खेलकुद

शहीद गोविन्द गौतमको स्मृतिमा आयोजित पेनाल्टी सुटआउटको उपाधी टिम धनगढीलाई ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २९ फागुन । 
कञ्चनपुरको पुनर्वासमा शहीद गोविन्द गौतमको स्मृतिमा आयोजना गरिएको एक दिवसीय लालझाडी पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधी टिम धनगढीले हात पारेको छ ।

 

लालझाडी युवा क्लब ११ को आयोजनामा पुनर्वास नगरपालिका स्थित विजय माविको प्राङ्गणमा हिजो सोमबार भएको एक दिवसीय लालझाडी पेनाल्टी सुटआउट प्रतियोगितामा टिम धनगढी विजेता बन्दै ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको हो ।

 

यस्तै प्रतियोगितामा लालझाडी रेड उपविजेता बनेको छ । लालझाडी रेडले २५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा २१ टिमको सहभागिता थियो ।

 

कञ्चनपुरको पुनर्वास स्थित आनन्दबजारमा गत वर्ष फागुन २६ गतेका दिन भएको सीमा विवादमा ज्यान गुमाएका शहीद गोविन्द गौतमको स्मृतिमा लालझाडी युवा क्लब ११ ले फुटबल पेनाल्टी सुट आउट प्रतियोगिताको आयोजना गरेको हो ।

 

पुनर्वास क्षेत्रको खेलकुद बिकासमा सकृयता देखाउदै आएको लालझाडी युवा क्लब ११ ले सीमा रक्षाका क्रममा भारतीय पक्षको दादागिरीका बिरुद्ध प्रदर्शन गर्दै गर्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट शहादत प्राप्त गरेका गौतमको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको लालझाडी युवा क्लब ११ का अध्यक्ष काशीराम बोहराले बताउनु भयो । 

 


यसअघि फागुन २६ गतेकै दिनमा प्रतियोगिता गर्ने तयारी गरिएपनि सोही दिन शहीद गोविन्द गौतमको स्मृतिमा प्रथम वार्षिक स्मृति सभाको समेत कार्यक्रम गरिएको हुँदा दुई दिन सार्नु परेको र आगामी वर्ष देखि फागुन २६ गतेका दिनमा प्रतियोगिता गरिने आयोजकले जनाएको छ । 
 

<