विचार

माननीय खानेपानी मन्त्री बिना मगरको जीवनी !!

नेपाल सरकार, खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री माननीय बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो । उहाँले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गर्नुभयो । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उहाँले माध्यमिक तहको शिक्षा पूरा गर्नुभयो । उहाँले स्नातक तहसम्म शिक्षा आर्जन गर्नुभएको छ । 

 


बाल्यकालदेखि नै समाजमा विद्यमान गरीबी, असमानता र विभेद देखेर उहाँमा विद्रोही स्वभाव विकास भयो । र, २०५१ सालमा ११ वर्षको उमेरमै उहाँ जनबालकलाकारको भूमिकामा राजनीतिमा प्रवेश गर्नुभयो । गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता न्यूनतम सुविधा समेत नपाएका कञ्चनपुरको दक्षिणी क्षेत्रका वस्तीहरूमा जनताका आवाज उठाउँदै हुर्किनुभएका उहाँ माध्यमिक तहमा अध्ययनरत छँदा माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भइसक्नुभएको थियो ।

 


विद्यार्थी राजनीति गर्दा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै २०५६ सालमा उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष हुनुभयो । त्यसपछि राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि बिना मगर काठमाडौं आउनुभयो । काठमाडौंमा उहाँले तत्कालीन अखिल (क्रान्तिकारी) मा आवद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) को पूर्णकालीन सदस्यको रूपमा काम गर्नुभयो ।

 


काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा अत्यधिक मतले जित्नुभएका बिना मगर २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष हुनुभयो । राजधानी काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उहाँलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार ग¥यो । वेपत्ता अवस्थामा नै भैरवनाथ गणमा २७ महिनासम्म उहाँले चरम यातना सहनुभयो । धेरै सहयोद्धासँगै बेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उहाँ संयोगवश ब्यारेकमै छुटेर बाँच्न सफल हुनुभएको थियो । 

 


शान्ति प्रक्रियामा प्रवेशपछि काठमाडौंमा नै कार्यक्षेत्र रहेर उहाँ फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बन्नुभयो । २०६४ सालको स्ववियू निर्वाचनमा उहाँ सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी हुनुभयो । योसँगै उहाँ पार्टीको केन्द्रीय सदस्य समेत बन्नुभयो । हाल उहाँ पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । 

 


२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित भएपनि जनतासँग निरन्तर जोडिनुभयो । विकास निर्माणदेखि जनताका हरेक समस्यामा उहाँको सक्रियता कायमै रह्यो । यही सक्रियता र जनताप्रतिको समपर्णकै कारण उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोही क्षेत्रबाट दुईतिहाई मत ल्याएर विजयी बन्नुभयो ।

 


मतका आधार बिना मगर ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न सफल हुनुभयो । नेपाली समाजको रुपान्तरणमा उहाँको योगदान, जनताले दिएको मत र उहाँले खेलेको संघर्षपूर्ण भूमिकाको कदर गर्दै नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ बाट एकमतले उहाँको नाम मन्त्री पदका लागि सिफारिस भएपछि पार्टीले उहाँलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । 

 


पारिवारिकरुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र दिवंगत प्रकाश दाहालसँग उहाँको विवाह भएको थियो । निर्वाचनमा खटिएको बेला उहाँका श्रीमान प्रकाश दाहालको हृदयघातबाट मृत्यु भएको थियो । शोकको घडीमा समेत जनताबीच दृढ अठोटका साथ उहाँ खटिनुभएको थियो । उहाँका १ जना छोरा रहेका छन् ।

© जी भट्ट 

<