दैनिक खबर पत्रिका

२०७४ माघ १९ गतेका उपलब्ध सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

 

  • प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस ।।

 

माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वा्चित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए । उनले भने, “अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए । 

 

 

बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वा्चित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन् । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । 

 

 

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वा्चित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताए । “पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ ।” सांसद मल्लले भने “छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ ।” प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वा्चित र आठ समानुपातिक गरी १२ सांसद छन् । 

 

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहनुभएका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताए । त्रिपन्नजना सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् । 

 

 

  • एमालेभित्र पनि लबिङ ।।

 

प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा (एमाले)लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा (एमाले) भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ । एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वा्चित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वा्चित प्रकाश शाह र कैलालीबाट निर्वा्चित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिएका छन् । 

 

संसदीय दलको नेताका लागि आकांक्षी देखिएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताए। आफू वरिष्ठ नेता भएका शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिए । “पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु ।” उनले भने, “सर्वसम्मतको प्रयास पनि हुन्छ ।” एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ । 

 

 

माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ । माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वा्चित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ ।

 

सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताए । “मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ ।” उनले भने, “अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु ।” उनले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताए । 

  • प्रदेशसभा बैठकका लागि डेरा खोज्दै सांसद ।।

 

माघ २१ गते हुने ७ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा सहभागी  हुन प्रदेशसभा सदस्यहरु धनगढी भित्रीने क्रम सुरु भएको छ । प्रदेश नम्बर–७ का ९ वटै जिल्लाका ५३ जना प्रदेशसभा सदस्यमध्ये अहिले अधिकाशं सासंद धनगढी पुगेका छन् । संसदीय दलको नेता बन्न र मन्त्री बन्नका लागि राजधानी काठमाडौंमा रहेका र आफ्नै गहृ क्षेत्रमा रहेका प्रदेशसभा सदस्यहरु प्रदेश नम्बर–७, को अस्थायी राजधानी धनगढी पुग्न थालेका हुन् ।

 


यस्तै प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी भएसँगै प्रदेश सदस्यहरुले धनगढीमा डेरा खोज्न सुरु गरेका छन् । ७ पहाडी जिल्ला, कञ्चनपुर र धनगढीभन्दा बाहिर घर भएका प्रदेशसभा सदस्यहरु धनगढी प्रदेशसभाको बैठकका लागि डोराको खोजीमा रहेका छन् ।
शपथ ग्रहण गरेर आ–आफ्नो क्षेत्र फर्केका प्रदेशसभा सदस्यहरुले निकटका मित्र तथा दलका सहकर्मीलाई कोठा खोजिदिन आग्रह गरेका छन् । कैलालीमै घर भएकालाई धेरै पिरलो नभए पनि अन्य ८ जिल्लाका सांसदले समयमै डेरा प्रबन्ध मिलाउन थालेका हुन् । बाजुराका प्रदेशसभा सदस्य प्रकाशबहादुर शाहले धनगढीमै डेरा खोज्न आफन्तलाई आग्रह गरेको बताउनुभयो ।

 


अधिकांश प्रदेशसभा सदस्यले, सुविधायुक्त ‘फ्ल्याट’ को खोजी गरे पनि डेरा नै खोज्न ठूलै समस्या भने नपरेको बताएका छन् । विभिन्न जिल्लामा राजनीति गर्दै आए पनि प्रदेशको केन्द्र भएको ठाउँमा बसेर आफ्नो क्षेत्रका लागि विकास निर्माणका योजनाहरु लैजान सकिने भएकाले धनगढीमै डेरा खोज्ने योजना रहेको दार्चुलाबाट प्रदेशसभा सदस्य गेल्वुसिंह बोहराले बताउनुभयो ।
कैलालीसँगै जोडिएको जिल्ला कञ्चनपुरका सांसद भने डेरा खोज्ने कि घरबाटै ओहोर–दोहोर गर्ने भन्ने दोधारमा छन् ।

 

केही सांसद प्रदेश सरकार गठन हुँदा मन्त्री बन्न पाइने आशमा पनि छन् । त्यसैले सरकार गठन नहुन्जेल डेरा नखोज्ने र स्थायी राजधानी भएपछि मात्रै डेराको चाँजोपाजो मिलाउने मनस्थितिमा पनि छन् । कोही सांसद भने तत्कालका लागि साथीभाई र आफन्तको घरमा पाहुना बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्यहरुले डेरा खोज्न थालेसँगै धनगढीमा पहाडी जिल्लाबाट आउनेहरुको चहल पहल पनि बढ्न थालेको छ ।

 

 

  • स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग ।।

 

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १९ माघ ।

 

थारू समुदायका भलमन्साहरूले सम्बन्धित स्थानीय तहहरूमा आफ्नो प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग गरेका छन् । थारू समुदायको नेतृत्वको रूपमा रहेका थारू भलमन्साहरूले स्थानीय तहमा हुने भेला, गोष्ठी, सेमिनार देखि विविध सामाजिक कार्य र स्थानीय तह मातहतका संघसंस्थाहरूमा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् । विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदाय र पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले समाजमा कुनै पनि कार्य गर्दा होस् अथवा कुनै समस्या आइपर्दा भलमन्सा, बडघर वा महतौहरूलाई सोधपुछ गरी उनीहरूकै सुझाव अनुसार काम गर्ने गर्दछन् । 

 

स्थानीय तहमा निर्वा्चित थुप्रै जनप्रतिनिधिहरू थारू समुदायकै रहेपनि सबै वडाको प्रतिनिधित्व हुने गरी आफुहरूलाई समाबेश गर्नुपर्ने माग राखेका हुन् । उनीहरूले थारू समुदायमा चलिआएको प्रथा अनुसार न्यायिक कार्य स्वयं थारू भलमन्साको नेतृत्वमा हुनुपर्ने समेत माग गरेका छन् । हाल सम्म राज्यबाट कुनै पनि सुविधा नलिई सामाजिक कार्य गर्दै आएको भएपनि परिवर्तित समय र महंगीले गर्दा राज्य र समाजलाई समृद्ध बनाउन तल्लीन थारू बडघर, भलमन्सा तथा महतौलाई तलब भत्ताको व्यवस्था गर्नु पर्ने माग गर्दै सम्बन्धित स्थानीय तहमा ज्ञापनपत्र बुझाएको भलमन्सा क्षेत्रिय समितिका अध्यक्ष फूल चरण चौधरीले बताउनु भयो । 

 

यसैबीच शुक्रबार कञ्चनपुरको पुनर्वास नगर तदर्थ भलमन्सा समितिले नगर भलमन्सा भेला कार्यक्रमको आयोजना गरी १३ बुँदे माग पत्र नगर प्रमुख जीवन थापा लगायत वडा अध्यक्ष र सम्बन्धित निकायमा पेश गरेका छन् । माग पत्रमा माघी, होली र आइतवारी पर्वमा सार्वजनिक विदा दिनुपर्ने, नगरस्तरीय थारू संग्रहालय निर्माण हुनुपर्ने, सामुदायिक विद्यालयमा अनिवार्य पदेन सदस्य रहने व्यवस्था गर्नुपर्ने, भलमन्साको अभिलेख संकलन गरी राख्नुपर्ने र थारूहरूमा देखिने सिकलसेल एनिमिया लगायतका विभिन्न रोगहरूको निदानका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नगर भलमन्सा संयोजक सुमन चौधरीले बताउनु भयो ।

 

  • शान्ति मावि शान्तिपुरको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

 

केशब भट्ट, रेडियो बेलौरी, कञ्चनपुर, १९ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ स्थीत शान्ति माध्यमिक विद्यालय शान्तिपुरको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा सभापती विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनबहादुर चौधरी रहनु भएको थियो । 

 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कञ्चनपुर क्षेत्र नं. १ ख का सांसद कुलविर चौधरीले कार्यक्रमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै निजी विद्यालयमा विद्यार्थीका अभिभावकहरुले राम्रो ख्याल गरेर अध्ययन गर्न पठाउने तर सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अभिभावक बाट राम्रोसङ्ग ख्याल नगरेर विद्यालयमा अध्ययन गराउने बानिले गर्दा सामुदायीक विद्यालयको अस्तित्वमा कमि आउन लागेको बताउदै आफ्ना छोराछोरी , भाई बहिनीहरुलाई निजी विद्यालय भन्दन सामुदायीक विद्यालयमा अध्ययन गराउन अनुरोध गर्नुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथी बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले यस विद्यालयमा प्राविधीक विषय अध्ययन भइरहेकोमा खुसी व्यक्त गर्दै अबका दिनहरुमा यस बेलौरी नगरपालिकामा प्राविधकि शिक्षाको आवश्यकता भएकोले त्यसका लागी पनि पहल गर्ने बताउनुभयो । 

 

कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्षहरु , पुर्व शिक्षकहरु तथा पुर्व विद्यार्थी सङ्ठगनलाई सम्मान गरीएको थियो । कार्यक्रममा कञ्चन बैङ्क लिमिटेड शाखा बेलौरीका शाखा प्रमुख , शान्ति माध्यमिक विद्यालयका पुर्व विद्यउार्थी तथा पुर्व शिक्षक रहनुभएका रमेश शर्माले केहि खेलाडीहरुका लागी ड्रेस सहित अन्य सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले बताउनु भयो । 

 

  • विज्डम एकेडेमीले पहिलो पटक विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ (अ मेगा क्विज कन्टेस्ट) आयोजना गर्ने ।।

 

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १९ माघ ।
कञ्चनपुरको बेलौरीमा रहेको विज्डम एकेडेमीले पहिलो पटक विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ अ मेगा क्विज कन्टेस्ट आयोजना गर्ने भएको छ । एसयीयी अर्थात कक्षा १० को गणित र विज्ञान विषयसंग सम्बन्धित क्विज भोली माघ २० गते शनीबारका दिन मध्याह्न १२ बजेबाट विज्डम एकेडेमीमा गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक टेक बहादुर शाहीले बताउनु भयो । विज्डम ट्यालेन्ट क्वेस्ट २०७४ मा प्रथम पुरुस्कार नगद रु. ३ हजार ५ सय, द्वितीय पुरुस्कार नगद रु. २ हजार ५ सय, तृतीय पुरुस्कार नगद रु. १ हजार ५ सय र अन्य सान्त्वना पुरुस्कार समेत राखिएको संयोजक शाहीले जानकारी दिनुभयो ।

 

 

  • इण्डो नेपाल पर्यटन ब्यापार मेला ।।

 

इण्डो नेपाल पर्यटन ब्यापार मेलाको आज भारतको उत्तराखण्डका मुख्य मन्त्री तृदेब सिङ रावत र नेपाल का बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द्ले उद्घाटन गरेका छन । नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष भवानी राणा को सभापतित्वमा शुरु भयेको मेला उद्घाटन समारोहमा भारतका बिधान सभा सदस्य कुवर मन्जित सिह च्याम्पियन, गणेश जोशी, खजान दास, लगायत को उपस्थिति रहेको थियो । कंचनपुर उद्योग बाणिज्य संघ का अध्यक्ष सुरेश रावलले स्वागत गरेका थिए । मेला  ५ दिन सम्म चल्नेछ ।

 

  • डडेल्धुराको परशुराम नगरपालिकाको बिकासका लागि आफु लागि परेको ः परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउद ।।

 

डडेल्धुराको परशुराम नगरपालिकाको बिकासका लागि आफु लागि परेको परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउदले बताउनु भएको छ । सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाले बिकास निर्माणमा थुप्रै चुनौति रहे पनि परशुराम नगरापलिकाका लागि समृद्धि नगरपालिका बनाउने कार्यका साथ आफु अगाडि बढिरहेको बताउनु भएको छ । परसुराम नगरपालिकामा थुप्रै बिकासका सम्भाबना भए पनि चुनौति पनि थुप्रै रहेको उहाको भनाई छ । परसुराम नगरपालिकामा बिभिन्न सडक सञ्जाल संग जोड्ने सडकहरुको बिस्तारका लागि नगरपालिका भित्र थुप्रै योजनाहरु अगाडि बढाईएको मेयर साउदले बताउनु भएको छ ।

 

नगरपलिकामा अत्याबश्यकिय सुबिधाहरुको बिस्तार र सर्बसुलच पहुँचका लागि सबैको सहयोगका साथ अगाडि बढिरहेको समेत उहाले बताउनु भएको छ । परशुराम नगरापलिकामा रहेको परशुरामधामको बिकास ,बिस्तारका लागि गुरु योजनाका साथ कामहरु अगाडि बढार्र्ईएको बताउनु भएको छ । नगारपालिकाका भित्र अ ब्यबस्थित बसोबासको समस्या रहेकोले उनिहरुको समस्याको समाधानका लागि समेत पहल गरीरहेको बताउनु भएको छ । बर्षेनि रंगून र पन्तुरा नदिको कटान रोक्नका लागि तटबन्ध निर्माणको काम समेत भईरहेको नगर प्रमुख साउदले बताउनु भएको छ ।

 

 

  • सुनको मूल्य बढ्यो ।।

सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।


 

<