बेलौरी खबर

विद्युत प्राधिकरण प्रशाखा बेलौरीमा लगाइएको ताला खुल्यो 

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०४ जेठ । विद्युत प्राधिकरण प्रशाखा बेलौरीमा मंगलबार साँझ लगाइएको ताला बुधबार दिउँसो खोलाइएको छ । अनियमित विद्युत् लोडसेडिङ बन्द गरिनुपर्ने, तीनहप्ता पहिले ल्याइएको नयाँ ट्रान्सफर्मर तुरुन्त जडान गर्नुपर्ने, सेवाग्राहीलाई विल बुझाउन बाहिर चर्को घाममा उभिँदा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै छाना बनाउनु पर्ने, साँझ ५ बजेसम्म विद्युत महसुल बुझ्ने व्यवस्था मिलाउनु पर्ने, पुनर्वास र बेल्डाँडीका सेवाग्राहीका लागि सम्बन्धित क्षेत्रमै महसुल काउन्टर स्थापना गरी सेवाप्रवाह गर्नुपर्ने, तोकिएकै समयमा मिटर रिडिङ् गर्नुपर्ने र विलमा वास्तविक अंक चढाउनु पर्ने लगायतका माग राखी बेलौरीका सकृय युवाहरुले तालाबन्दी गरेका थिए । 

यसै सम्बन्धमा बुधबार दिउँसो प्रशाखा बेलौरीमा बसेको विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख गणेश पाण्डेय र बन्दकर्ता लगायत सर्वपक्षिय भेलाबाट १० दिनभित्र टान्र्सफर्मर जडान गरी अनियमित विद्युत् कटौती घटाउने, सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै  महसुल काउन्टरमा १५ दिन भित्र थप एकजना कर्मचारी राखी सेवाग्राहीलाई सहज हुने गरी सेवा प्रवाह गर्ने, गर्मी र बर्षात छल्न छाना निर्माण गर्ने र पुनर्वास तथा बेल्डाँडीका सेवाग्राहीका लागि सम्बन्धित क्षेत्रमै महसुल मोबाइल काउन्टर स्थापना गर्न केन्द्रमा पहल गर्ने निर्णय गरेपछि ताला खोलिएको बन्दकर्ताको नेतृत्व गरेका खडक शाहले बताउनु भयो । पछिल्लो केहि दिन यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक १८ घण्टा विद्युत कटौती हुँदैआएको तालाबन्द गरेपछिको समयमा भने केही समय घटाइएको छ । 

प्रस्तुत छ, विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगर शाखाका प्रमुख गणेश पाण्डेयसंग गरिएकोे विशेष कुराकानी....

<