दैनिक खबर पत्रिका

२०७४ फागुन २१ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

२३ औँ शहीद सप्ताहका अवसरमा शहिद परिवारलाई सम्मान ।।


कञ्चनपुर, २१ फागुन ।
नेकपा माओवादी केन्द्रले २३ औँ शहीद सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । शहीद सप्ताहका अवसरमा  आज कञ्चनपुरको बेलौरीमा एक कार्यक्रमको आयोजना गरी ४२ जना शहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको छ । हरेक वर्ष फागुन १४ देखि २१ गते सम्म मनाइने शहीद सप्ताह अन्तर्गत नेकपा माओवादी केन्द्र बेलौरी नगरसमितिले आयोजना गरेको कार्यक्रममा दश वर्षे जनयुद्धमा शहिद भएका र वेपत्ता पारिएका पीडित परिवारजनलाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित गरिएको हो ।

तत्कालीन दशवर्षे जनयुद्ध कालमा राज्य पक्षबाट मात्र कञ्चनपुर जिल्लामा एक सय ४६ जना शहिद तथा ३० जना वेपत्ता परिवार रहेको नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक बिर बहादुर थापा पातलले बताउनु भयो । शहिद सप्ताह कार्यक्रम कञ्चनपुर जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा मनाइएको पनि संयोजक थापाले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र कञ्चनपुर संयोजक बिरबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मान कार्यक्रमका सभापति नेकपा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य यज्ञ कँडेल रहनु भएको थियो । बेलौरी नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका माओवादी केन्द्रका नेता पोतिलाल चौधरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शहिद भएका र वेपत्ता पारिएका पीडित परिवारका सदस्य, बेलौरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सदस्य, माओवादी केन्द्रका स्थानीय कार्यकर्ता सहितको सहभागिता रहेको थियो । 


लालझाडीका ७० वालवालिकालाई शैक्षिक समाग्री ।।

 

कञ्चनपुरको लालझाडी गाउ पालिका क्षेत्र भित्रका द्धन्द पिडति वाल वालिकालाई शैक्षिक समाग्री वितरण गरिएको छ । पुर्व पिएलए महिला प्रतिष्ठान कञ्चनपुरको आयोजनामा लालझाडीका ७० जना वालवालिकालाई शैक्षिक समाग्री वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष चादनी राना धामीको सभापतित्वमा सञ्चालन भएको  कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विर वहादुर थापा रहनु भएको थियो । शैक्षिक समाग्री वितरण कार्यक्रममा देखतभुली गाविसका पुर्व अध्यक्ष तनुक लाल चौधरी, वार्ड अध्यक्ष नन्दराज अवस्थी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सहिद सप्ताह मनाउने क्रममा टोलको नामाकरण ।।
नेपाल कम्युनिस्ट पार्टीले दश वर्षे जनयुद्धमा सहिद भएकाहरुको सम्झनामा सोमबार शुक्लाफाटा नगर पालिका वार्ड नं २ गुलरपट्टीमा सहिद सप्ताह मनाएको छ । शहिद सप्ताह मनाउने क्रममा शुक्लाफाटा नगर पालिकाको वार्ड नं २ वाट दश वर्षे जनयुद्धमा सहिद भएका प्रकाश चौधरीको नामवाट गुलरपट्टीको नाम प्रकाश टोल नामाकरण गरिएको वताइएको छ । यसै गरी उक्त वार्डका सात वटा गल्लीको नाम अभ्यास मार्ग, स्पात, आकृती, विन्तीराम, पातल, धनसिह, अरुण, वन्दना र अमर सिह मार्गको नामले नामाकरण गरिएको छ । 


त्यसै गरी वार्ड नं ३ को चारवटा चोकको नाम फुलमती चोक, सपना, प्रकाश र गगन चोक नामाकरण गरिएको छ भने १० वटा गल्लीको नाम जगत मार्ग, अभ्यास, सुन्दर, अमृता, चन्द्र, मुक्ती, विपना, मधु, प्रताप, र विना मार्गका नामले नामाकरण गरेको वार्ड अध्यक्ष नरेन्द्र चौधरीले वताएका छन । सहिद सप्ताह २०७४ को सन्दर्भमा आयोजित ४२  शहिद तथा बेपत्ता परिवारलाइ दोसल्लाले अभिनन्दन गरीएको वताइएको छ । वार्ड नं २ का अध्यक्ष शिवराज पनेरुको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा माओवादीका प्रतिनिधी लोकेन्द्र ऐरी, ईश्वर सुनार लगायतका प्रतिनिधीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन विरेन्द्र भण्डारीले गर्नु भएको थियो ।


न्यायका लागी जाहेरी मुद्दा दायर गरेको एक साता बितिसक्दा पनि दोषीलाई पक्राउ गर्न प्रहरीद्वारा ढिलासुस्ती ।।

धन बहादुर बिक, कञ्चनपुर, पुनर्वास, २१ फागुन ।

सार्बजनिक मन्दिरमा पुजा गर्न जांदा मन्दिरका पुजारी र एक अन्य गैर दलित ले जातिय भेदभाव गरेकोमा पिडितद्वारा न्यायका लागी जाहेरी मुद्दा दायर गरेको एक साता बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न ढिलासुस्ती गरेको छ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित स्थानीय शिव मन्दिरमा शिवरात्रिका दिन सामुहिक पुजा गर्न गएका दलितलाई मन्दिरका पुजारि बलराम भट्टराई र उनका सहयोगी श्रीकृष्ण नेपालले जातिय भेदभावपूर्ण व्यवहार गरिएको भनि पिडित धन बहादुर बिक र टेकबहादुर बिकले न्यायका लागि फागुन १४ गते ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तिमा मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेको एकसाता बितिसक्दा पनि प्रहरीले दोषीउपर कानुनी कार्वाही अगाडी बढाउन सकेको छैन ।

सार्वजनिक मन्दिरमा जातिय छुवाछूत जस्तो जघन्य अपराध गर्ने दोषी हरू खुलेआम घुमिरहेका छन तर प्रहरीले भने पक्राउ गर्न गएपनि फेला पार्न नसकिएको बताएको छ । नियन्त्रणकाका लागि जवानहरूलाई पठाएको छु उनिहरू फेला पर्न सकेका छैनन् इलाका प्रहरी कार्यलय त्रिभुवनबस्ति का ईन्चार्ज लक्षमण बिक ले बताए । पिडित टेकबहादुर बिक र धन बहादुर बिक का अनुसार पुजारी बलराम भट्टराई र सोही गाउँका श्रीकृष्ण नेपालले हरेक बर्षको शिवरात्रि पुजा तथा अन्य पुजाका क्रममा गाउँका दलित परिवारलाई सामुहिक पुजाआरधानाबाट बञ्चित गराउदै आएको र फागुन १ गतेको शिवरात्रिको दिनमा पनि निकै उत्साहित हुदै पुजा गर्न गएका दलितलाई संगै राखेर पुजामा सहभागी गराउन मिल्दैन, दलितले ल्याएको प्रशाद मन्दिरमा चढाउन मिल्दैन, सामुहिक टिका लगाउन मिल्दैन जस्ता भेदभावपूर्ण अमानवीय व्यवहार गरेको बारे पुजारी भट्टराई र नेपाल ले प्रहरी र जनप्रतिनिधि सामु स्वीकार गरिसकेका छन् । 

पिडकले गल्ती स्वीकार गरेपनि माफी माग्न नमानेपछि जातीय भेदभाव घटना भएको दुई सातापछि पिडितहरूले न्याय का लागि कानुनको ढोका ढकढक्याउनु परेको हो । यद्यपि प्रहरीले दोषीलाई पक्राउ नगर्दा पिडितहरू निराश हुनथालेका छन । यता पिडक पक्षका अराजक समुहले पिडितहरूलाई दिनहुँजसो धम्क्याउने गरेको पिडितहरूले बताए । पुनर्वासमा भएको जातीय बिभेद घटनाको बिभिन्न राजनिती पार्टी संग आबद्ध दलित संगठन हरूले घोर भर्त्सना गर्दै दोषीलाई हदैसम्म को कार्वाही को माग गर्दै प्रेस बिज्ञप्ति समेत जारी गरिसकेका छन ।

एसियाली विकास बैंकको सहयोगमा शुक्लाफाँटामा आयोजना शुभारम्भ ।।

एसियाली विकास बैंकको सहयोगमा शुक्लाँफाटा नगरपालिकामा लागु भएको क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन ईकाइ सोमवार देखी शुभारम्भ भएको छ । कञ्चनपुरको मध्य भागमा रहेको शुक्लाफाटा नगर पालिकालाई आधुनिक नगर पालिकाको रुपमा विकास गर्ने उद्देश्य सहित देखी औपचारिक रुपमा आयोजना शुभारम्भ भएको हो । नगर पालिकाका जनप्रतिनिधी, विषयगत कार्यालयका प्रतिनिधी, स्थानिय सघ सस्थाका प्रतिनिधी तथा सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा आयोजनाले विभिन्न विषयमा ९७ करोड खर्च गर्ने वताएको छ । 

शुक्लाफाटा नगर पालिकाको पुजीगत विकासमा रु ८१ करोड, सडक÷ड्रेनमा रु ३४ करोड, फोहरमैला व्यवस्थापनमा रु २२, फोहर पानी व्यवस्थापनमा रु १३, नगर पालिका भवनमा रु ७, सवारी तथा अन्य खर्चमा रु १, सामाजिक आर्थिक विकासमा रु ५, चालु खर्च रु ३, र कन्टिजेन्सीमा रु १३ करोड खर्च गरीने आयोजना निर्देशक चक्रवती कण्ठले वताउनु भयो । आयोजनाले पहिलो चरणमा सडक तथा ड्रेन तर्फ वार्ड ४को झलारी वजार देखी दक्षिण तर्फ असैना सम्म २ किलो मिटर, वडा न ९ को झलारीवाट सिसैया सम्म २ किलो मिटर, वार्ड नं १० को झलारी स्टेशनपुर सडक २ किलो मिटर र वार्ड न ११ स्थीत कृष्ण सामुदायिक वनमा निर्माण गरिने फोहरमैला व्यवस्थापन सम्म जाने सडक २ किलो मिटर गरी जम्मा ८ किलो मिटर कालोपत्रे गरीने योजना रहेको छ । 

यो आयोजना २०७४ मंसिर देखी २०७९ कार्तिक सम्म ५ वर्षमा पुरा गरिने आयोजनाको लक्ष्य रहेको आयोजना समन्वय कार्यालय तथा क्षेत्रिय आयोजना कार्यान्वयन ईकाइले जनाएको छ । नगर प्रमुख दिल वहादुर ऐरको सभापतित्वमा सञ्चालन भएको आयोजना शुभारम्भ कार्यशाला गोष्ठीमा आयोजनाका विभिन्न विज्ञहरुवाट आयोजनाको वारेमा जानकारी गराइएको थियो ।

झलारीमा शुक्लाफाटा क्षेत्रिय कृषि पर्यटन उद्योगिक व्यपार मेला हुने ।।

कञ्चनपुरको शुक्लाफाटा नगर पालिकाको झलारीमा कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै दोश्रो शुक्लाफाटा क्षेत्रिय कृषि पर्यटन औद्योगिक व्यपार मेला २०७४ अयोजना गरिने भएको छ । मेला मूल आयोजक समिति झलारी पिपलाडी उद्योग वाणिज्य संघ झलारीले यही फागुन २३ गते देखि चैत्र ३ गते सम्म हुने कृषि पर्यटन औद्योगिक व्यापार मेलामा विशेष आकर्षणका १ सय भन्दा वढी स्टल रहने बताइएको छ । दोश्रो औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन सस्कृति हाम्रो शान, व्यापार प्रवद्धन समृद्धीको अभियान’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ ।

महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु, पशु लगायतका वस्तु प्रदर्शनीमा राखिनेछ । स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकार समेत प्रदर्शनीमा राखिनेछ । मेलालाई थप मनोरञ्जन प्रदान गर्न विद्यालय स्तरिया सास्कृतिक कार्यक्रम, स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बाल उद्यान, पिङ्ग खेल्नका लागी चर्खा समेत रहने मूल आयोजक समिति झलारी पिपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र कुमार भण्डारीले बताए ।

व्यापार तथा कृषि मेला अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एव रु ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न २० लाख रुपैया बजेट विनियोजन गरिएको छ । झलारी पिपलाडी उद्योग वाणिज्य संघले यसभन्दा अघि पनि वार्षिक रुपमा महोत्सवको आयोजना गर्दै आएको छ । झलारीमा हुने महोत्सवलाई भव्यरुपमा सफल बनाउन उद्यमी, सरोकारवाला निकाय, सञ्चारकर्मी लगायत सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर ५० सदस्यीय मूलआयोजक समिति र ७ वटा उपसमिति गठन गरिएको छ । कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, पशु सेवा कार्यालय लगायत दर्जन भन्दा बढी संघ संस्था सहयोगीका रुपमा छन् भने शुक्लाफाटा नगरपालिका विशेष सहयोगीका रुपमा रहने आयोजक समितिले जनाएको छ ।

कैलाली घटनाका आरोपी चौधरीलाई अर्को कारागारमा सार्न सकिने ।।


प्रदेश नम्बर ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो । कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकोतर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिनअघि मात्र अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जनाले कारागारमा आइतबारदेखि अनशनमा बसेका छन् । 

मन्त्री शाहले कार्यक्रममा सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा मन्त्रालयको भौतिक व्यवस्थापनको सुदृढीकरणका साथै मन्त्रालयमा आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्यप्रणाली लागू गर्ने कामलाई पहिलो प्राथमिकता दिनुभएको छ । यसैगरी, उहाँले वेवसाइटको व्यवस्था गरी सूचना प्रवाह गर्ने, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गर्ने, गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सिधा सम्पर्कको व्यवस्था गरी ‘जनमत शान्ति अभियान’ थालनी गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको कानून निर्माणका लागि कानून तर्जुमा समिति गठन गर्ने, प्रदेशको आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गर्ने, सुरक्षाको सन्दर्भमा पाश्र्व्चित्र तयार गर्ने, ‘सुदृढ शान्ति सुरक्षाः प्रदेश समृद्धिको आधार’ भन्ने अभियानसहित सुरक्षाको व्यवस्था गर्ने, विपद् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, जनउत्तरदायी प्रशासन सञ्चालन गर्नेलगायतका १८ बुँदे प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
टीकापुरमा छुरा हानेर फरार दुई युवक बालाजुबाट समातिए ।।
कैलालीको टीकापुरमा होलीको दिन एक युवकलाई छुरा हानेर फरार दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो । छुरा प्रहारबाट स्थानीय करन थापाको मृत्यु भएको थियो । पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वराज खड्काले बताए । उनीहरुलाई टीकापुर लैजाने तयारी भइरहेको छ ।

डोटी कारागारमा कैदीको आन्दोलन स्थगित ।।

प्रहरी प्रशासनले असहयोग गरेको भन्दै ६ दिन देखि आन्दोलित डोटी कारागारका कैदीबन्दीहरुले सोमबार आफ्नो आन्दोलन स्थगित गरेका छन् । आफूले दैनिक पाउदै गरेको सिदा,लुगा भत्तामा कारागार प्रशासनले घोटाला गरेको, कारागारका कैदीलाई दिइने उपचार सेवामा नक्कली विल बनाई कारागार प्रशासनले रकम लिएको, कैदीबन्दीको हटलाइन पाइप काटी प्रहरीले आफू प्रयोग गरेको भन्दै डोटी कारागारका कैदीबन्दीहरु विगत ६ दिन देखि आन्दोलनमा उत्रिएका थिए । कारागारमा रहेका कैदीहरुलाई प्रहरी तथा कारागार प्रशासनले असहयोग गरेका कारण आफूहरु आन्दोलित भएको कारागारमा कर्तव्य ज्यानको मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी दिपेन्द्र जेठाराले बताए । कैदीहरुले राखेको माग पूर्ण रुपमा पालना गर्ने कारागार प्रशासन तथा कैदीबन्दीबीच सोमबार लिखित सहमति भएपछि कैदिहरुले आफूले गर्दै आएको आन्दोलन स्थगित गरेका हुन् । 

जीप दुर्घटनामा एक जनाको मृत्यु ।।
बैतडीमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दार्चुलाको लटिनाथका कृष्ण विष्ट रहेको प्रहरीले जनाएको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म १ ज २३३ नम्बरको जीप बैतडीको डीलासैनी गाउँपालिका–३ रुइनेतमा दुर्घटना भएको हो । दुर्घटनामा सवार अन्य २ जना गम्भिर घाईते भएका छन् । लटिनाथकै अकवर महरा, गोमती महरा र उनीहरुकी छोरी गिता सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताउनुभयो । यसैगरि भारतीय नागरिक मेरमान सिंह र सर्वण सिंह मुडली सामान्य घाईते भएका छन् ।
भारत पक्षद्वारा गल्ती स्वीकार ।।

नेपालको सहमति विना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेपालको व्यास गाउँपालिका वडा नम्बर – २ का विभिन्न ठाउँमा चारवटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो । नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चालन गर्ने आजको बैठकमा सहमति भएको हो । 

भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो । साथै नेपाली भूमिमा डेढ किमी सडक र झण्डै दुई किमी गोरेटो बाटोसमेत निर्माण गरिएको छ । बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुङ्गे पुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवतजावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो ।
 

<