ताजा खबर

खेलकुद

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमसहित मध्यमाञ्चल र एपीएफ सेमिफाइनलमा ।।

नवराज पनेरु, कैलाली, १० फागुन ।

कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमीफाइनलमा पुग्ने तीन वटा टिमको टुङगो लागेको छ । घरेलु टोली सुदूरपश्चिमसहित मध्यमाञ्चल र विभागीय टोली एपीएफ सेमिफाइनलमा पुगेका हुन् । बिहीबार भएको खेलमा मध्यमाञ्चल र एपीएफले जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् भने लगातार दुई खेलमा पराजित हुँदै पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरीएको छ । 

 

 

 

बिहीवारको पहिलो खेलमा समूह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै अन्तिम चारसम्मको यात्रा तय गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनायो । मध्यमाञ्चलका लागि सीता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिइन् ।

 

 

 

१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागि नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विडारीले समान २/२ विकेट लिइन् भने २ जना रन आउट भएका थिए । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भइन् ।

 

 

 

पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगिताबाट बाहीरिएको छ भने त्यही समूहमा रहेको घरेलु टोली सुदूरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जितले सेमीफाइनलमा पुगेको छ । बिहीबारको दोश्रो खेलमा समूह बी मा रहेको एपीएफले पूर्वाञ्चललाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको छ । टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउदै ६४ रन मात्रै बनाउन सक्यो । 

 

 

 

पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । क्षेत्री पहिलो पारीको अन्तिम बलमा स्टम्पिङ आउट भइन् । एपीएफकी सोनु खड्काले २ विकेट लिइन् ।

 

 

 

६५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराब सुरुवातका बीच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । पूर्वाञ्चलकी कप्तान क्षेत्रीको कसिलो बलिङका अगाडि एपीएफको पारी धरमराएको थियो । ७ रनमै ५ विकेट गुमाएको एपीएफको पारी करुण भण्डारी र ममता चौधरीले छैठौँ विकेटका लागि २२ रनको साझेदारी गरि सम्हालेकी थिइन् । 

 

 

सातौँ विकेटका लागि भण्डारीसँग इन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफले जित दर्ता गर्न सफल भएको हो । भण्डारी, चौधरी र बर्माले समान १६÷१६ रनको योगदान दिइन् । पूर्वाञ्चलकी रुविना क्षेत्रीले ३ विकेट लिए पनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच एपीएफकी करुणा भण्डारी भइन् ।

 

 

प्रतियोगिता अन्तर्गत शुक्रवार पहिलो खेल पूर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेल सुदूरपश्चिम र मध्यमाञ्चलबीच हुने छ । पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमिफाइनलमा स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । 

 

#उज्यालाे 

<