खेलकुद

कञ्चनपुर क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी  लक्ष्मी मावि जब्दियालाई ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ फागुन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न १०औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी  लक्ष्मी मावि जब्दियाले हात पारेको छ । पुनर्वास जनता माविको खेल मैदानमा आज सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १०औं संस्करणमा १० स्वर्ण, ३ रजत र १ कास्य पदक सहित लक्ष्मी मावि जब्दिया प्रथम भएको हो । यसैगरी प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित शान्ति मावि शाान्तिपुर दोस्रो भएको छ । ३ स्वर्ण, ३ रजत र ५ कास्य सहित जनज्योति मावि कलकत्ता तृतीय भएको  छ । 

 

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिका सम्मिलित क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने तीन ओटै विद्यालय बेलौरी नगरपालिका भित्र पर्ने विद्यालय हुन् । १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा निर्वाचन क्षेत्र नं. १ भित्रका ४१ ओटा विद्यालयको सहभागिता रहेको थियो । आउँदो वर्ष २०७५ मा हुने ११ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता पुनर्वास कै बागेश्वरी माविले गर्ने निर्णय स्वरुप उक्त विद्यालयका प्रधानाध्यापक दोजराज घिमिरे र खेल शिक्षक डम्बर दहाललाई कार्यक्रमबाटै सामग्री हस्तान्तरण गरी जिम्मा लगाइएको छ । 

 

 

यही फागुन १० गते कञ्चनपुरका ३ ओटै क्षेत्रमा एकसाथ सुरुभएको १०औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता क्षेत्र नं. ३ मा शनिबार, २ मा आइतबार र क्षेत्र नं. १ मा आज सोमबार समापन गरिएको हो । आज सम्पन्न निर्वाचन क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले कञ्चनपुर क्षेत्र नं. १ का चार औटै स्थानीय तहका प्रमुखहरुसंग समन्वय गरेर यस क्षेत्रको खेलकुदको गुणात्मक र दीगो विकासका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यहरुलाई पनि अनुरोध गर्ने बताउनु भयो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यही फागुन २० गते देखि बेलौरीको जब्दियामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीत हुन सम्बद्द सबैलाई अनुरोध गर्नुभयो । 

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले विद्यार्थीहरुको वार्षिक परीक्षालाई नकारात्मक प्रभाव पार्ने गरी मध्य फागुनमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नभएको टिप्पणी गरेपछि जिल्ला खेलकुद विकास समितिका सदस्य एवं क्षेत्र नं. १ का खेल संयोजक नमराज शाहीले आगामी वर्ष देखि मंसिरको अन्तिम सातादेखि राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गर्ने निर्णय भइसकेको बताउनु भयो । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेलौरीको जब्दियामा रहेको लक्ष्मी माविले आयोजना गर्ने भएको छ । यही फागुन २० गतेदेखि हुने उक्त प्रतियोगिताका लागि तीब्र तयारी भइरहेको आयोजक लक्ष्मी माध्यमिक विद्यालयले जनाएको छ ।

<