ताजा खबर

बेलौरी खबर

अज्ञात समुहको गोली र खुकुरी प्रहारबाट घाइते घोडाघोडीका नगर प्रमुख चौधरीलाई काठमाण्डौँ रेफर ।। 

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २९ फागुन । 
अज्ञात समुहको गोली र खुकुरी प्रहारबाट घाइते कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई थप उपचारका लागि कोहलपुरबाट काठमाण्डौँ लगिएको छ ।

 

घाइते चौधरीको तिघ्रामा गोली अड्किएको र उक्त गोली निकाल्दा थप समस्या नआओस् भन्ने उद्देश्यले आज विहान नेपाली सेनाको हेलीकेप्टरबाट काठमाण्डौँ रेफर गरिएको मेडिकल कलेजलाई उदृत गर्दै घटनापछि कोहलपुर पुग्नुभएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । 

 

चौधरीको कम्मर भन्दा तल तीघ्रामा गोली लागेको छ भने टाउको र हातमा खुकुरी प्रहार गरिएको छ । यसअघि चौधरीलाई घोडाघोडी अस्पतालमा सामान्य चेकजाँच पछि थप उपचारका लागि सोमबार राति नै कोहलपुर रेफर गरिएको थियो । सोमबार राति आठ बजेपछि सुख्खड बजार मै रहेको नगर प्रमुख चौधरीको घरमा उहाँमाथि गोली र खुकुरी प्रहार भएको थियो । 

 

कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी माथी भएको यो घटना दुखद र निन्दनीय भएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । समाजमा घट्ने गरेका यस्ता अमानवीय घटनाहरुका कारण जनप्रतिनिधिलाई काम गर्ने वातावरण नमिल्ने भन्दै अपराधीको खोजी गरी कानुनी कारवाही गर्नुपर्ने उहाँले बताउनु भयो ।

 

घटना घटेको थाहा पाउने वित्तिकै सोमबार राति नै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्रकुमारी चौधरी, वडा नं. ४ का वडा अध्यक्ष अर्जुन ढकाल, कम्प्युटर अपरेटर अशोक पाण्डेय लगायतको टिम बेलौरीबाट कोहलपुर गएको हो ।
 

<