राष्ट्रिय समाचार

रेडियो बेलौरी नियमित प्रशारणको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रबेश

रेडियो बेलौरी, कञ्चनपुर, ०१ जेठ । आज जेठ ०१ गते । कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सञ्चालित रेडियो बेलौरी १०५ मेगाहर्ज नियमित प्रशारणको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रबेश गरेको छ । उदयदेव मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो बेलौरीले कञ्चनपुरको दक्षिणी क्षेत्रलाई केन्द्र बनाई समग्र कञ्चनपुर एवं सुदुरपश्चिमको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय लगायत सकारात्मक विकास र समृद्धिका सवालमा बहस, अन्तकृया तथा सुचना, सन्देश र समाचार प्रशारण गर्दै आइरहेको छ । रेडियो बेलौरीले केन्द्रमा विविसी नेपाली सेवा र नेपाली रेडियो नेटवर्क मार्फत आधिकारिक प्रशारणका लागि साझेदारी गर्दै मोफसलमा सम्पूर्ण श्रोताको आवाज बन्न सफल भएको ठहर गरेको छ ।


वि.सं. २०७१ चैत्र २९ गतेबाट परीक्षण प्रशारण यात्रा सुरु गरी वि.सं. २०७२ जेष्ठ ०१ गते तत्कालिन सिचाईँमन्त्री एनपी साउँदको प्रमुख आतिथ्यमा नियमित प्रशारण सुरु गरिएको थियो । हाल रेडियो बेलौरीले एफएम व्याण्डमा १८ घण्टा र वेबसाइट तथा मोबाइल एप्समा चौविसै घण्टा प्रशारण जारी राखेको संस्थापक अध्यक्ष एवं स्टेशन म्यानेजर हरिश चन्द्र बागले बताउनु भएको छ । रेडियो बेलौरीले आफ्नो नियमित प्रशारणको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना सम्पूर्ण श्रोतावर्ग, विज्ञापनदाता तथा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सबै महानुभावहरुमा कृतज्ञता ज्ञापन गरेको छ ।


स्थानीय तहको निर्वाचनको आचारसहिंताका कारण वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गर्न नसकिएपनि रेडियो बेलौरीले आजबाट १० दिने आधारभूत रेडियो पत्रकारिता तालिमको समेत सुरुवात गरेको छ । यही जेठ १० गतेसम्म सञ्चालन गरिने पत्रकारिता तालिमको आज दिउँसो २ बजे संस्थापक अध्यक्ष एवं स्टेशन म्यानेजर हरिश चन्द्र बागको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको छ ।
 

<