बेलौरी खबर

भारतीय एसएसबीबाट आउँछ यस्तो धम्की, सीमा क्षेत्रका नेपाली जनप्रतिनिधि नै छैनन् सुरक्षित ।।

हेमन्त न्यौपाने, कञ्चनपुर । पुनर्वास नगरपालिकाको वडा नम्बर ९ बिचफाँटामा भएको सीमा विवाद पछी स्थानीय वडा नम्बर ९ का वडाअध्यक्ष नारायण जैशीलाई भारतीय सीमा सुरक्षाबल एसएसबीेले नीग्रानीमा राख्दै भारतमा भेटे नछाड्ने भनी धम्की दिएको छ । वडाअध्यक्ष जैशीलाई सीमा विवादको बिषयमा भारत विरुद्ध खरोरुपले प्रस्तुत भएको आरोपमा धम्की आएको हो ।

 

भारतीय राष्ट्रिय निकुञ्जबाट नेपाली बस्ती सम्म आउने जंगली जनावर नियन्त्रण गर्न पुनर्वास नगरपालिकाले नेपालभारत सीमा क्षेत्रमा विद्युतिय तारबार जडान गर्न खोज्दा यहीँ बैशाख १३ गते एसएसबीले तार काटेर पिल्लर समेत उखलेर फालिदिएपछि उब्जिएको विवाद अझै समाधान हुन सकेको छैन । 

 


वडाअध्यक्ष जैशी भारतको हेपाहा प्रवृति प्रति खरो रुपले प्रस्तुत भएका दिएभने उनले काठमाडौं पुगि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा यी कुरा उठाएर समस्या समाधान गरिदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए । यी सबै क्रियाकलापमा नीग्रानी राखेको एसएसबीले भारतीय बजार जानेआउने नेपालीहरुसंग पटकपटक सोध्ने, डरत्रास फैलाउन विभिन्न धम्कीपुर्ण भाषाहरु प्रयोग गर्ने गरेको वडाअध्यक्ष जैशीले बताए ।

 

वडाअध्यक्ष जैशीलाई मात्र नभई खरोरुपले सवालजवाफ गर्ने धेरै नेपालीको नाम ब्ल्याक लिष्टमा राखेको सीमावारपार गर्ने नेपालीहरुसंग पटकपटक बताउदै आएका छन  । यसअघि पनि एसएसबीले पुनर्वास वडा नम्बर ४ को आनन्दबजार घटनामा एसएसबीको ज्यादती विरुद्ध खरोरुपमा प्रस्तुत भएको भन्दै हाम्रै साझा पत्रिकाका सम्पादक हेमन्त न्यौपाने, सीमा सुरक्षा संघर्ष समितिका अध्यक्ष चन्द्रमणि गैरे लगायत १० भन्दा धेरै व्यक्तिहरुको नाममा धम्की पठाउदै आएको थियो ।

 

उनीहरुले नाम उल्लेख भएका व्यक्तिहरु कुनैपनी बेला भारतमा भेटे ज्युँदै नेपाल फर्किन नसक्ने भन्दै धम्क्याउदै आएका छन । यस सम्बन्धमा जानकारी गराउँदा नेपाली प्रशासन मौन जस्तै बनेको छ ।  ‘सीमा क्षेत्रमा बसोबास गर्ने र समाजसेवा गर्छु भनी राजनीतिमा होमिएर वडाअध्यक्ष हैसियत बनाईसकेका व्यक्तिलाई समेत भारतले दिनदहाडै धम्क्याइरहेको छभने सर्वसाधारणलाई कस्तो व्यावहार होला भनी हामी सहजै अनुमान लगाउन सक्छौ ।’ वडाअध्यक्ष जैशीले भने । सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न नसकेको गुनासो पोखे ।

 

स्थानीय भारतको ज्यादतीबाट आजित बनेको बताउछन । एसएसबीले नेपाली भुमिमै आएर धम्की दिँदा समेत त्यसको प्रतिकार गरिदिने र शान्तिसुरक्षा प्रत्याभूति गराउने कुनै स्रोत नहुँदा स्थानीय झन चिन्तित देखिन्छन । यो जिम्मेवारी सरकारको भएतापनी सरकारले सीमाक्षेत्रमा कुनै उपस्थिति देखाउन नसकेको बताउछन स्थानीय । एसएसबीको ज्यादती यति सम्म छ की नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरीलाई तुच्छ शब्द प्रयोग गर्दै अपहेलित गर्ने गरेको वडाअध्यक्ष जैशीले बताए ।  

 


उनले विकास, समृद्धि भन्दा अगाडी आउने स्वाभामानको नारा घन्काएर प्रधानमन्त्री बनेका प्रधानमन्त्री ओलि सरकारको पालामा झन सीमावासी नेपाली असुरक्षित बनेको बताए । सरकारको कमजोर प्रस्तुतीका कारण सीमा क्षेत्रका जनताले गालीग्लोज, धम्की, कुटाईपिटाई तथा अपमानित हुनुपरेको उनले बताए ।  सो दिन नेपाल प्रहरीलाई मुख मै अपशब्द प्रयोग गर्दा समेत नेपाल प्रहरी लाचार भएर अपहेलित हुनुपरेको उनले बताए ।
 

<