ताजा खबर

बेलौरी खबर

नयाँ वर्ष वि.सं. २०७५ सालको पहिलो दिन सुदूरपश्चिममा विसुको रौनक ।।

हरिश चन्द्र बाग, काठमाडौं, ०१ बैशाख । नयाँ वर्ष वि.सं. २०७५ सालको आज पहिलो दिन वैशाख १ गते । सुदूरपश्चिम भर विसु पर्व मनाइएको छ । हरेक वर्ष वैशाख एक गतेलाई सुदुरपश्चिमेलीहरुले विसु पर्वका रुपमा मनाउने गर्छन ।

 


खासगरी सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी तथा दार्चुला जिल्ला र यी तिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरुले नयाँ वर्षलाई विसु पर्वका रुपमा मनाउने गर्दछन् । विसुमा सिस्नोले हानेर नयाँ वर्ष मनाउने परम्परा पनि रहेको छ । एकापसमा सिस्नु लगायो भने सबै बिष नष्ट हुन्छ भन्ने जनविश्वास भएकाले यसो गरिने स्थानीय बताउँछन् ।

 

 

यो पर्वमा विशेष गरेर देवर–भाउजुले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नु अत्यधिक मात्रामा भिटामिन ए भएको र यसको नियमित सेवनले पत्थरीको रोगबाट समेत मुक्ति पाइने शास्त्रका ज्ञाता हृदय राज बजगाईँ बताउनु हुन्छ ।

 


यो समयमा सुदूरपश्चिमेलीहरुका घरघरमा लिपपोत तथा रंग रोगन गरी घर तथा विभिन्न शक्ति पिठहरुमा पनि पुजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य शहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरु बिसु पर्व मनाउन कै लागि घर फर्किए पछि सुदुरपश्चिमका गाउँमा विसुको चहलपहल झन बढेको छ । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । 

 

 

यस्तै सुदुरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै बिषहरु नष्ट होऊन् भनेर बिसुलोडा चलाउने परम्परा रहेको छ ।

 

 

सुदूरपश्चिमकै तराईका जिल्ला कञ्चनपुर र कैलालीका थारु समुदायले माघ १ गते मकर संक्रान्तीका दिन नयाँ वर्ष मनाउने भएपनि हाल आएर थारु समुदायले पनि पहाडी समुदायको संस्कृतिको अनुशरण गर्दै आजका दिन मीठामीठा खानेकुराहरु खाने, साथीभाइ तथा आफन्तजनसँग भेटघाट गर्ने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।

<