दैनिक खबर पत्रिका

२०७४ माघ २७ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

  • अक्सिजन मेसिन र तौल मापक मेसिन खरिद गरी श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ माघ ।
कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन मेसिन खरिदका लागि आर्थिक संकलन टोलीले आज अक्सिजन मेसिन र तौल मापक मेसिन खरिद गरी श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकाल र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रोसन कुमार चौधरीलाई हस्तान्तरण गरेको छ । वयोबृद्ध पण्डित पुण्यप्रसाद तिमिल्सेनाद्वारा हिन्दु परम्परा अनुसार पुजन गरी स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरिएको हो ।

आर्थिक संकलन टोलीका संयोजक खडक शाहले स्थानीय विभिन्न व्यवसायी, पेशाकर्मी देखि लिएर विदेशमा रहेका यस क्षेत्रका जागरुक युवाहरुको सहयोगमा हालसम्म करिब २ लाख १८ हजार जति रकम संकलन भएको र जसमध्ये करिब १ लाख ७ हजार ५ सय मुल्य बराबर उक्त उपकरणमा खर्च भई आधा जति रकम बचत रहेकाले सो रकमको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा नै सदुपयोग गरिने बताउनु भयो । 

सकृय युवाहरुको पहलमा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा अक्सिजन मेसिन र तौल मापक मेसिन खरिद गरी हस्तान्तरण गरेको कार्य प्रति प्रोत्साहित हुँदै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकालले प्रसंशा गर्नुभयो । थप विवरण सहित एक रिपोर्ट .....

 

  • चार दिन देखि धारामा खानेपानी नआउँदा बेलौरीका उपभोक्ता मर्कामा ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ माघ ।
विगत चार दिन देखि धारामा खानेपानी नआउँदा बेलौरीका उपभोक्ता मर्कामा परेका छन् । श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति बेलौरीले करिब ९०० घरधुरीलाई वितरण गर्दै आएको शुद्ध खानेपानी चार दिन देखि धारामा नआउँदा दुसित पानी पिउन बाध्य भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । चार – चार दिन सम्म पनि धारामा पानी नआउँदा  आक्रोसित भएका उपभोक्ताहरुले श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले चरम लापरवाही गरेको आरोप लगाएका छन् । 

यसैबीच हुलाकी सडक लगायत विभिन्न वडाले गर्न लागेको सडक निमार्ण कार्यका कारण उपभोक्ता समक्ष खानेपानी पुगाउन नसकिएको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोपाल पाण्डेयले बताउनु भयो । स्काभेटरले बाटो खन्दै गर्दा ठाउँठाउँमा खानेपानीका पाइपहरु टुटफुट भएको र ती टुटफुट भएका पाईप परिवर्तन गर्न स्थानीय बजारमा पाइप नपाइने तथा बजेटको अभावका कारण समस्या केही दिन लम्बिने अध्यक्ष पाण्डेयले संकेत देखाउनु भयो । 

बेलौरी बजार, विद्यानगर, दुम्ली, पुरानो बेलौरी, शान्तिपुर र रिछाहाका गरी करीब ९०० घरधुरीका उपभोक्ताहरुले  उक्त खानेपानी उपभोग गर्दै आएको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोपाल पाण्डेयले बताउनु भयो । यसै विषयमा श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष गोपाल पाण्डेयसंग गरिएको विशेष कुराकानी अबको क्रममा....

  • नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २२ औँ साधारण सभा सम्पन्न ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ माघ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २२ औँ साधारण सभा सम्पन्न भएको छ । आज उपशाखाको आफ्नै भवन शान्तिनगरमा आयोजित साधारण सभाले एम्बुलेन्सका लागि सम्बन्धित निकायमा माग गर्ने, ब्लड बैंक स्थापनार्थ आवश्यक संरचना निर्माणका लागि बेलौरी नगरपालिकालाई आह्वान गर्ने सहित सचिव शेर बहादुर विष्ट द्वारा प्रस्तुत गरिएको आर्थिक एवं प्रगती प्रतिबेदन अनुमोदन गर्ने निर्णय गरेको उपशाखाका सभापति बिष्णु प्रसाद तिवारीले बताउनु भयो । बेलौरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम प्रकाश बडायकको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमलाई उपशाखाका सहसचिव मधुविलाश ढुंगानाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपशाखा बेलौरीका संस्थापक सदस्य प्रकाश चन्द्र त्रिपाठी तथा पूर्व सचिव हर्क सिंह कुवँर विशिष्ट अतिथि रहनुभएको थियो । थप विवरण सहित एक रिपोर्ट .....

 

  • कञ्चनपुरको पुनर्वास–बेलौरीमा कैयौ सिमा स्तम्भ गायब, अस्वभाविक पिल्लर फेला,सरकार गम्भीर देखिएन ।।

किशोर कुमार तामाङ, कञ्चनपुर, २७ माघ ।
भारतीय सिमासंग जोडिएका नेपालका विभिन्न भागहरुमा सिमा विवाद यथावत रहेको छ । विवाद समाधान गर्न नेपाल र भारत विच दुई देशको सिमा अद्यावधिक गर्ने कार्य लामो समय देखि चल्दै आइरहेको छ । यस्तै कञ्चनपुरको आनन्द बजारको नेपाली भूमिमा गत फागुन २६ गते कल्भर्ट बनाउन भारतीय पक्ष रोकेको थियो । सो विवाद चर्कदै जाँदा भारतीय सुरक्षाकर्मीले हानेको गोलिले पुनर्वासको एकजना सर्वसाधारण गोविन्द गौतमको हत्या भयो । विवाद टुङ्गो लगाउन भनी गत बर्ष निर्मल आचार्यको नेतृत्वमा नेपाल(भारत सयुक्त सीमा सर्वे गर्न आएको सर्वेटोलीले नापेको नक्सामा भारतीय पक्षले हस्ताक्षर गर्न नमाने पछि बिना निष्कर्ष रातारात उक्त सर्वेटोली फर्किएको थियो । 
भारतले रातारात एकतर्फीरुपमा नेपाली क्षेत्रमा सिमा स्तम्भ खडा गर्दा सरकार मौन रहेको स्थानीयवासीहरुले आरोप लगएका छन । दिनापुरको थापा चोक नजिक कल्भर्ट ठडाई भारतिय एस.एस.बीले सिमा स्तम्भ बनाउदा पनि यहाँका सरोकारवाला गम्भीर नभएको ,बेलौरी न.पा २ वडाध्यक्ष कलबीर चौधरी बताउनुहुन्छ । चुनावी दौरानमा भोट बटुल्न ठूल्ठूला कुरा गरि अश्वासनको पोको बाडन भ्याएका जनप्रतिनिधिहरु हाल आएर आनन्द बजारवासीको भावना विपरित सिमा निर्धारण गर्ने काममा पहल गर्न छाडेर आपसमा आरोप प्रत्यारोप गरिरहेका छन । नाका खोल्नु जरुरी छ भन्दै केही भारतीय तस्करीहरु र चम्चेहरुको आडमा भारतीय बजार गई चाडै नाका खुल्ने आश्वासन दिनु गलत भएको स्थानिय जानकारहरु बताउछन । जनप्रतिनिधिहरुले यहाँको भारतीय एसएसबीको ज्यादती सदाको लागि रोक्न २०० नम्बर पिल्लरको वास्तविकता निर्धारण गरि पुनर्वासी दक्षिण बेल्टका जनताहरु र शहिद गोविन्द गौतमलाई न्याय दिनु पर्ने पुनर्वास न.पा ४ का बसुन्धरा बस्नेतले जिकीर गर्नुभयो ।

यस भेगको भारतीय ज्यादती अन्त्य गर्न यहाँ स्थायी नाका खोल्नु पर्ने, यहाँका विवादित सिमा स्तम्भहरुको सहि निर्धारण हुनुपर्ने त्यसपछि मात्र नाका खुल्ने विगत ३० बर्ष देखी बसोबास गर्दै आएका आनन्द बजार सुकुम्वासी टोलका ६५ बर्षे दान बहादुर शाही बताउनु हुन्छ । हाल पुनः यस क्षेत्रमा कैलाली देखि दार्चुला ब्रम्हदेव सम्मको सिमा विवाद टुंगो लगाउन भन्दै गत एक महिना देखी पुनर्वासको डोके बजार देखी सिमा स्तम्भ रेक्की गने कार्य तिब्र रुपमा भई रहेको छ । सो संयुक्त टोली हाल आनन्दबजार क्षेत्र हुदै महाकाली नगरपालिका पुगी सकेको छ तर यहाँका जनप्रतिनिधिले सो कार्य बारे कुनै चासो देखाएको छैन । पिल्लर नं. २०५ सम्म पुग्दा निकै पिल्लरहरु मिसीङ भेटिएका छन भने कयौ अस्वाभाविक बिना नम्वरका पिल्लरहरु समेत फेला परेको छ । सिमावर्ती कञ्चनपुर पुनर्वास(बेलौरीका नेपाली जनताहरु भारतीय पक्षले रातारात नयाँ पिल्लर बनाई आफ्नो जग्गामा गाडिदिदा आक्रोशित बनेका छ्न ।

नेपाल सरकारको घुडा टेकुवा प्रवृति र नेपालको भुगोल प्रतिको भारतीय गिद्दे नजर राख्ने प्रवृति अन्त हुनुपर्ने स्थानीयवासीहरुको भनाइ छ । जुन जोगी आए पनि कानै चिरेका भने जस्तै जुन सरकार आए पनि भारतको शरण पर्ने प्रवृतिले गर्दा नै भारतले नेपाललाई हेपेको र सरकारको कार्यशैली देख्दा सिमावर्ती जनताहरु वाक्क दिक्क भएको बेलौरी न.पा. गोकूलपुर निवासी लव बहादुर शाही बताउनुहुन्छ । हाल भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अन्य खुला नाकाहरुमा निर्बाध आवतजावत गर्न दिएपनी गत फाल्गुनबाट आनन्दबजार नाका भने ठप्प छ । 
भारतले हराएको सिमा स्तम्भ २०० नं. कल्भर्ड नजिक रहेको रुखलाई मानी आएको, उसले कल्भर्ट पनि आफ्नो भनी दावी गरिरहेको , आनन्द बजार नजिक काक्रे खोलामा नेपाली लालपुर्जा भएको जमीन समेत उपभोग गर्न नदिनु ,यस्तो हुदा समेत सरोकारवाला निकाय मौन रहनु र भारतीय ज्यादती विरुद्ध बोल्न नसक्नु र अब सरकारले केही गरेन भनेर युवा जमात चुप लागेर नबस्ने आनन्द बजार टोलका स्थानिय युवा बसन्त न्यौपानेले आक्रोस पोख्नुभयो। 

हाल नेपाल सरकार र भारत सरकारको संयुक्त सर्भे टोलीले रेक्की गर्ने क्रममा धेरै पिल्लर हराएकोमा केही फेला परेको र अस्वभाविक सिमा स्तम्भ समेत भेटिएकोले यसको रिपोर्ट केन्द्रमा पठाउने कैलाली कञ्चनपुर सिमा सर्भे टोली सदस्य पुर्ण ब.खडकाले बताए । नेपाल सरकारले सिमा व्यवस्थापनको लागि भारत सरकारसंग सहि तरिकाले पहल गर्न नसक्नु, भारतलाई दवाव दिन नसक्नुले भारतले हालसम्म नेपाली भूमी कब्जा गरेर बसेको बुद्धिजीवीहरु बताउछन् । स्मरण रहोस्, यस अघि आएको टोलीले साबिक सिमा स्तम्भ १९८ फर्जी भएको र २०० नं. मिसीङ पिल्लर रुख नभई त्यो ठाँऊ भन्दा ५०० मिटर दक्षिण तर्फ नेपाल भारत सिमा लाइन भएको बताएको थियो ।

  • सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा लफडा ।।

सुदुर पश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन संघर्ष समितिले विश्वविद्यालयद्धारा हालै अघि बढाइएको १५ वटा आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रियानै गलत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले उक्त प्रक्रिया नसच्याए आगामी दिनमा जस्तोसुकै संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको हो । समितिका संयोजक मानबहादुर चन्दले तत्काल विश्वविद्यालयले आफूहरुले उठाएका जायज मागहरु सम्बोधन गर्नको लागि ढिलाई गर्न नहुने बताउनु भयो । चन्दले विश्वविद्यालयको जिम्मेवारी पदाधिकारी उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले समायोजन प्रक्रियालाई नै अवरुद्ध गरि १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई विश्वविद्यालयको विकास र विस्तारलाईनै रोक्ने फोहोरी नियतका साथ आफूहरुलाई अदालत जान धम्क्याएको आरोप लगाउनु भयो ।

  • राष्ट्र प्रेमी नागरिक समाज द्धारा महाकाली नगरपालिकामा श्रमदान ।।

बिकाश सिंह महता, २७ माघ ।
प्रदेश न. ७ कञ्चनपुर स्थित महाकाली नगरपालिकामा राष्ट्र प्रेमी नागरिक समाजले सडक निर्माण कार्यमा श्रमदान गरेका छन् । शनिबार माघ २७ गतेका दिन महाकाली नगरपालिका वडा न.८ खत्री टोल सिटि मार्गमा नगरपालिकाको योजनामा फालेको ग्राभेल लाई उक्त नागरिक समाजका अध्यक्ष चन्द्र प्रकाश खत्री (सि पि खत्री) को नेतृत्वमा रहेका नागरिक समाजका सदस्यहरु उक्त बाटोमा फालेको ग्राभेल फिजेर श्रमदान गरेका छन् ।

युवाहरुको नेतृत्व रहेको नागरिक समाजले गाउँ र नगरमा रहेका बिकासका कार्यहरु यसरी निरन्तर रुपमा अगाडि रहने र यसैका साथै समाजमा हुने सम्पुर्ण सकारात्मक र नकारात्मक कुराको समर्थन र विरोध आवश्यकता अनुसार सबै कामहरु गरेर राष्ट्र निर्माण र बिकासमा हाम्रो यस संघ संस्थाको सरोकार र साझेदारी रहने पनि अध्यक्ष खत्रीले बताएका छन । एउटा समाजलाई मात्र होइन सबै क्षेत्रमा हामी निरन्तर रुपमा नाफा मुखी होइन हाम्रो समाज र राष्ट्र को लागी सेवा मुखी रुपमा काम गर्ने उद्देश्यले यस संघसंस्थाको स्थापन भएको उक्त नागरिक समाजका सचीव बिक्रम थापाले बताए ।
राष्ट्र प्रेमी नागरिक समाजले सामाजिक सेवा गर्ने उद्देश्यले अनाथ बालबालिकाहरुलाई माघ ८ गते सरस्वती पुजाको अवसर पारेर खेलकुद सामग्री वितरण गरेको र संस्था दर्तागरेको महिना दिन नबित्दै समाजमा सेवा मुखि काममा लागी परेका सचीव थापाले बताएका छन् । यसरी युवाहरुलाई पालो दिए पनि बिकास निरन्तर रुपमा अगाडि रहने पनि बताएका छन् ।

 

  • प्रदेशको सभामुखका लागि थापा निर्विरोध निर्वाचित ।।


सात नम्बर प्रदेशको सभामुखका एमालेका अर्जुन बहादुर थापा निर्विरोध निर्वा्चित हुनुभएको छ । उम्मेदवारी दर्ताको लागि तोकिएको दिउसो २ बजेदेखि साझ ५ बजेसम्मको समयमा एक्लो उम्मेदवारी परेपछि थापा निर्विरोध हुनुभएको हो । यद्यपी यसको औपचारीक घोषणा भने आगामि २९ गते हुनेभएको छ । बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका अर्जुन बहादुर थापा सात नम्बर प्रदेशको पहिलो सभामुखमा निर्बिरोध हुनुभएको छ । शनिबार दिउसो २ बजेर १० मिनेटमा थापाले सभामुख मनोनय दर्ता गराउनु भएको थियो । निर्वाचन आयोगले साझ ५ बजे सम्म मनोनय दर्ताको समय तोकेको थियो । तोकिएको समय सिमामा अन्य दलका तर्फबाट कुनै उम्मेदवारले सभामुखमा उम्मेदवारी दर्ता नगराएपनि थापा निर्विरोध हुनुभएको हो । 

सभामुखको उम्मेदवारी दिनु भएका अर्जुन बहादुर थापाकोे प्रस्तावकमा कैलालीबाट निर्वाचित प्रदेश सभा सदस्य दिर्घ सोडारी र समर्थकमा डोटिबाट निर्वाििचत त्रिलोचन भट्ट रहनु भएको छ । भट्ट माओवादी केन्द्रको संसदीयदलको नेता तथा सात नम्बर प्रदेशको मुख्य मन्त्रिमा सिफारिसमा पर्नुभएका प्रदेशसभा सदस्य हुनुहुन्छ भने सोडारी कैलाली वाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपा एमाले कैलालीका अध्यक्ष हुनुहुन्छ । सभामुखको लागि तयार गरिएको निर्वाचन कार्यातालिकाको समय सिमा भित्र थापाको मात्रै उम्मेदवारी परेपछि सात नम्बर प्रदेशको पहिलो सभामुख बन्ने निश्चित भएको हो । 

सभामुख बन्ने निश्चित भएपछि थापाले आफ्नो जिम्मेवारी पुरा गर्ने बताउनु भयो । पहिलो प्रदेश सभाले बिभिन्न नियम तथा कानुन निमार्ण गर्नुपर्ने हुदा आफु प्रदेशको बिकासमा सकृय भएर लाग्ने थापाले बताउनु भयो । बाइट बझाङको क बाट निर्वाचित प्रदेश सभा सदस्य थापाले प्रदेश सभा सदस्यको दोस्रो बैठकमा सभामुखको औपचारीक घोषणा हुने छ । माग २१ गतेको पहिलो बैठकको सभाअध्यक्ष रहनु भएकि जेष्ठ सदस्य दिब्यश्वरी शाहकै अध्यक्षतामा दोस्रो बैठक माग २९ गते बस्नेछ । प्रदेश सभाको दोस्रो बैठकले थापालाइ सभामुख भएको औपचारीक घोषणा गर्ने छ । साभामुख भएको औपचारीक बिबरण प्रदेश प्रमुखलाइ उपलब्ध गराएपछि प्रदेश प्रमुखबाट सभामुखले पद तथा गोपनियतको सपथ ग्रहण गर्ने सम्बैधानि ब्यवस्था रहेको छ । सपथ ग्रहणको समय भने अहिले निर्धारण गरिएको छैन । निर्विरोध सभामुख चयन हुनुभएका थापाले पक्ष र बिपक्ष नभनि सधै निश्पक्ष रहने बताउनु भएको छ । सभामुखको निर्वाचन कार्यतालिका अनुसार शनिबार मनोनयन दर्ता गरिएको हो । 

शनिबार २ बजेदेखी ५ बजे सम्म मनोनय दर्ता पनि ५ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । सभामुखमा अन्य दलका कुनै पनि उम्मेदवारले मनोनय दर्ता नगराएपछि थापा निर्बिरोध हुनु भएको हो । सात नम्वर प्रदेश सभामा एमालेका २५ माओवादी केन्द्रका १४, नेपाली कांग्रेशका १२ र राजपाका २ जना सांसदको प्रतिनिधित्व छ । वाम गठवन्धविच यो प्रदेशमा सभामुख एमालेले र मुख्यमन्त्री माओवादी केन्द्रले पाउने यसअघिनै सहमति भएको छ ।

  • चमेलियाको बिजुली बाल्न दार्चुलाबासीले अझै एक वर्ष कुर्नु पर्ने ।।

निर्माण कार्य सूरु भएको एक दशकपछि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत्त आयोजना शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । चमेलिया जलविद्युत्त आयोजनामा नेपाल विद्युत्त प्राधिकरण, सीजीजीसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण कार्य सम्पन्न गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन कार्यक्रममा भन्नुभयो ‘आयोजना सुरुवात गर्ने पनि म आफँै, उद्घाटन गर्ने पनि म आफैँ, यो नेपालमै पहिलो अवसर पाएको छु ।’ साथै देउवाले नेपालको सात नम्बर प्रदेश जलविद्युतको धनी प्रदेश भएकोले यही क्षेत्रबाट यहाँको विकास हुने बताउनुभयो । 

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा उर्जामन्त्री कमल थापाले चमेलियाको उद्घाटन पछि राष्ट्रिय प्रशारण लाइनमा जोडिने र लोड सेडिङ अन्त्य हुने बताउनुभयो । साथै, अझै तीन सय मेघावाट विद्युत्त उत्पादनका लागि मन्त्रिपरिषदको निर्णयले नीतिगत निर्णय गरेको बताउनुभयो । सन् २००७ मा आयोजना निर्माण सुरु गरी सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनामा चार पाँच पटक समयावधि थपिएको थियो । सन् २०१७ डिसेम्बरमा विद्युत्त बाल्ने लक्ष्यका साथ काम गरेको आयोजनाले अन्तिममा सन् २०१८ को फेब्रुअरीमा निर्माण सम्पन्न गरेको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिनुभयो । 

बलाँचबाट १ सय ३१ किलोमिटर लामो कैलाली जिल्लाको अत्तरियामा रहेको सब स्टेसनमा १ सय ३२ केभी प्रशारण लाइनबाट उत्पादित विद्युत्त राष्ट्रिय प्रशारणमा जोडिने छ । वर्षभरी दैनिक ६ घण्टा ३० मेगावाट विद्युत्त उत्पादन गर्ने नेपालकै पहिलो प्रविधियुक्त चमेलियाको विद्युत्त उत्पादनपछि सात नम्बर प्रदेश बाहेक देशका अन्य प्रदेशहरुमा पनि लोडसेडिङ अन्त्य गर्ने चमेलिया जलविद्युत्त आयोजनाका इलेक्ट्रिकल इन्जिनियर सुनिल सुवेदीले जानकारी दिनुभयो ।  

आयोजना लम्बिनुका कारण
१८ महिना आयोजनाको काम पूर्ण रुपमा बन्द भएको थियो । भौगोलिक विकटता, प्राविधिक जटिलता, आयोजनाको सुरुङ निर्माण सम्पन्नपछि खुम्चिनु र मर्मतमा चाइना कम्पनीको लागत बढी हुनु, देशको राजनीतिक घटनाक्रमलगायतका कारण आयोजनाको समय र लागत बढेको आयोजनाले जानकारी दिएको छ । नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया सम्पन्न भएपछि अब लोडसेडिङ अन्त्य हुने बताउनुभयो । 

लागत दोब्बरले बढ्यो
आठ अर्ब ३४ करोड लागतमा सम्पन्न गर्नु पर्ने चमेलिया जलविद्युत्त आयोजनाको लागत दोब्बर बढेको छ । आयोजनाको कुल लागत १५ अर्ब रहेको निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । साथै प्रशारण लाइन, सब–स्टेसन, सडक पूर्वाधार निर्माण सामाजिक कार्य तथा प्रशासनिक खर्च गरी थप ६ अर्व १८ करोड रुपैयाँ लागत लागेको पनि कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

दार्चुलाबासीले  तत्काल बाल्न नपाउने ।।
दार्चुला जिल्लाकै गौरवको आयोजनाको रुपमा रहेको चमेलिया जलविद्युत्त आयोजना निर्माण सम्पन्न भए पनि दार्चुलाबासीले भने चमेलियाको विद्युत्त उपभोग गर्न पाएका छैनन् । दार्चुला जिल्लामा वितरण गर्ने विद्युत्तका लागि जिल्लामा संरचना नबनेपछि जिल्लावासीले विद्युत्त उपभोग गर्न समय लाग्ने भएको हो । 

महाकाली नगरपालिका –७ थालिगाडमा निर्माणाधीन विद्युत्त सब–स्टेसन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लाबासीले चमेलियाको विद्युत्त उपभोग गर्न पाउने छन् ।  नेपाल विद्युत्त प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वरबाट महाकाली नगरपालिका–७ थालिगाडसम्मको २२ किलोमिटर ३३ केभीको विद्युत्त प्रशारण लाइन निर्माणको काम अहिले भैरहेको छ ।  

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका क्षेत्रीय प्रमुख तारानाथ शर्माका अनुसार प्रशारण लाइन तान्ने काम ६० प्रतिशत र सब–स्टेसन निर्माणको काम झण्डै ४० प्रतिशत सम्पन्न भएको छ । सब–स्टेसन निर्माण र बलाँचबाट थालिगाडसम्मको विद्युत्त प्रशारण लाइन निर्माण २०७५ असारसम्म सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता रहेको नेपाल विद्युत्त प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ ।

  • सात नम्बर को सम्वृद्धिको आधार उर्जा ।।

सुदिप थापा, कैलाली, २७ माघ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रिय सभाले प्रदेश नम्बर ७ लाई आर्थिक रुपमा समुन्नत बनाउँन यस क्षेत्रमा १० देखि १५ मेघावट सम्मको एउटा जविद्युत आयोजन निर्माण  गर्न सरकार संग जोडदार माग गरेको छ । दशौ केन्द्रिय सभाले जलविद्युतमा आत्मनिर्भर, उपलब्धिको रक्षा, संस्था र कर्मचारीहरुको समुन्नत भविष्य आजको आवश्यकता भन्ने उद्घोषका साथ २९ वुदे प्रस्तावहरु प्नि  परीत  गरेको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले शनिवार धनगढीमा पत्रकार सम्मेलन मार्फत बताउनुभयो । उनले अन्य प्रदेशको तुलनामा ७ नम्बर प्रदेशमा अर्थात जलस्रोत भएका कारण अर्जा क्षेत्र बाट यस प्रदेशले आर्थिक रुपमा आमुल परिर्वतन गर्ने बताउनुभयो । 

दशौ केन्द्रिय सभाले भोटेकोसि र माथिल्लो त्रिशुलि १ को विद्युत खरिद समेत रद गर्न सरकार संग आग्रह गरेको उहाँले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष जय बहादुर सिंहले प्रदेश नम्बर ७ को सम्वृद्धिको मुख्या आधार यस क्षेत्रको पानी रहेको बताउनुभयो । उनले यस क्षेत्रका राजनितीज्ञहरुले उर्जा क्षेत्रका विज्ञहरु संग समन्वयन गरी अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रिय सभामा देश भरबाट ५ सय ७५ जना प्रतिनिधी तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।

  • २ महिनामा ४४ किलो चरस बरामद ।।

प्रदेश नम्बर ७ मा प्रहरीले गएको दुई महिनामा ४४ किलो चरेस बरामद गरेको छ । प्रहरी कार्यालय दीयापलले दिएको जानकारी अनुसार ७ नम्बर प्रदेशमा चरेस ओसार–प्रसार गर्ने ३६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । तस्करहरुले ७ नम्बरका विभिन्न नाका तथा छिमेकी देशका सीमा नाकालाई आधार बनाई लागुऔषध ओसार–प्रसार गरिरहेको प्रहरीको दावी छ । प्रहरीका अनुसार आगुऔषध ओसार प्रसार, बिक्रि वितरण तथा सेवन गर्नेमा सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेरका युवाहरु रहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा सादा पोशाकका प्रहरीहरुको संख्या बढी मात्रमा परिचालन भएपछि आगुऔषध ओसार प्रसार गर्ने तथा बिक्रि वितरण गर्नेहरु धमाधम पक्राउ पर्न थालेको ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी माधवप्रशाद नेपालले बताउनुभयो ।

 

  • डीपीएलको तयारी तीव्र ।।


आउँदो चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग ‘डीपीएल’ को औपचारिक तयारी सुरु भएको छ । धनगढीस्थित प्रहरी कार्यालयको मैदानमा पिच र मैदान मर्मत सुरु गरिएको छ । धनगढी प्रिमियर लिगका लागि पिच र मैदान मर्मत सुरु गरिएको छ भने ७०० बढी दर्शक अटाउने अस्थाइ प्याराफिट बनाउने तयारी छ । प्रतियोगिताका लागि फागुन ९ गते अक्सन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ । जसका लागि स्थानीय खेलाडीको ट्यालेन्ट हन्ट सम्पन्न गर्नुका साथै खेलाडीको वर्गीकरण पनि पूरा भएको छ ।

यसपटक पनि मैदान मर्मतका साथै पिच निर्माणका लागि क्युरेटर अजय पाण्डेलाई काठमाडौंबाट झिकाइएको छ । अघिल्लो संस्करणमा मैदानको पिच स्लो भएकाले खेलाडीले केहि आलोचना गरेकोमा यसपटक पुर्ण रुपमा फरक हुने पाण्डेको भनाई छ । अहिले मैदान सम्याउने टप स्वेलिङको काम भरहेको छ । अघिल्ला संस्करण भन्दा प्रतियोगितालाई भव्य बनाउन विदेशी अम्पायरका साथै विदेशी क्युरेटर पनि ल्याउने आयोजकले जनाएको छ ।

अनुमानित ३ करोड लागत रहेको डीपीएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, २ विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पाउनेछन् ।  प्रतियोगिताको कुल पुरस्कार राशी ५० लाख रुपैयाँ हुने आयोजकले जनाएको छ ।

 

मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न ।।


‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजक धनगढी जेसीज र सेती अंचल अस्पतालका कर्मचारीहरु बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । धनगढी रंगशालाको मैदानमा भएको खेलमा सेती अंचल अस्पतालले आयोजक धनगढी जेसीजलाई ३–२ को अन्तरले ट्रफी जित्न सफल भएको छ । सेती अंचल अस्पतालका तर्फबाट सन्तोष डि.सी उत्कृष्ट गोलकर्ता, रमेश शाही उत्कृष्ट खेलाडी घोषित भएका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजक रहेको धनगढी जेसीजका अध्यक्ष यज्ञ राज ओझाले खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेको धनगढी जेसीजका कार्यकारी उपाध्यक्ष एवं मैत्रीपूर्ण फुटबल प्रतियोगिताका संयोजक कमल राज पनेरुले जानकारी दिए ।  

<