दैनिक खबर पत्रिका

२०७४ फागुन १४ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

कञ्चनपुर क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी  लक्ष्मी मावि जब्दियालाई ।।

 

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ फागुन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न १०औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी  लक्ष्मी मावि जब्दियाले हात पारेको छ । पुनर्वास जनता माविको खेल मैदानमा आज सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १०औं संस्करणमा १० स्वर्ण, ३ रजत र १ कास्य पदक सहित लक्ष्मी मावि जब्दिया प्रथम भएको हो । यसैगरी प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित शान्ति मावि शाान्तिपुर दोस्रो भएको छ । ३ स्वर्ण, ३ रजत र ५ कास्य सहित जनज्योति मावि कलकत्ता तृतीय भएको  छ । 

 

पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिका सम्मिलित क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने तीन ओटै विद्यालय बेलौरी नगरपालिका भित्र पर्ने विद्यालय हुन् । १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा निर्वाचन क्षेत्र नं. १ भित्रका ४१ ओटा विद्यालयको सहभागिता रहेको थियो । आउँदो वर्ष २०७५ मा हुने ११ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता पुनर्वास कै बागेश्वरी माविले गर्ने निर्णय स्वरुप उक्त विद्यालयका प्रधानाध्यापक दोजराज घिमिरे र खेल शिक्षक डम्बर दहाललाई कार्यक्रमबाटै सामग्री हस्तान्तरण गरी जिम्मा लगाइएको छ । 

 

 

यही फागुन १० गते कञ्चनपुरका ३ ओटै क्षेत्रमा एकसाथ सुरुभएको १०औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता क्षेत्र नं. ३ मा शनिबार, २ मा आइतबार र क्षेत्र नं. १ मा आज सोमबार समापन गरिएको हो । आज सम्पन्न निर्वाचन क्षेत्र नं. १ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले कञ्चनपुर क्षेत्र नं. १ का चार औटै स्थानीय तहका प्रमुखहरुसंग समन्वय गरेर यस क्षेत्रको खेलकुदको गुणात्मक र दीगो विकासका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यहरुलाई पनि अनुरोध गर्ने बताउनु भयो । समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यही फागुन २० गते देखि बेलौरीको जब्दियामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीत हुन सम्बद्द सबैलाई अनुरोध गर्नुभयो । 

 

कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले विद्यार्थीहरुको वार्षिक परीक्षालाई नकारात्मक प्रभाव पार्ने गरी मध्य फागुनमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नभएको टिप्पणी गरेपछि जिल्ला खेलकुद विकास समितिका सदस्य एवं क्षेत्र नं. १ का खेल संयोजक नमराज शाहीले आगामी वर्ष देखि मंसिरको अन्तिम सातादेखि राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गर्ने निर्णय भइसकेको बताउनु भयो । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेलौरीको जब्दियामा रहेको लक्ष्मी माविले आयोजना गर्ने भएको छ । यही फागुन २० गतेदेखि हुने उक्त प्रतियोगिताका लागि तीब्र तयारी भइरहेको आयोजक लक्ष्मी माध्यमिक विद्यालयले जनाएको छ ।

 

मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको बेलौरीमा एक जनाको मृत्यु ।।


हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ फागुन ।
मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको बेलौरीमा एक जनाको ज्यान गएको छ । गए राति एक बजे बेलौरीको भुराकोटबाट रिछाहा आफ्नै घर फर्कने क्रममा भुराकोट क्षेत्रमै विद्युतको पोलमा ठोक्किएर वर्ष ३२ का धनी राम चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । उनी आफन्तको  विवाहबाट घर फर्कने समयमा दुर्घटनामा परेका हुन् । सोही मोटरसाइकलमा सवार कमान सिंह चौधरी सामान्य घाइते भएका छन् । 

 

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न न्यायधिशको आदेश ।।

 

टीकापुर घट्नाका आरोपित रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन न्यायधिश पर्शुराम भट्टराईले आदेश दिनुएको छ । न्यायधिश भट्टराईको एकल ईजलासले चौधरीलाई थुनामा राखेर कारबाही प्रकृया अगाडि बढाउन आदेश दिएको हो । टीकापुर घट्नाको झण्डै ३० महिनापछि अदालतमा आफू बिरुद्ध दायर गरिएको मुद्दाको प्रतिवाद गर्न आज बिहान निबेदन सहित रेशम चौधरी हाजिर भएपछि दिनभरी बहस भएको थियो । आफू बिरुद्धको मुद्दासरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता सहित चार जनाले बहस गरेपछि चौधरीका तर्फबाट तीन जना अधिवक्ताले बहस गर्नुभएको थियो ।

 

सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता प्रकाश बहादुर भण्डारी, सहायक जिल्ला न्यायधिवक्ता भानदेव जोशी, सहायक न्यायधिवक्ता नविन भट्ट र बरिष्ठ अधिवक्ता राजेन्द्र साँउदले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता गंगाराम पाध्या, मिलन राई र गजेन्द्र बहादुर केसीले बहस गर्नुभएको थियो । जसमा सरकारका तर्फबाट बरिष्ठ अधिवक्ता राजेन्द्र साँउदले प्रति बहस गर्नुभएको थियो ।

 

छुवाछूतलाई प्रोत्साहन दिएको भन्दै मन्दिरका पुजारी सहित २ जना विरुद्ध मुद्दा ।।


दीपेन्द्र बस्नेत, पुनर्वास, १४ फागुन 


कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको ङ गाउँ स्थित मन्दिरमा पुजा गर्न नपाइने भन्दै जातिय भेदभाव तथा छुवाछूत जन्य कार्यलाई प्रोत्साहन दिएको भन्दै मन्दिरका पुजारी सहित २ जना विरुद्ध सोमबार ईलाका प्रहरी कार्यालयमा मुद्दा  दर्ता गरिएको छ । पुनर्वास नगरपालिका ६ ङ गाउमा जातिय भेदभाव तथा छुवाछूत जन्य कार्यलाई प्रोत्साहन दिएको आरोपमा मन्दिरका पुजारी  बलराम भट्टराई र अर्का ब्यक्ति श्रीकृष्ण नेपाल विरुद्ध जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ को अनुसार कानुनी करवाहीको माग राख्दै ४ राजनैनिक दलका दलित भातृसंगठनका प्रतिनिधिको रहोवरमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा आज मुद्दा दर्ता गरिएको हो ।

 

पुनर्वास  नगरपालिका ६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन पुजाको निम्ति आर्थिक संकलन गर्दा दलित समुदायबाट पनि संकलन गरिनुपर्ने भन्दा पण्डित भट्टराईले दलित समुदायका मान्छे र गैर दलितहरुले मन्दिरमा संगै पुजा अर्चना गर्न नपाइने र दलित भक्तजनले ल्याएको प्रसाद अन्य संग मिसाउन हुदैन भनी जातिय भेदभाव तथा छुवाछुत जन्य कार्यलाई प्रोत्साहन गरेकोले कानुन बमोजिमको हदै सम्मको कारवाहीको माग राख्दै पुनर्वास नगरपालिका(६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकले आज मुद्दा  दर्ता गराएका हुन ।

 

पुनर्वासमा झन्डै २ सातादेखि बिवादित बन्दै आएको उक्त बिषयमा कुनै सहमती हुन नसके पछि सोमबार अबेर साँझ मुद्दा  दर्ता गरिएको हो । सोमबार चार राजनैतिक दलका ४ दलित भातृसंगठनका प्रतिनिधिहरुको रहोवरमा मुद्दा  दर्ता भएको हो । जातिय भेदभाव र छुवाछूत भएको भन्दै कानुनी कारवाहीको माग गर्दै एमाले समर्थित मुक्ती समाजका जिल्ला अध्यक्ष बिनोद नेपाली,माओवादी केन्द्र समर्थित दलित मुक्ती मोर्चाका बलबहादुर बिक,नेपाली काँग्रेस समर्थित नेपाल दलित संघ का भिम नेपाली र नेपाल कम्युनिस्ट पार्टी बिप्लब का सुरेश सार्की लगायत का ब्यक्ती हरुको रहोबरमा मुद्दा  दर्ता गरिएको हो ।

 


’बैतडीमा घर, डडेलधुरालाई कर’ ।।

 

बैतडीका नागरिक घर जग्गाको राजश्व तिर्न डडेलधुरा जाने गरेका छन् । बैतडीको मेलौली नगरपालिका वडा नम्बर–८, का ४ सयभन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पतिको राजश्व डडेलधुरा जिल्लामा तिर्दै आएका छन् । २०३२ सालभन्दा अगाडि त्यस क्षेत्र डडेलधुरा जिल्लामा राखिएको हुँदा डडेलधुरामा नै राजश्व बुझाउदै आएको मेलौली नगरपालका–८, का वडा सदस्य प्रेमसिंह बिष्टले बताउनुभयो । पछि सुर्नया नदीलाई सीमाना बनाएर विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको मेलौली–८, का वडा सदस्य प्रेमसिंह बिष्टले बताउनुभयो । उहाँले डडेलधुरा जिल्लामा राजश्व बुझाउँदै आए पनि डडेलधुराबाट सेवा सुविधा भने नपाएको बताउनुभयो ।

 

फरक भू–भाग भएकै कारण बैतडी र डडेलधुराको सीमानामा विद्युत भए पनि बैतडी बासिन्दाले विद्युतको उपभोग गर्न नपाएको त्यस क्षेत्रका पत्रकार तपेन्द्र बिष्ट बताउनुहुन्छ । स्थानीयबासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी गराएको स्थानीयले बताएका छन् । सांसद भट्टले भने आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बितिक्कै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालहरुसँग छलफल गरेको बताउनुभयो । जिल्लामा यो विषमा पहिलो पटक खबर आएको र स्थानीय तहको आधिकारीक निवेदन प्राप्त भएमा आफूहरु पहल थाल्ने जिल्ला नापी कार्यालय बैतडीका प्रमुख नरबहादुर चन्दले बताउनुभयो ।

 

स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या ।।


बैतडी, फागुन १४ गते । जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् । जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थापना हुन नसक्दा सेवाग्राही समस्यामा परेका हुन् । स्थानीय तहका कतिपय वडा कार्यालय भाडाका घरमा बसेका छन् । पाटन नगरपालिका–८ को वडा कार्यालय उपयुक्त घर नपाएपछि छिमेकी वडा नं ९ मा कार्यालय राखिएको छ । वडा कार्यालय मात्र होइन नगरपालिका र गाउँपालिकाको समेत आफ्नै भवन छैन । पुर्चौडी नगरपालिकाको भवन नहुँदा भाडाको घरमा बस्दै आएको निमित्त प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थीले बताउनुभयो । 

यस्तै जिल्लाको दक्षिणी शिवनाथ गाउँपालिकाको कार्यालय पनि भाडाको घरमा बस्दै आएको छ । स्थानीय तहका प्रमुख–उपप्रमुखलगायत कर्मचारीका लागि ठाउँ नहुँदा विषयगत कार्यालय झोलामै सीमित हुने गरेका छन् । जिल्लाकै पुरानो दशरथचन्द नगरपालिकामा समेत सबै विषयगत कार्यालय छैनन् । झोलामै कार्यालय बोक्नु परेको नगर प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । कतिपय स्थानीय तहमा विषयगत कार्यालयका कर्मचारी जान सकेका छैनन् भने गएका ठाउँमा बस्ने ठाउँ नहुँदा हाजिर मात्रै गराउने काम भएको सम्बद्ध कर्मचारी बताउँछन् ।

ठाउँको अभावमा स्थानीय तहको कार्यालय साँघुरो कोठामा राखिएकाले सेवाग्राही र सेवाप्रदायकलाई समस्या हुने गरेको छ । ‘गाउँमा सिंहदरबार’ भनिए पनि अहिलेसम्म सिंहदरबारको अधिकार गाउँले उपयोग गर्न पाएको छैन । कागजी कार्य र कर्मचारी व्यवस्थापनमा अलमल रहेका कारण चार नगर र ६ गाउँपालिकाले नयाँ काम अघि बढाउन सकेका छैनन् । आर्थिक वर्ष शुरु भएको ६ महिना बितिसक्दा समेत जिल्लाका स्थानीय तहले १५ देखि २० प्रतिशत मात्रै विकास बजेट खर्चेका छन् । ग्रामीण भेगमा सडक सञ्जाल जोड्ने कार्यमा अघि देखिएका नगर र गाउँपालिकाले नयाँ विकासे खाकासमेत कोर्न सकेका छैनन् ।

“सिंहदरबार गाउँमै आउँछ भनिएको थियो, होइन रहेछ, अझैसम्म सदरमुकामै धाउनुपर्छ,” पुर्चौडी नगरपालिका–१ हाटका धनवीर धामीले भन्नुभयो, “कार्यालय सबै सदरमुकाममै भएपछि स्थानीय सरकार हुनुको के अर्थ रह्यो र ?” आवश्यकताअनुसार सेवा प्रदान गर्न नसकिएको शिवनाथका गाउँपालिका प्रमुख कर्ण्सिंह साउदले बताउनुभयो । “अधिकार दिइएको भनिएको छ तर सबै काम सदरमुकामबाटै हुने गरेको छ,” उहाँले भन्नुभयो, “स्थानीय तहमा बैंक नहुँदा कर्मचारीको तलब निकासा गर्न सदरमुकाम जान बाध्य छौँ ।”

जिल्लास्थित विषयगत कार्यालय स्थानीय तहमा जान सकेका छैनन् । महिला, बालबालिका, कृषि, पशु, शिक्षा र स्वास्थ्यका कार्यालय स्थापना नभएकाले सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । विषयगत कार्यालयका कर्मचारी नजाँदा स्थानीय तहलाई योजना बनाउन समेत समस्या हुने गरेको छ । शिक्षा, स्वास्थ्य, पशुलगायत विषयगत कार्यालयका कर्मचारी स्थानीय तहमा गएकै छैनन् । यसअघि साबिकका गाविसमा रहेका सेवा केन्द्र, स्वास्थ्य चौकी प्रमुखलाई विषयगत कार्यालयको जिम्मा दिइएको छ ।

गाउँपालिकाकै केन्द्रमा पुग्न दुई दिन लाग्ने गरेको छ । सिगास गाउँपालिकाको कार्यालयमा पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको सोही गाउँपालिका–६ का पदमबहादुर रोकायले बताउनुभयो । संघीय संरचनाका लागि तीनवटै निर्वाचन भर्खरै सम्पन्न भएकाले भौतिक संरचना, जनशक्तिको पनि अभाव देखिएकाले सेवाग्राहीले सबै सेवासुविधा पाउन अझै केही समय कुर्नुपर्ने भएको छ ।

 


गोली हानी भागेका व्यक्ति पक्राउ ।।

 


आपसी विवादमा गोली हानी फरार भएका डोटीको आर्दश गाउँपालिका –६, गोसेडाका ४४ वर्षीय धर्म लुहारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता (डिएसपी) शिवबहादुर सिंहले दिनु भएको जानकारी अनुसार प्रहरी चौकी तिल्ताली सैनबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तिको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले लुहारलाई पक्राउ गरेको हो । गोली हानेर भारततर्फ भाग्ने क्रममा प्रहरीले लुहारलाई डोटीको तलारा क्षेत्रबाट पक्राउ गरेको हो । लुहारले शनिबार दिउँसो आफसी विवाद हुँदा ५५ वर्षीय देव अधिकारीलाई गोली हानी फरार भएका थिए । लुहारको गाली लागि गम्भिर घाइते भएका अधिकरीको भारतमा उपचार भइरहेको छ । लुहारलाई जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी हिरासतमा राखेर थप अनुसन्धन भैरहेको डोटी प्रहरीले जनाएको छ ।

 

थपिए चार मन्त्रीः गृहमा बादल, अर्थमा युवराज खतिवडा ।।

 


प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ तर, सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ । माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादीमा गृहमन्त्रीका लागि बादलसँगै वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले दावेदार थिए । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् । माओवादीबाट मात्रिका यादव मन्त्री बनेका छन् ।

 


यस्तै युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत सपथ रोकेको छ । यद्यपि मन्त्री बन्न त्यसले रोकेन । एमालेबाट महासचिव ईश्वर पोखरेल पनि बन्त्री बनेका छन् । तर, उनले न उपप्रधानमन्त्री पाए न अर्थ मन्त्रालय नै । गुटभित्रको संघर्षका कारण पोखरेल रक्षामन्त्री बन्ने पुगे । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।
 

<