कृषि

आइतबार रातीको भिषण हुरीबतासका कारण कञ्चनपुरमा करोडौँ मूल्य बराबरको क्षती ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, ३१ बैशाख ।
आइतबार रातीको भिषण हुरीबतासका कारण कञ्चनपुर जिल्लामा करोडौँ मूल्य बराबरको क्षती भएको छ । थुप्रै नागरीकको घरगोठका छाना उडाएको छ भने कतिपयका घरहरु नै भत्किएका छन् । विद्यालयहरुमा पनि छाना उडाउँदा कतिपय विद्यालयमा पठनपाठनमा समस्या देखिएको छ ।

 

 

त्यस्तै,  किसानहरुले लगाएको खेतीबालीमा ठुलो क्षती पुर्याएको स्थानीयहरुले बताएका छन् । मानवीय क्षति भन्दा भौतिक संरचनाहरुमा ठुलो क्षती भएको छ । थुप्रै ठाउँबाट पशुपंक्षिहरु मरेको खबर समेत आइरहेका छन् । कुखुरापालक कृषकहरुका फार्ममा क्षति पुगेर कुखुरा तथा अण्डा नष्ट भएका खबर पनि आइरहेका छन् ।

 

 

 

राति आएको भिषण हुरीबतासले सडक छेउछाउमा रहेका रुखहरु सडकको बिचमा ढल्दा विभिन्न ठाउँहरुमा यातायातका साधनहरु आवात जावतमा समस्या भइरहेको छ । बजार क्षेत्रमा पनि पसलहरुका टिनका छाना र साइनबोर्डहरु उडाएको छ । ठाउँठाउँमा विद्युतका पोलहरु पनि ढलेका कारण हिजो रातिदेखि विद्युत् सेवा पनि अवरुद्ध छ । थुप्रै ठाउँमा विद्युत लाइन सर्ट हुँदा आगलागी भएका खबर पनि छन् । 

 

 


 

पीडित नागरीकहरुले यो विपदको समयमा प्रहरी प्रशासन र स्थानीय सरकारले छिटो भन्दा छिटो तथ्याङ्क संकलन गरेर क्षतिको प्रकृति हेरी तल्काल राहत उपलब्ध गराउनु पर्ने माग गरेका छन् । क्षतिको यकिन विवरण प्राप्त भइ नसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनु भयो । उहाँले पीडित नागरीकलाई आफ्नो यथार्थ क्षतिको विवरण निवेदन सहित स्थानीय तहमा दिन आह्वान गर्नुभएको छ ।

 

त्यस्तै, कैलालीको धनगढीमा रहेको रेडियो धनगढीको टावर तथा एन्टिना पुर्णतः क्षति ग्रस्त हुँदा रेडियोको नियमित प्रसारण अबरुद्ध भएको रेडियो धनगढीका स्टेशन म्यानेजर हरि जोशीले जानकारी दिनुभयो । विद्युत अवरुद्ध हुँदा कञ्चनपुर र कैलालीका अधिकांश रेडियो स्टेशन पनि बन्द रहेका छन् भने केही सञ्चारमाध्यममा हावाहुरी संगैको चट्याङले सामान्य क्षति पुर्याएको खबर प्राप्त भएको छ ।

 

हावाहुरीले जस्ता पाता, टाइल तथा रुखहरु ढाल्दा थुप्रै व्यक्तिहरु घाइते भएको समेत खबर प्राप्त भएको छ । उता हावाहुरीका कारण कैलालीको गौरीगंगा नगरपालिकामा एक जनाको महिलाको ज्यान गएको छ । राती घरमा सुतिरहेको अवस्थामा एक्कासी आएको भिषण हावाहुरीले कच्ची घरको छानो खस्दा च्याप्पिएर गौरीगंगा नगरपालिका वडा नं. १ माघीटोल बस्ने चारुमति बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

+ Facebook Comment

 


 

<