पुलको काम गर्न पेचिलो ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, २४ जेठ ।
महाकाली नदि माथि बन्न लागेको ४ लेनको पुलको काम अबरुद्ध भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ का स्थानीयले न्यायिक मुआब्जाको माग गर्दै आन्दोलन सुरु गरेपछि पुल निमार्णको काम अबरुद्ध भएको हो । ओदालीका स्थानियहरु सडकले मिच्ने जमिनको क्षतिपूर्ति पाउनु पर्ने भन्दै आन्दोलित भएका हुन् ।

 

 

जनप्रतिनिधि सहित स्थानीय नागरीकहरुले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाउँदै ऐलानी र प्रतिजमिन धनीलाई पनि उचित न्यायिक मुआब्जा दिन माग राखेर प्रर्दशन समेत गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्ण सिंह देउवाले ऐलानी र प्रतिजमिनमा बस्दै आएका परिवारको लगत संकलन गरेर मुआब्जा दिनुपर्ने माग गर्नुभयो । वि.सं. २०२२ सालदेखि बस्दै आएका स्थानीय नागरीकलाई न्यायिक मुआब्जा दिनुपर्ने उहाँले धारणा राख्नुभयो । वडा स्तरबाट पटक पटक सम्बन्धित निकायमा पहल गर्दा समेत कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

 

ओदालीको बाटो निर्माणको क्रममा पहिला २५ मिटर र अहिले ६० मिटर चौडाइ भन्दै निर्माणको काम सुरु गर्ने भनिएपछि स्थानीय आक्रोशित बनेका हुन् । स्थानीयहरुले न्यायिक मुआब्जा र उचित क्षतिपूर्ति नदिएसम्म पुल र सडकको काम ठप्प पार्ने चेतावनी दिएका छन् । महाकालीमा पुल निर्माण भएपछि सिंगो सात नम्बर प्रदेश मात्र नभई मुलुककै आर्थिक विकासमा टेवा पुग्ने र उत्तरमा चीन तथा दक्षिणमा भारतसंगको पार–वाहनमा समेत पुलले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको भएपनि स्थानीयको अवरोधले समयमै काम सम्पन्न गर्न पेचिलो देखिएको छ ।

 

 

कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्ने गरी ६ किलोमिटर महेन्द्रनगरतिर र एक किलोमिटर दोधाराचाँदनी तर्फ गरी ७ किलोमिटर पक्की सडकसहित उक्त पुल निर्माण थालिएको हो । गत भदौ महिनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको उक्त महाकाली नदिमा निर्माण हुन लागेको चार लेनको पक्की पुलको लागत ३ अर्ब २७ करोड ९३ लाख रहेको छ भने ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अझैपनि महाकाली नगरपालिका ओहोर दोहर गर्नका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता  र त्यसको विकल्पमा झोलुंगे पुलमा पैदल यात्रा र मोटरसाइकल सम्म मात्र लैजान सकिने अवस्था रहेको छ ।

<