बेलौरी खबर

प्राकृतिक तथा वातावरणीय दृष्टिकोणले प्रदेश नम्बर ७ धनी रहेपनि वनलाई जोगाउन निकै चुनौतीपूर्ण ।।

कञ्चनपुर, २९ फागुन । 
प्राकृतिक तथा वातावरणीय दृष्टिकोणले प्रदेश नम्बर ७ धनी रहेपनि वनलाई जोगाउन निकै चुनौतीपूर्ण रहेको जिल्ला वन कार्यालय कञ्चनपुरका वन अधिकृत शिव प्रशाद शर्माले बताउनु भयो । सोमबार  कुण्डा सेक्टर वन कार्यलय पचकडियामा आयोजित वन डढेलो सम्बन्धी सचेतना गोष्ठीलाई सम्बोधन गर्दै उहाँले बनजंगल संरक्षण सबै नागरीकको बराबर भूमिका रहेको उल्लेख गर्नुभयो । मान्छेको जीवनभर नभइ नहुने वनजंगललाइ जोगाउन सबैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने जिल्ला वन कार्यलय कञ्चनपुरका वन अधिकृत शिव प्रशाद शर्माले बताउनु भयो ।

 

 

गर्मीयाम नजिकिदै गर्दा सामुदायिक बनमा हुने गैरजिम्मेवारी तथा लापरबाहीका कारण हुने गरेका आगलागी नियन्त्रण सम्बन्धी स्थानीय वन संग सम्बन्धित बिभिन्न सरोकारवालालाई जनचेतना जगाउने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको कुण्डा सेक्टर वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताउनु भयो । कुण्डा सेक्टर वन कार्यालय अन्तर्गत बिभिन्न ईलाका वन कार्यालयका कर्मचारी, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी एवं सञ्चारकर्मी सहित करिब ४० भन्दा बढीको सहभागिता रहेको थियो । 

 

 

उक्त गोष्ठीमा वन डढेलोबाट वनजंगलको विनाश , जैविक विविधतामा ह्रास, वातावरणीय विनाश, सामाजिक तथा आर्थिक असर हुने प्रस्ट्याइएको छ । वनमा आगजनी कार्य गर्ने गराउने व्यक्तिलाई वन ऐन २०४९ अनुसार विगो सहित १० हजार रूपैयाँ जरिवाना र एक वर्ष कैद हुन सक्ने कानुनी प्रावधान रहेको पनि उक्त गोष्ठीमा जानकारी गराइएको थियो । जिल्ला वन कार्यालय कञ्चनपुरको आयोजना तथा कुण्डा सेक्टर वन कार्यालय पचकडियाको संयोजनमा आयोजित कार्यक्रममा  जिल्ला वन अधिकृत शिवप्रशाद शर्मा र कुण्डा सेक्टर वन अधिकृत दिनेश कुमार यादवले सहजीकरण गर्नुभएको थियो । 
 

<