ताजा खबर

विचार

प्रजातन्त्र दिवस र आम जनताको अनुभूति

आजभन्दा ठीक ६७ वर्ष अगाडिको कुरा हो । तत्कालीन जहानिँया राणा शासनको कहरलाई जनताको लहरले परास्त गरेपछि विसं २००७ साल फाल्गुन ७ अर्थात आजकै दिन प्रजातन्त्र दिवस मनाउँने परिपाटी बस्यो ।

 

वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्र प्राप्तिका निम्ति आफ्नो ज्यान समेत बलिदानी दिने ती अमर सहिदहरुको नाममा देशले बढो भक्तिपूर्बक आज प्रजातन्त्र दिवस मनाउदै छ ।

 

बिभिन्न सभा गोष्ठी र सम्मेलनहरुमा यही बीरता र सुरताको स्तुती गायन गर्दै देशभर आतिशबाजी पनि गर्दैछन् । “जनताद्वारा, जनताको लागि गरिने, जनताको शासन”लाई प्रजातन्त्र भन्ने संज्ञा पाएदेखि यो दिवस जनतामाझ निक्कै लोकप्रिय पनि बन्दै गएको छ । आज प्रजातन्त्र दिवस मनाइरहदा के जनताले साँच्चै प्रजातन्त्रको रसानुभूति गरेकै होलान् त ? सत्ताको लागि आपसी अटसमटस र छिमेकीको दादागिरीलाई छातिमा दम्पच राखेर के साँच्चै प्रजातन्त्रको सुखानुभूति जनताले गरेकै होलान् त ?

 

भारतले पटक–पटक नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाएको छ, के ती तमाम सीमाबासीले यथार्थमै प्रजातन्त्रको महशुस गरे होलान् त ? सुस्ता, कालापानी, पशुपतिनगर र लिपुलेकदेखि प्यारातालसम्मको अतिक्रमण र सीमा क्षेत्रमा भएको ज्यादती र निर्मम हत्याका घटनाहरूका पीडितले के साँच्चै हृदयदेखि नै प्रजातन्त्र दिवस मनाउँलान् त ? 

 


प्रजातन्त्रको भावनालाई संस्थागत गर्न सर्वप्रथम सरकारको सोंचमा परिवर्तन हुनु नितान्त जरुरी छ । तर, जब सत्तासिनहरु सबै पालैपालो सत्तामा पुगे, तब उनीहरूले सबै कुरा बिर्से । पहिलो राजकीय भ्रमण दिल्लीमा गरे । रातो कार्पेटमा उत्रेर दिल्ली दरबारका बैभवता र अजङ्गतामा आफुलाई बिस्कुन सरी सुकाए तब छिमेकीले गरेको बिगतको ज्यादती र बिस्तारवादलाई भुसुक्कै भुले ।

 

ओली सरकारले यतिखेर ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै प्रतापीको रुपमा आफुलाई इतिहासमा स्थापित गर्ने; र जनता जनार्दनको नारालाई बुलन्द गर्ने अवसरलाई गुमाउँनु हुँदैन । निरन्तर दक्षिणीपरस्त झुकाव र सुझावकै आकांक्षी बनिरहेको बिगतका सरकार झैं यो सरकारको चर्तिकलामा पनि आज विश्वको आँखा अडेको छ । त्यसैले “जुनजोगी आएपनि कानै चिरिएको” भन्ने उखानलाई चरितार्थ नगरि जनतालाई साँच्चै प्रजातन्त्रको अनुभूति गराइयोस् ।

 


देश निर्माणको विशाल अभियानमा जुट्नु पर्ने हजारौं बलिष्ठ पाखुराहरु आज विदेशिएका छन् । एउटा सानो बालक अब डाक्टर, इन्जीनियर र पाइलट हुने सपना छाडेर, अठार वर्ष उमेर पुगेपछि पासपोर्ट बनाउँछु अनि विदेश गएर पैसा कमाउँछु भन्ने सपना देख्छ । सपनाले भासिएका हजारौं युवा युवती विदेशमा जेल भित्र झुठ्ठा मुद्दामा थुनिन बाध्य छन् । विदेशी भूमीबाट रेमिट्यान्स मात्र हैन उम्दा युवायुवतीहरुको लास पनि भित्रिरहेकोप्रति किन सरकारको त्यतातिर ध्यान जाँदैन ?

 

बारम्वार विदेशबाट लासहरु आउने क्रम रोकिएकै छैन । ती तमाम मृतक परिवारजनहरुले यो प्रजातन्त्र दिवसमा गरिएको आतिशबाजीलाई कसरी स्वीकार गर्न सक्लान त ? काम गरेको तलब समेत नपाएर रित्तो हात फर्कनु र हजारांै संख्यामा चेलिबेटीहरु विदेशी भूमिमा बलात्कृत भएर बाँच्नु परिरहेको विडम्वना माझ यो आजको प्रजातन्त्र दिवस निक्कै खल्लो र निरस सावित हुन्छ । आन्दोलनमा टायर बाल्न पाउँने, चक्का जाम गर्न पाउँने, लेख्न पाउँने, बोल्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो लङ्गडो प्रजातन्त्र ?

 

ए ! सरकार ! प्रजातन्त्र दिवस फगत नारामा मात्रै सीमित हुनुको कुनै औचित्य छैन । सत्ता र शक्ति प्राप्तिको लागि दक्षिणी प्रभूसँग सधैं लम्पसार पर्ने प्रबृत्तिबाट पहिले बाहिरिनु होस् । दास मनोवृत्ति र परजीवीतन्त्रबाट माथि उठ्नोस् ! स्रोतयुक्त प्रचुर सम्भावना बोेकेको नेपाल देश स्वतः सपाट र आत्मनिर्भर बन्ने छ अनि मात्रै नेपाली जनताले प्रजातन्त्रको वास्तविक अनुभूती गर्नेछ ।  
 
रञ्जित लामा, धनगढी, कैलाली । 

<