दैनिक खबर पत्रिका

२०७४ माघ २६ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

  • कञ्चनपुरको बनदेवी मन्दिरमा महात्माले गरे महात्मा कै हत्या ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ माघ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका एक जना महात्माले अर्का महात्माको हत्या गरेका छन् । लगभग ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा आज साँझ ती दुई जना महात्मा बीच एक आपसमा झगडा हुँदा यस्तो घटना घटेको हो । हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएकाले उनको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटनाका विषयमा थप विवरण आउन बाँकी छ । 

 

 

  • आजदेखि सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ माघ ।
सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु आजदेखि दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी भएका छन् । लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलनका कार्यक्रम अन्तरगत आज देखि २८ गते सम्म सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागी हुने सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिका अध्यक्ष विर बहादुर सिंह ठकुरीले बताउनु भयो । माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।

 

सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले हिजो ‘गैरजिम्मेदार पदाधिकारी जिम्मेवार बन’ उल्लेख गरिएका कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा झुण्ड्याएको थियो । विभिन्न समयमा केन्द्रीय क्याम्पसमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाए पनि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गरेको भन्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधार संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । तर यस आन्दोलन अवधि भर विद्यार्थीको पढाईमा भने कुनैपनि कमि नगरिने र पढाईलाई निर्वाध रुपले अघि बढाउने अध्यक्ष ठकुरीले बताउनु भयो ।

 

  • आफ्नै भतिजा द्वारा काका माथी ज्यानै लिने गरि आक्रमण ।।

भास्कर के.सी., कञ्चनपुर, २६ माघ । 
कञ्चनपुरको भिमदत्त नगरपालिका १३ पिपरैया बस्ने डम्बर दत्त भट्टका छोरा ३० वर्षिय तिर्थ राज भट्ट र ३३ वर्षिय राम प्रशाद भट्टले आफ्नै सहोदर काका वर्ष ६० का जय राज भट्टलाई कोकाकोलाको बोत्तलले प्रहार गरेर घाईते बनाएका छन् । घाइते भट्टको भारतको खटिमा स्थित तपन अस्पतालको आईसियु कक्षमा राखेर उपचार भइरहेको छ । उनको टाउकाको हाड फुटेको अस्पतालले जनाएको छ । 

 

दुवै आरोपीहरुको नाममा ज्यान मार्ने उद्योग दर्ता गरी कारबाही अगाडि बढाएको र एक जना आरोपीलाई प्रहरीले प्रक्राउ गरी आज नै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताउनु भयो । घरायसी विवादलाई लिएर तिनीहरुले यो भन्दा पहिले पनि पटक पटक आक्रमण गर्न खोजेको तर सफल हुन नसकेको परिवार स्रोतले जनाएको छ । घर नजिकै रहेको साझा चौराहा नजिक आफ्नै पसलमा बसेको बेला आक्रमण गरि घाइते बनाएका हुन् । स्वास्थ्यमा सुधार आउन अभैm कम्तीमा १० दिन लाग्ने अस्पतालले जनाएको छ ।

 

  • विपन्न तथा अवसरबाट बञ्चित मुक्त हलियाका युवाहरुलाई मोवाईल मर्मत तालिम ।।

राजेन्द्र प्रसाद पनेरु, कञ्चनपुर, २६ माघ । 
विपन्न तथा अवसरबाट बञ्चित कञ्चनपुरका मुक्त हलियाका युवाहरुका लागि दुई महिने मोवाईल मर्मत सम्बन्धि तालिमको आज शुक्लाफाँटा नगरपालीकाको झलारीमा सुभारम्भ गरिएको छ । ब्रिज परियोजना अन्र्तगत विश्व श्रम संगठनको सहयोगमा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिममा २५ जना मुक्त हलियाका युवाहरुको सहभागीता रहेको छ । तालिमको सुभारम्भ गर्दै शुक्लाफाँटा नगरपालीकाका नगर प्रमुख दिल बहादुर ऐरले मुक्त हलियालाई एक दशक अघि विना पूर्व तयारी मुक्त गरिदा अबस्था कष्टकर रहेको बताउनु भयो ।


नदी र सामुदायिक वन छेउमा छाप्रा बनाएर बस्दै आएका मुक्त हलियाका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनका लागि नगरपालीका कार्यालय सहकार्य गर्न तयार रहेको बताउनु भयो । विपन्नता बाट मुक्ति दिलाउनका लागि मुक्त हलियाका युवाहरुका लागि अझै तालिमको खाँचो रहेको चर्चा गर्नु हुदै उहाँले यसका लागि नगरपालीका बाट सहयोग उपलव्ध गराईने बताउनु भयो । नगरपालीकाका उप नगरप्रमुख तुलसी हमालले तालिम बाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गर्नु भयो । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दातृ निकायको सहयोगमा हाल सम्म मुक्त हलिया परिवारका दयनीय अबस्था भएका पाँच सय बढी युवाहरुलाई स्वरोजगार सम्बन्धि तालिम प्रदान गरिएको बताउनु भयो । कष्टकर जीवन विताउदै आएका मुक्त हलिया परिवारलाई छिटो पुनः स्थापन गर्नका लागि स्थानिय तहको समेत पहल हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

 

  • छाउपडी प्रथा उन्मुलनका लागि अभिमुखिकरण कार्यक्रम ।।

राजेन्द्र प्रसाद पनेरु, कञ्चनपुर, २६ माघ । 
छाउपडी प्रथा उन्मुलनका लागि समुदायका अगुवाहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम आज देखि शुक्लाफाँटा नगरपालीकामा शुरु गरिएको छ । कार्यक्रमको नगरपालीकाका नगर प्रमुख दिल बहाुदर ऐरले व्यानर पढेर उद्घाटन गर्नु भएको छ । कार्यक्रम उद्घाटन गर्नु हुदै उहाँले कुरितिका रुपमा छाउपडी प्रथा उन्मुलनका लागि समुदायमा जनचेतनामूलक शिक्षाको खाँचो रहेको बताउनु भयो । सचेतना शिक्षा र स्वास्थ्यका कार्यक्रमलाई ठोस रुपमा अगाडी बढाउनु पर्ने उहाँले बताउनु भयो । 

 

नगरपालीकाका उपप्रमुख तुलसी देवी हमालले छाउपडी प्रथाले महिलाहरुकै कारणले प्रश्रय पाउदै आएको बताउनु भयो । आफै बाट यस प्रथालाई हटाउनु पर्नेमा उहाँले जोड दिनु भयो । नगरपालीकाका प्रशासकीय अधिकृत शेर बहादुर बुढाले समाजमा सकारात्मक सोचको विकास गरी छाउपडी प्रथालाई हटाउनु पर्ने बताउनु भयो । महिला तथा बालबालीका शाखाका प्रमुख राधिका पन्तले छाउपडी प्रथा बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा विद्यालयका शिक्षिका, महिला वडा सदस्य, धामी, झांक्रि लगायत सरोकारवालाहरुको सहभागीता रहेको छ ।

 

  • स्वर्गिय सुशील कोईरालाको सम्झना ..


नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका तत्कालिन सभापति स्वर्गिय सुशील कोइरालाको दोस्रो स्मृति दिवसका अवसरमा आज उहाँलाई स्मरण गरिदैछ । कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वा्चित कोईरालाले २०७२ सात असोज तीन गते संविधान जारी गराउन महत्वपुर्ण भूमीका खेलेकाले उहाँलाई संविधान पिताको रुपमा पनि स्मरण गरिन्छ । त्यही बर्षको माघ २६, राती १२ः५० बजे काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा कोइरालाको निधन भएको हो । पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मेपनि कोइरालाको बसोबास भने बुबा वन अधिकृत भएकाले जागीरका सिलसिलामा बाँके पुगेपछि स्थायी बसोबास नेपालगञ्जमै हुन थालेको हो ।

 

बाँके जिल्लाबाट उहाँ तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ मा निर्वा्चित हुनुभयो भने संसदिय दलको नेतामा बर्तमान प्रधानमन्त्री शेरबहादुर देउबासँग पराजित हुनु भएको थियो । २०७० मा भने बाँके र चितवन दुवै ठाँउबाट जितेपछि उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यसअघि उहाँले ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गर्नु भएको थियो ।

 

२००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष भारतमा बिताउनु भएको थियो । २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति, कार्यवाहक सभापति, सभापति र प्रधानमन्त्री सम्म बन्नुभयो । समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा रहेको थियो । सादा र निश्वार्थी नेताका रुपमा उहाँलाई नेपाली काँग्रेस र उहाँका समर्थकहरुले स्मरण गर्दै विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरेका छन् ।

 

  • एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ः नेता नेपाल ।।


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताउनुभएको छ । शुक्रबार टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा मात्र रहने बताउनुभयो । ‘२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ’, उहाँले भन्नुभयो– ‘अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ ।’

 

उहाँले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राख्नुभयो । नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको भन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताउनुभयो । ‘कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ’ उहाँले भन्नुभयो– ‘पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मकरुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ ।’ 

 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताउनुभयो । उहाँले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताउनुभयो । दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ रहेको थियो । उहाँले वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने बताउनुभयो ।

 

  • झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताए ः पूर्व प्रधानमन्त्री नेपाल ।।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालले झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताएको आरोप लगाउनुभएको छ । धनगढीमा विद्युत प्राधिकरण कर्मचारी युनियनको १० औँ केन्द्रीय सभाको उद्घाटन गर्दै उहाँले विद्युत माफियाहरुप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । झोलामा खोला राखेर जथाभावी जलविद्युत आयोजनाका नाममा लाइसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भएको उहाँको  आरोप थियो । देश विकासका सबै कामहरु अगाडि बढाउन विद्युत आवश्यक पर्ने भएकोले जलविद्युत उत्पादनमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । अर्को प्रसंगमा बोल्दै नेता नेपालले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताउनुभयो ।

 

  • प्रदेश ७ को सभामुखमा अर्जुन बहादुर थापा ।।


प्रदेश नम्बर ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार हुने सभामुख पदको मनोनयनका लागि थापालाई आधिकारिक रूपमा उम्मेदवार बनाउने एमालेले जनाएको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावल र सहसंयोजक कर्णबहादुर थापाले सभामुखको उम्मेदवारी टुंगो लगाएका हुन्  । ‘दुवै नेता सांसद थापाका पक्षमा सकारात्मक हुनुहुन्छ’ एमालेका एकजना नेताले भन्नुभयो – ‘उहाँको उम्मेदवारीबारे औपचारिक रूपमा घोषणा गर्न मात्रै बाँकी छ, सबै कुरा मिली सक्यो ।’ प्रदेश नम्बर ७ मा सभामुखको लागि शनिबार मनोनयनपत्र दाखिला र २९ गते चुनाव हुँदैछ । प्रदेश नम्बर ७ मा एमालेका २५,  माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका दुई जना सांसद रहेका छन् ।

 

  • काँग्रेस बैतडीको उप–सभापतिमा चन्द ।।

नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ । जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क ९३० बमोजिम जिल्ला कार्यसमितिका पदाधिकारीमा निर्वा्चित कार्यसमिति सदस्य÷महासमिति सदस्य÷महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ । नेपाली काँग्रेस बैतडीको १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको दुई वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली काँग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप–सभापतिमा मनोनीत गरिएको सभापति थापाले बताउनुभयो । उप–सभापतिमा मनोनीत चन्द यसअघि नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो । 

  • विमानस्थलमा उपकरण राखिदै ।।

धनगढी विमानस्थलमा रात्रिकालिन उडान भर्न सकिने उपकरण जडान हुने भएको छ । जापानी सहयोग नियोग (जाईका) को सहयोगमा विमानस्थलमा भीओआरडीएमई (रात्रिकालिन उडान भर्न सकिने उपकरण) जडान हुन लागेको हो । उपकरण राख्नका लागि ठेक्का पाएको कम्पनी र नेपाल नागरिक उड्ययन प्राधिकरणका प्राविधिकहरुले विमानस्थलको स्थलगत अनुगमन गरेका छन् । प्राविधिक टोलीले उपकरण राख्न अधिग्रहण गरेको जग्गाको भौगोलिक अवस्थिति हेरेको हो । टोलीमा सहभागी नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक संजिवसिंह कठायतले अधिग्रहण गरिएको जग्गा भीओआरडीएमई उपकरण राख्नका लागि उपयुक्त देखिएको बताए । भीओआरडीएमई राख्न सके खराब मौसमका कारण विमान सेवा रद्द गर्नुपर्ने अवस्था नरहने उपनिर्देशक कठायतले बताए । 

जापानमै टेण्डर भएर निर्माण कम्पनीका प्राविधिक स्थलगत अध्ययनका लागि यहाँ आईपुगेका हुन् । एक वर्ष्भित्रै उपकरण जडानको कार्य सकिने प्राधिकरणले जनाएको छ । धनगढी विमानस्थलमा भीओआरडीएमई उपकरण नहुँदा रात्रिकालिन उडान हुन सक्दैन भने हुस्सु लागेका बेला हिउँदयाममा उडान रद्द हुने गरेका छन् । यस वर्ष पुसयतामात्र हुस्सुका कारण १६ दिन उडान रद्द भएको नागरिक उड्ययन प्राधिकरण धनगढीले जनाएको छ । प्राधिकरणका प्रमुख छविसिंह ठगुन्नाले भीओआरडीएई उपकरण नहुँदा हवाई सेवा प्रभावकारी हुन नसकेको बताए । उडान रद्द हुँदा यात्रुले सास्ती भोग्ने गरेका छन् । प्रदेश नम्बर सातमा नियमित रुपमा संचालित एकमात्र धनगढी विमास्थलमा निजि क्षेत्रका वुद्ध, सौर्य र श्री यअरसाईन्स तथा नेपाल एअरसाईन्सले काठमाण्डौं–धनगढी दैनिक १÷१ वटा उडान भर्ने गरेका छन् । 

‘हुस्सुका कारण उडान प्रभावित हुने भएकाले खासगरी हिउँदयाममा हवाई सेवा भरपर्दो छैन ।’ ठगुन्नाले भने, ‘हुस्सु लागेका बेला भिजिविलिटी नपुग्ने भएकाले उडान रद्द हुने गरेको छ ।’  उपकरणको सहायता विना अवतरणका लागि १५ किलोमिटरको भिजिविलिटी आवश्यक पर्ने उनले बताए । भीओआरडीएमई उपकरण जडान भए हुस्सुका बेला र रात्रिकालिन उडान भर्न सकिने भएकाले हवाई सेवा प्रभावकारी हुने उनले बताए ।३० मिटर चौडा र एक हजार ८ सय मिटर लामो कालोपत्रे धावन मार्ग भएको धनगढी विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलपछि दोश्रो लामो धावन मार्ग भएको विमानस्थल हो । जग्गा अधिग्रहण प्रकृया सकिए यो विमानस्थलको क्षेत्र ७० विघा पुग्ने छ । जग्गा अधिग्रहणमा अल्झिदा लामो समयदेखि विमानस्थल स्तरोन्नतिको काम हुन सकेको छैन ।  यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित नारदमुनी रानाले धनगढी विमानस्थलको स्तरोन्नति प्रदेश नम्बर सातको प्राथमिकताको योजना भएको बताएका छन् । आफू निर्वा्चित भईसकेपछि स्तरोन्नतिका लागि पर्यटन मन्त्रालय तथा नागरिक उड्ययन प्राधिकरणमा गएर पहल गरेको बताए ।

  • जोखिम  यात्रा गर्न बाध्य डोटीका स्थानिय ।।

डोटीका ग्रामिण सडक निर्माण भएको बर्षौ बितिसक्दा समेत ग्राभेल नगरिदा स्थानियबासीहरु जोखीम मोलेर यात्रा गर्न बाध्य भएका छन् । यहाँका दजर्नौ ग्रामिण सडकहरु पिच हुन त कहा हो कहाँ ग्राभेल समेत नगरिदा स्थानियहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् । कैलालीको सहजपुर देखी डोटीको बिपिनगर हुदै बोगटान जोड्ने सडक निमार्ण कार्य सुरु भएको करिब २० बर्ष भन्दा बढी बिति सक्दा पनि उक्त सडकमा ग्राभेलको काम समेत नगरिदा यात्रुहरु आफनो ज्यान धराममा राखेर यात्रा गर्न बाध्य भएको बड्डीकेदार गाउपालिका ५ का स्थानिय रोजबहादुर कललेलले बताउनु भयो ।


उहाँले भन्नु भयो ‘सडक पिचको त हामीले कल्पना सम्म गरेका छैनौ तर ग्राभेल समेत नगरिदा हामीलाई यात्रा गर्नमा निकै समस्या हुने गरेको छ,हामीलाई पिच होईन ग्राभेल गरिदिएपनि सहज हुन्थ्यो ।’ बिशेष गरी सो सडकको बिपिनगर अन्र्तगत बागछेडा, सुवाखान,भक्तपुर, सहजपुर लगाएको क्षेत्रमा पनि ग्रभेल गरिएको भए स्थानियहरुको यात्रा सहज हुने देखिन्छ । उक्त सडकमा ग्राभेल त परै जाओस सडकको स्तर उन्नती समेत नहुँदा अत्यन्तै जोखिम मोलेर गाडी सञ्चालन भइरहेको सुदूरपश्चिम बस ब्यबसायी समितिका बस चालक दीर्घ साँउदले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक सतह पुरै रातो माटोले चिप्लो छ,ग्राभेल गरिएको छैन,भगवान भरोसामा गाडी चलाई रहेका छौ,कतिबेला के हुन्छ था छैन् ।’ 


सडक निमार्ण भएपछि खुसी भएका स्थानीयहरु यतिबेला सडक जिर्ण हुँदा कसैको ध्यान नगएको भन्दै आक्रोसित समेत बनेका छन् । पटक पटक सरोकारवाला निकायलाई आग्रह गर्दा पनि सुनुवाई नभएको उनिहरुको गुनासो छ । ‘नेता मन्त्रीहरुलाई धेरै पटक आग्रह गरिसकिएका छौ तर कसैको ध्यान गएको छैन’ बिपिनगरका स्थानीय भोजबहादुर देउवाले भन्नु भयो ‘यो सडक बनाएको २० बर्ष भन्दा बढी भइसकेको छ तर स्तरउन्नतीको त कुरै छाडौं बिग्रेको मर्मत र सबै ठाउमा ग्राभेल सम्म हुन सकेको छैन ।’ स्थानियबासीका अनुसार सहजपुर देखी डोटीको बागछेडा सम्म करिब २६ किमि दुरी रहेको छ । उक्त सडकका बिभिन्न भागमा अहिले सम्म पनि ग्राभेल नगरिदा स्थानियबासी आक्रोसित बनेका छन् ।

 

  • दार्चुलाको दुर्गममा नून बिक्री विवाद ।।

दार्चुलाको अत्यन्त विकट अपी हिमाल गाउँपालिकामा नून बिक्री गर्ने सवालमा दुई सरकारी निकायबीच विवाद उत्पन्न भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट नून किनेर बिक्री गरिरहेको स्थानीय सरकार र कर्पोरेशनबीच नै विवाद देखिएको हो । अत्यन्त दुर्गममा पर्ने उक्त गाउँपालिकाका स्थानीयलाई सस्तोमा नून उपलब्ध गराउने भन्दै अपी हिमाल गाउँपालिकाले नून बिक्री गरिरहेको छ । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पाँच सय क्वीन्टल नून साल्ट ट्रेडिङबाट खरिद गरेको छ । तर, स्थानीय सरकारले प्रति पोका नौ रुपैयामा खरिद गरेको अनुदान नूनलाई २५ रुपैयामा बेचिरहेको र धनगढीबाट ढुवानी भएको नूनलाई बिक्री गर्न नदिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले आपत्ति जनाएको छ ।


कर्पोरेशनका सह–महाप्रबन्धक केशवप्रसाद पाण्डेयले न्यून मूल्यको साल्ट ट्रेडिङको नून अपी हिमाल गाउँपालिकामा पुगेपछि सो गाउँपालिकाले बिक्री गर्न नदिएको बताए । ‘बिक्री नभएपछि ढुवानी भएको नून ओखल डिपोमा स्टक राखिएको छ’, उनले भने–‘हामीले जनतालाई नौ रुपैयामै नून दिन खोज्दा बिक्री गर्न दिइएको छैन । गाउँपालिकाले यहि नून २५ रुपैयामा बिक्री गरिरहेको छ ।’ 

 

पहाडी क्षेत्रका लागि पठाइने भानु शक्ति नूनको मूल्य साल्ट ट्रेडिङले प्रति पोका नौ रुपैया कायम गरेको छ । यसवर्ष अपी हिमाल गाउँपालिकाको लागि एक हजार क्वीन्टल नूनको कोटा निर्धारण भएको छ । जसमध्ये २७० क्वीन्टल ढुवानी गरेर ओखलसम्म पु¥याइएको छ । यो नून ढुवानी हुनुभन्दा अगाडि नै अपी हिमाल गाउँपालिकाले दार्चुला स्थित गोकलेश्वरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनकै डिपोबाट पाँच सय क्वीन्टल नून आफै बिक्री गर्ने भन्दै खरिद गरेको थियो । 

 

गोकलेश्वरबाट अपी हिमाल गाउँपालिकासम्म पु¥याउँदा ढुवानी खर्च करिब १५ रुपैया परेकाले मूल्य समायोजन गरेर २५ रुपैयामा नून बिक्री गरेको सो गाउँपालिकाका अध्यक्ष धर्मानन्द मान्यालले बताए । धनगढीमा पत्रकार सम्मेलन गरी उनले गाउँपालिकाले खरिद गरेको नून बिक्री नहुँदासम्म ढुवानी नगर्न आग्रह गरे पनि साल्ट ट्रेडिङले कमिशनको चक्करमा ढुवानी नरोकेको दावी गरे । ‘झण्डै पाँच लाख रुपैया लगानी गरेर हामीले खरिद गरेको नून फागुन महिनासम्म बिक्री भइहाल्छ, तबसम्म ढुवानी नगरिदनुस भनेर मैले साल्ट ट्रेडिङ धनगढीलाई पटक–पटक आग्रह गरेको थिए’, अध्यक्ष मान्यालले भने–‘तर, उहाँहरुले मान्नु भएन । मैले सुनेको छु । ढुवानीमै कर्मचारी र ठेकेदारबीच ठूलो कमिशनको चलखेल छ ।’


गाउँपालिकाले खरिद गरेको सबै नून बिक्री नहुँदै साल्ट ट्रेडिङले कोटा अन्तर्गतको नून ढुवानी गरेपछि दुवै निकायबीच आरोप प्रत्यारोप सुरु भएको हो । अहिले न गाउँपालिकाको नून बिक्री भएको छ । न त साल्ट ट्रेडिङको नै । गाउँपालिकाले २५ रुपैयामा बिक्री गरिरहेको नून कालो छ, खानु हुन्न भन्दै व्यापारीहरुले हल्ला फैलाएपछि तीन सय क्वीन्टल नून बिक्री हुन बाँकी रहेको अध्यक्ष मान्यालले बताए । ‘हामीसंग भएको नून बिक्री नै भएको छैन । तै पनि मैले फागुन महिनासम्म मात्रै पर्खि दिनुहोस भनेर साल्ट ट्रेडिङलाई आग्रह गरेको छु’, उनले भने–‘यदि, साल्ट ट्रेडिङको ढुवानी भएको नून गोदाममै रह्यो भने गाउँपालिकाले किन्छ भनेको छु ।’

 

ढुवानी भएको नून बेच्नका लागि साल्ट टर््े्डिङ कर्पोरेशनले प्रमुख जिल्ला अधिकारी समेतलाई फोन गर्न लगाएर आफूलाई दुःख दिइरहेको अध्यक्ष माल्यालले आरोप लगाए । नून बिक्री गर्ने सवालमा दुई सरकारी निकायले आरोप प्रत्यारोप गरिरहँदा अपी हिमाल गाउँपालिकावासीले प्रति प्याकेट ५० रुपैयामा व्यापारीको नून खरिद गरेर खानु परिरहेको जनाइएको छ । गाउँपालिकाको नून कालो छ भनेर हल्ला फैलाएका व्यापारीहरुले सर्वसाधारणलाई महङ्गोमा नून बेचिरहेको वडा नम्बर ३ का अध्यक्ष समुन्द्रसिंह कार्कीले बताए ।  साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले भने दार्चुला पुगी सकेको नून समयमै बिक्री गर्न नपाए कोटा अनुसारको नून ढुवानी गर्न समस्या हुने जनाएको छ । 

 

नून ढुवानी सम्झौता अवधि अब दुई महिनामात्रै बाँकी रहेको जनाउँदै सह–महाप्रबन्धक पाण्डेयले भने–‘चैत महिनाभित्र थप ढुवानी गर्न नपाएमा हामीले ठेकेदारलाई कारबाही गर्नु पर्ने हुन्छ । जबकी उसको दोष छैन ।’ प्रदेश नम्बर ७ मा वार्षिक एक लाख ७५ हजार क्वीन्टल नून खपत हुने गरेको छ । अहिले यो प्रदेशमा करिब ८० प्रतिशत आयोडिनयुक्त नूनको प्रयोग छ । खास गरेर तराईको सीमा क्षेत्र र पहाडी जिल्लाको केहि क्षेत्रमा आयोडिनयुक्त नूनको प्रयोग कम रहेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले जानकारी दिएको छ । 

 

  • सुनको भाउ बढ्यो ।।


सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

  • कञ्चनपुरको पुनर्वासमा भएको भेट्रान फुटबलको उपाधि अरनिको भेट्रान्सलाई ।।


किशोर तामाङ, कञ्चनपुर, पुनर्वास, २६ माघ । 
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. १ मा रहेको शान्ति युवा क्लब, अंशुवर्मावस्तीले आयोजना गरेको मैत्रीपुर्ण भेट्रान फूटबल प्रतियोगिताको उपाधि अरनिको भेट्रान्सले हात पारेको छ । माघ २३ गतेबाट सञ्चालित मैत्रीपूर्ण फुटबल खेलमा दक्षिणी भेगका ८ वटा भेट्रान्स टिमले सहभागिता जनाएका थिए । 

 

समूह क बाट प्रतिस्पर्धा गर्दै सेमिफाईनलमा राम बस्ती भेट्रान्सलाई ०–२ गोलको अन्तरले पाखा लगाए पश्चात अरनिको भेट्रान्स फाइनल प्रवेश गरेको थियो भने समुह ख बाट आफ्ना प्रतिद्वन्दी भेट्रान्सलाई पछि पार्दै सेमीफाईनलमा बिरेन्द्र भेट्रान्सलाई पेनाल्टी सुट आउटबाट पाखा लगाउँदै भानु भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।

 

शुक्रबार भएको फाइनल खेलमा अरनिको भेट्रान्स अरनिको बस्ती र भानु भेट्रान्स ग गाउँ बीच कडा प्रतिस्पर्धा भएको थियो । उक्त फुटबल प्रतियोगिताको फाईनल खेलमा १ गोलको विरुद्ध ४ गोल प्रहार गरी अरनिको भेट्रान्सले आफ्नो जित सुनिश्चित गरेको हो । प्रथम हुनेलाई ४० किलोग्रामको जिउँदो खसी र द्वितिय हुने टिमलाई ३० किलोग्रामको खसी प्रदान गरिएको छ । 

 

भेट्रान्स फुटवल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथिमा पुनर्वास नगरप्रमूख जीवनराज थापा रहनुभएको थियो भने विशिष्ट अतिथिहरुमा वीर बहादुर थापा, राजकुमार रायमाझी, अतिथिमा अम्मर राज हडखले, नेले तामाङ, दाउत तामाङ, पदम पुजारा, टेक बहादुर थापा लगायत बुद्धिजिवी, शिक्षक तथा विभिन्न क्लबका अध्यक्षहरुको उपस्थिती रहेको थियो । करमलाल चौधरीको सभापतित्वमा सञ्चालन गरिएको उक्त समापन कार्यक्रमलाई कञ्चन गिरीले सञ्चालन गर्नुभएको थियो ।

<