दैनिक खबर पत्रिका

२०७४ फागुन १५ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

संघीयतामा नयाँ अभ्यास, सात नम्बर प्रदेशलाई नमूना प्रदेशका रुपमा स्थापित गर्ने ः मुख्यमन्त्री भट्ट ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ फागुन ।
सात नम्बर प्रदेशलाई नमूना प्रदेशका रुपमा स्थापित गर्ने सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा आयोजित होली मिलन बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटनका क्रममा सम्बोधन गर्दै  मुख्यमन्त्री भट्टले नेपालमा संघीयताको नयाँ अभ्यास भइरहेको हुँदा अहिले नीति निमार्णको क्रमले प्राथमिकता पाउने बताउनु भयो ।  उहाँले सात नम्बर प्रदेशलाई सम्वृद्ध र आत्मनिर्भर बनाउन जति सम्भावना छन्, त्यत्तिकै चुनौती पनि रहेको उल्लेख गर्नुभयो ।

“पहुँच नभएका समुदायलाई पहुँचमा पुगाउने, पहिचान गुमाएकालाई पहिचान दिने र प्रतिनिधित्व नभएका ठाउँको प्रतिनिधित्व गराउँने कुरा नै संघीयताको मर्म हो, मुख्यमन्त्री भट्टले भन्नुभयो, अहिले हामी संघीयताको जग बसाल्दै नयाँ अभ्यास गरिरहँदा हामीले कानुन, नीतिनियम तयार गर्दै  नमुना प्रदेश बनाउने कुरा मुख्य हो ।” प्रदेश सरकारको मुख्य काम सबै जातजाती, भाषा, धर्म, संस्कृतिलाई समाबेश गरी एउटै बलियो जग बनाउने क्रममा सबै जनाताको भावना समेट्न आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकार तयार रहेको बताउनु भयो ।

भानु माध्यमिक विद्यालयको प्रांगणमा आयोजित होली मिलन बृहत् सांस्कृतिक कार्यक्रममा लालझाडी गाउँपालिका भित्रका विभिन्न समस्यालाई समेटेर तयार गरिएको १८ बुँदे ज्ञापन पत्र गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष पेश गर्नुभएको थियो । सोही ज्ञापन पत्रमा समाबेश गरिएका बुँदाहरुका सम्बन्धमा मुख्यमन्त्री भट्टले आगामी बजेटमा प्राथमिकताका आधारमा बजेट विनियोजन गरी समस्या समाधान तर्फ केन्द्रित हुने बताउनु भयो । 

उहाँले सामान्यतया दोँदा नदिमा तटबन्दको योजना तयार गर्न लगाउने बताउनु भयो । त्यस्तै, मुल सडगखण्ड व्यवस्थित गरी नागरीकको सडगका सहज पँहुच पुर्याउने जिम्मेवारी प्रदेश सरकारको रहेको र हात्ति आतंकको समस्या समाधानका लागि स्थानीय तहले योजना बनाएर दिएमा तत्काल प्रदेश सभाले सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।  


प्रदेश सात ः  कहाँ होला राजधानी, के होला नाम ?
सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकेपछि साविकको क्षेत्रीय सदरमुकाम डोटीमा आन्दोलन चर्किएको थियो ।  निवर्तमान सरकारले धनगढीलाई अस्थायी राजधानी तोक्दै गर्दा जिल्ला–जिल्लाबाट विरोधका स्वरहरु आए पनि अहिले विरोधका स्वर घट्दै गएका छन् । प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएपछि डोटीको आन्दोलन लगभग साम्य भएको छ । डोटीलाई प्रदेशको राजधानी बनाउन पर्ने भन्दै आन्दोलन गरेकाले नै डोटीबाट निर्वा्चित प्रदेश सदस्य त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाइएपछि स्वागत गरेका थिए । भट्ट मुख्यमन्त्री भएपछि उक्त आन्दोलन पनि साम्य बन्दै गएको हो । तर प्रदेश सभाले तत्कालै स्थायी राजधानी तोक्ने छाँटकाँट भने देखाएको छैन् । एक जना प्रदेश सदस्यले राजधानीको विषयलाई लिएर फेरि आन्दोलन हुने आंकलन गर्दै प्रदेश सदस्यहरु तत्कालै राजधानी तोक्ने पक्षमा नदेखिएको बताए । 
अहिलेको अवस्थामा धनगढीलाई नै राजधानी बनाउने पक्कापक्की जस्तै देखिएको छ । अस्थायी राजधानीका लागि धनगढीमै पनि भौतिक संरचनाको अभाव भइरहेका बेला दिपायलमा व्यवस्थापनमा झनै समस्या हुने भएकाले धनगढीलाई नै स्थायी राजधानी बनाउने पक्षमा रहेको धेरै प्रदेश सदस्यहरु बताउँछन् । अहिले पनि मुख्यमन्त्रस्ले सरकारी निवास पाउनुभएको छैन् भने कतिपय मन्त्रीहरु होटलमा बस्दै आएका छन् । यस्तो अवस्थामा दोश्रो विकल्पको रुपमा देखिएको दिपायलमा प्रदेश सरकारको व्यवस्थापनमा ठूलो समस्या आउने आंकलन गरिएको छ । 
प्रदेश नम्बर ७ मा राजधानीको विषयभन्दा पनि प्रदेशको नामाकरणको विषय अहिले बढी चर्चामा छ । विगतमा सुदूर नामले नै पछाडि पारिएकाले त्यस्को क्षतिपूर्ति पाउने गरी राजधानीको नाम राख्न पर्ने प्रदेशका बासिन्दाको भनाई छ । अहिले प्रदेशको नामका लागि सुन्दराञ्चल, सेती महाकाली, मानसखण्ड, खप्तड थरुहट, अपि सैपाल, अजयमेरुलगायतका नामहरु चर्चामा छन् । तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा राना थारु समुदायको बाहुल्यता भएकाले पहाडी समुदाय र राना थारु समुदाय दुवैले अपनत्व गर्ने गरी नाम राख्नु पर्ने नागरिक आवाज उठिरहेको छ । प्रदेशको स्थायी राजधानीभन्दा पहिले प्रदेशको नामाकरण हुने सम्भावना रहेको छ ।

ब्राउन सुगरसहित २ भारतीय युवक पक्राउ ।।
प्रहरीले कैलालीको धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रदेश ७ को क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले उत्तरप्रदेश लखिमपुरका ३० बर्षीय सागर चौधरी र ३५ बर्षीय धर्म्सिंह रानालाई पक्राउ गरेको प्रदेश ७ प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीबाट ३५ ग्राम लागू औषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले लामो समयदेखि भारतबाट लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याई धनगढी आसपासका क्षेत्रहरुमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घरभित्रै पसेर चितुवाको आक्रमण, डेढ वर्षीय बालक गम्भीर घाइते ।।

चितुवाको आक्रमणबाट बैतडीमा एक बालक गम्भीर घाइते भएका छन् । गएराति साढे ९ बजे घरभित्र सुतिरहेको अवस्थामा बैतडीको मेलौली नगरपालिका वडा नम्बर–९, का डेढ वर्षका गणेश चन्दलाई चितुवाले आक्रमण गरेको हो । घरभित्रै सुतेको अवस्थामा चितुवाले आक्रमण गरी गम्भीर घाइते भएका चन्दलाई उपचारको लागि राति नै डडेल्धुराको अस्पतालमा लगेको वडा अध्यक्ष नारद भट्टले बताउनुभयो । घरमा सबै खाना खाइरहेको बेला घरभित्रै पसेर चितुवाले आक्रमण गरेको घाइतेका बुवा मानबहादुर चन्दले बताउनुभयो । घाइते बाललको अवस्था गम्भीर रहेको बताइएको छ । यसअघि गएको भदौमा मेलौली–९, कै एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । २०६८ साल पछि तल्लोसोराडमा चितुवाले २३ जनाको ज्यान लिइसकेको छ । चितुवाको आतंक भैरहदा जिल्ला सुरक्षा समितिले पटक पटक प्रहरी त्यँहा खटाए पनि प्रहरीले चितुवालाई मार्न सकेका छैनन् । केही समय अस्थायी रुपमा प्रहरी त्यँहा बसेर फर्किने गरेको छ । चितुवा प्रभावित क्षेत्रका नागरिकले स्थायी प्रहरी चौकीको माग गरेका छन् । स्थयी प्रहरी चौकी स्थापनाको लागि गृह मन्त्रालयबाट स्वीकृति आउनुपर्ने भन्दै त्यसको पहल थालिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।


अधिकारकर्मीद्वारा सिरिया नरसंहारको बिरोध ।।
नरी बडु, बैतडी, १५ फागुन ।
सिरियामा भएको नरसंहारको बैतडीका मानव अधिकारकर्मी र सकृय युवाहरुले विरोध गर्दै बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्या र दमनको बिरोध गरेका छन् । मंगलबार साँझ बैतडी जिल्लाको सदरमुकाम गोठलापानी चोकमा इन्सेक, रेडक्रस, युएनएफपीए, युवा समिती, बाल अधिकार सञ्जाल, पत्रकार र आम सर्वसाधारणहरुले बिरोध सभा गरेका हुन् । 
मानवताका नाताले विश्वका हरेक नागरिकहरुले सिरियाका बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्याको बिरोध गर्नुपर्ने अधिकारकर्मीहरुको भनाई छ । बालवालिका भविश्यका कर्णधार भएकाले उनीहरुको दमन चाहे विश्वको जुनसुकै मुलुकमा भएपनि रोक्नुपर्ने जिल्ला बाल सञ्जाल बैतडीकी अध्यक्ष निशा भट्टको भनाई छ । मानवताका नाताले सिरियामा भएको नरसंहारको बिरोध गर्नुपरेको जिल्ला युवा समितिका अध्यक्ष सन्तोश जोशीले बताए । 

आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउन नगरपालिकाले र्गयो गाउँमै नुन वितरण ।।
डोटीको दिपायल सिलगढी नगरपालिकाले वडामा ढिके नुन विस्थापित गर्ने उद्धेश्यले आयोडिनयुक्त नुन वितरण अभियान सञ्चालन गरिएको छ । नगरपालिकाका अधिकांश वडाहरुमा अहिले पनि आयोडिनयुक्त नुन प्रयोगमा नआएका कारण यो अभियान सञ्चालन गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रको सबैभन्दा विकट वडा मानिने वडा नम्बर ९ को मछिन्तोलामा प्रति ६८ परिवारलाई प्रति परिवार २ किलोका दरले आयोडिनयुक्त नुन वितरण गरेको छ । 

आयोडिनको कमीका कारण आउने समस्या न्यूनिकरणका लागि आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउने उद्धेश्यले गाउँमै पुगेर आयोडिन नुन वितरण गरिएको दिपायल सिलगढी नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रममा नगरपालिकाको स्वास्थ्य इकाई सह–संयोजक राजु खड्काले आयोडिन नुनको महत्व, प्रयोग गर्ने तरिका र प्रयोग नगर्दा हुने समस्या बारेमा स्थानीयबासीलाई जानकारी दिनुभएको थियो । डोटीका अधिकांश ग्रामिण भेगका मानिसले अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेको पाइन्छ । ढिके नुन प्रति किलो १२ रुपैयाँ पर्ने र आयोडिनयुक्त नुन त्यसको दोब्बर रुपैयाँ पर्ने भएकाले आफूहरुले ढिके नुनको प्रयोग गर्दै आएको मछिन्तोलाका स्थानीय दीपक साउदले बताउनु भयो ।

अनुमति विना नेपाली भूमिमा भारतले बनायो बाटो र पुल ।।
भारतीय पक्षले नेपालको अनुमति र सहमतिविना नै दार्चुलाको महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ । केहि हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नोतर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो । त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चारवटा झोलुङे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो । वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईवटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरी नेपाली पक्षसँंग छलफल गरेको थियो । नेपाली पक्षसँग तीन पटक छुट्टाछुट्टै समयमा पत्राचार, सम्पर्क र छलफल गरेको भारतीय पक्षले नेपाली पक्षको सहमति विना प्रस्तावित दुई वटा काठेपुल र नेपाली भूमिमा बाटो निर्माणसमेत गरेको छ ।
भारतीय पक्षको पत्र आएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अन्तर्रा्ष्ट्रिय सीमाको विषय भएकाले आफूले यसबारे निर्णय गर्न नसक्ने भन्दै गृह मन्त्रालयको अनुमति माग्नु भएको थियो । गृहको अनुमति अहिलेसम्म प्राप्त नभएको उहाँको भनाइ छ । नेपाली पक्षलाई पत्राचार, छलफल मात्रै गर्ने र नेपाली पक्षको सहमति विना पुल र बाटो निर्माण गर्ने कार्य भारतीय पक्षले गरेको छ । नेपाली पक्षसँग जुन विषयमा अनुमति मागिएको छ त्यसबारे औपचारिक छलफल र सहमति नहुँदै भारतले प्रस्तावित काम गरिसकेको छ । दार्चुलाको स्थानीय प्रशासनले यी कुनै पनि विषयमा भारतीय पक्षलाई सहमति वा अनुमति नदिएको प्रजिअ गौतमले जानकारी दिनुभयो । 
दुम्लिङमा काठको पुल निर्माण गर्न स्थानीयको माग ।।
भारतले एकतर्फी रुपमा सीमा नदी महाकालीमा काठेपुल निर्माण गरी आवागमन गरिरहँदा राप्लाको दुम्लिङमा काठेपुल निर्माणको माग गरिएको छ । व्यास गाउँपालिका–२ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीको नेतृत्वमा तत्काल काठेपुल निर्माण गर्न माग गरिएको हो । लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्दै आइरहेका स्थानीयबासिन्दाको सुविधाका लागि काठेपुल निर्माण गर्न जिल्ला प्रशासन कार्यालयमा आइतबार माग गरिएको गाउँपालिकाका प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । भारतीय पक्षले दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा दुईवटा काठेपुल निर्माण गरी आवतजावत गरिरहेका छन् । नेपालतर्फ बस्ती नै नभएको क्षेत्रले भारतीय पक्षले पुल बनाएर आवतजावत गरिरहेको भन्दै दुम्लिङका बासिन्दाले दुम्लिङमा पनि काठेपुल राख्न माग गरेका हुन् । स्थानीयको पुल निर्माणसम्बन्धी मागलाई भारतीय पक्षसँग छलफल गरी सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । अन्तर्रा्ष्ट्रिय सीमाक्षेत्र भएकाले यसबारे गृह मन्त्रालयको अनुमति समेत आवश्यक पर्ने उहाँको भनाइ छ । नेपालतर्फ तल्लो दुम्लिङ र भारततर्फको घटियाबगड क्षेत्र जोड्ने काठेपुल निर्माणको माग गरिएको वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताउनुभयो ।
छविस पाथिभेरा गाँउपालिकामा खानेपानीको अभाव ।।
बझाङ जिल्लाको दुर्गम छविस पाथिभेरा गाँउपालिका वडा नम्बर–६, लेकगाँउमा खानेपानिको हाहाकार भएको छ । वर्षौदेखी खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीय बासिन्दाले अहिले पनि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानीका धारा गाउँभरि भए पनि धारामा पानी नआए पछि यहाँका स्थानीयबासिन्दाले खाने पानीको समस्या झेल्नु परेको हो । साविकका गाविस र जिल्ला विकास समितिको सहयोगमा लाखौंको लगानीमा निर्माण गरेका खानेपानीका धाराहरुमा पानी नआइकनै बन्द भएको यहाँका स्थानीय बासिन्दाको भनाई छ । केही खानेपानीका मुहान सुकेको र अन्य खानेपानीका मुहान टाढा भएका कारण  खानेपानीको समस्या भएको छ । खानेपानीका समस्याका कारण महिला तथा बालबालिकालाई समस्या भएको छ । बिहानदेखि बेलुका अबेरसम्म पानी भर्नका लागि लाइन बस्नुु पर्ने भएकाले बालबालिकाको पढाइमा पनि समस्या भएको स्थानीय काली बुढाले बताउनुभयो । नुहाउनका लागि गाँउबाट झण्डै चार घण्टा टाढा रहेको खोलामा जानु पर्ने बाध्याता यहाँकका नागरिकमा रहेको छ । खानेपानीकै कारण गाउँमा झगडा र मनमुटाब हुने गरेको स्थानीयबासिन्दा बताउछन् । खानेपानीका धारामा पानी नआएपछि धाराहरु बालबालिकाका लागि खेल्ने खेलौना बनेका छन् ।  

तिमी मेरी बन्छौ भने गीतको भिडियो सोमबार देखि देश तथा बिदेशमा एकसाथ रिलिज हुँदै ।।
तेजेन्द्र विवश रावलको शब्द तथा भद्र ओलीको लयमा तयार भएको तिमी मेरी बन्छौ भने गीतको भिडियो यही फागुन तेस्रो साताको सोमबार २१ गते देश तथा बिदेशमा एकसाथ रिलिज हुँदैछ । उक्त गितमा चर्चित गायिका टीका पुन र धिरेन्द्र भण्डारीले स्वर दिएका छन् भने पछिलो समयकी चर्चित मोडल रिचा थापा र दिपेन्द्र सज्यालको अभिनय रहेको छ । जुन गीतमा भिडियो निर्देशन अनिश लामाले गरेका छन् ।  भिडियो छायाकन भने बिक्रमले गरेका छन् भने उक्त गीत उत्पादन तथा बजार उग्रतारा डिजिटल म्युजिक प्रा.लि ले गरेको छ । तिमी मेरी बन्छौ भने बोलको गीत म्युजिक नेपालको युटुव च्यानलबाट  दर्शकहरुले हेर्न सक्ने बताइएको छ ।
 

<