विचार

नेता र बुद्धिजीवी

नेपालका नेताहरूको बारेमा धेरैलाई थाहा छ ।  हाम्रा नेताहरू बोलीको ठेगान नभएका, आफ्नै पार्टीको सिद्धान्त नबुझेका, अध्ययनको कब्जियत लागेका मानिस हुन् भनेर जनताले चिनेका छन् ।  तर नेताहरू चाहिँ आपूmलाई एकैचोटी परम ज्ञानी, महान् दार्शनिक, कुशल प्रशासक, परराष्ट्रविद् जस्ता सबै अङ्ग बुझेको महान् राजनेताको परिचय दिन गाह्रो मान्दैनन् ।  तर धरातलीय यथार्थ यस्तो छैन ।  आपूm र आफ्नो परिवार बाहेक अरू कसैलाई नचिन्ने, लोकलाज नभएका र जथाभावी बोल्ने हुनाले नागरिकमा उनीहरू दिनानुदिन विस्थापित पनि भइरहेका छन् ।  तर आफ्नो स्खलनको ज्ञान पनि उनीहरूमा छैन ।  नेता हुनु भनेको निरन्तर अध्ययन गरिरहनु, नागरिकको मागलाई जस्ताको तस्तै बुझ्नु र उनीहरूप्रति समर्पित हुनु हो ।  नेता हुनु भनेको गोठाला पाल्ने गाउँको जमिन्दार अथवा हुक्के बैठकेको चाकरी खाएर बस्ने नेपालको जमिन्दार होइन ।  त्यो हो देशको, हावाहुरीसँग जुधेर ठिङ्ग उभिने सतिसाल जस्तो जनताको रक्षक । 
अहिले चर्चामा र सत्तामा रहेका कुनै नेता यस्ता छन् ? छैनन् ।  स्थिति कतिसम्म हास्यास्पद छ भने ‘भारतीय मूलके मधेसी’ को हलो अड्काइलाई अहिलेका प्रधानमन्त्री पुुष्पकमल दाहाल र सत्ता सञ्चालनका संयोजक शेरबहादुर देउवाले मधेशी नागरिकको मागको रूपमा बुझिरहनुु भएको छ ।  मधेशी नागरिक र स्वयम्भू मधेशी नेताको मागका बीचका कुनै साइनो सम्बन्ध छैन ।  तर ‘निर्वाचन गर्न मोर्चालाई मनाउनु पर्छ’ भन्ने रटानले उहाँहरूको ज्ञान र मानसिकताको प्रदर्शन गरिरहेको छ ।  सत्य के हो भने मधेशी मोर्चाका नेताहरू आपूm ठाडै पराजित हुने चुनावमा कुनै हालतमा पनि जान चाहँदैनन् ।  किनभने ओरालो लागेको मोर्चाको हैसियत पटक पटक सार्वजनिक भइसकेको छ ।  पहिलो उदाहरण थियो, दोस्रो संविधानसभाको निर्वाचनमा उनीहरूले भोग्नु परेको पराजय, त्यसपछि मारकाटको आततायी कैलाली काण्ड ।  दोस्रो उदाहरण थियो, भारतप्रदत्त सिमाना नाकाबन्दीमा उनीहरूको सक्रिय सहभागिता ।  तेस्रो उदाहरण भयो, वर्तमानमा पनि उनीहरूले आपूmलाई जनताको प्रतिनिधि बनाउन सकिरहेका छैनन् ।  यसैले उनीहरू अहिले पनि चुनाव रोक्ने गतिविधिमा लागेका छन् ।  २ नम्बर प्रदेशमा चुनाव हुन दिन्नौं भन्ने स्वयम्भू मधेशी नेताको घोषणा चुनाव नगरियोस् भनेर गरिएको अरण्यरोदन हो ।  चुनावी प्रक्रिया शुरु भइसकेपछि आफ्नै कार्यकर्ताले उनीहरूको आदेश नमान्ने व्यवहार मैदानमा देखिइसकेको छ ।  स्वयम्भू मधेशी नेताहरू चुनाव हुन नदिने भन्छन्, तर स्थानीय तहमा सबै मधेशी भनिएका पार्टीले निर्वाचन आयोगमा आपूmलाई दर्ता गरिसकेका छन् ।  अनि हाम्रो सत्ता सञ्चालनका महारथिहरू अझै पनि मोर्चाका एक दर्जन नेतालाई सहमतिमा नल्याउने हो भने २ नम्बर प्रदेशमा चुनाव हुन सक्तैन भन्ने अघोरी निष्कर्ष निकालिरहेका  छन् । 
यति मात्र होइन, संविधानसभाले स्थानीय तहका जनप्रतिनिधिहरू अधिकार सुनिश्चित गरेको थियो ।  त्यसले मधेशका नागरिकलाई चुनावमा भाग लिन उत्साह पनि प्रदान गरेको थियो ।  तर मोर्चाका नेतालाई स्थानीय तहका जनप्रतिनिधिलाई दिएको अधिकार धेरै लाग्यो रे ।  त्यसैले शेरबहादुर देउवा र पुष्पकमल दाहालले मोर्चाका नेतालाई रिझाउन त्यो अधिकार पनि काट्ने निर्णय गर्नु भएछ ।  प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेर केन्द्रलाई बलियो बनाउने प्रस्ताव गर्नु भएछ ।  मोर्चाका नेताहरूलाई गणतन्त्र नेपालको संविधान मन नपरेको जग जाहेर छ ।  जसरी भए पनि संविधानको अङ्गभङ्ग गर्नु उहाँहरूको अभीष्ट रहिआएको छ ।  संविधान भत्काउने कुरो हाम्रा बडा नेताहरूलाई पनि राम्रो लागेछ ।  त्यसैले पाँच नम्बर प्रदेशका तीन जिल्लाको निर्वाचनलाई २ नम्बर प्रदेशसँग जोड्ने प्रस्तावलाई पनि उहाँहरूले सकार्नु भएछ ।  जबकि सरकारलाई यो काम गर्न उहाँहरू आफैँले बनाउनु भएको नेपालको संविधानले दिँदैन । 
पहिलो संशोधन प्रस्ताव आफैंमा संविधान विरोधी थियो ।  सरकारले त्यसलाई फिर्ता लिएर राम्रो काम गरेको होला भनेको त पछिल्लो संशोधन झन् प्रतिगामी र नागरिक अधिकार विरोधी पो भएछ ।  अनि अभैm रमाइलो कुरो, जसका लागि प्रतिपक्षको चर्को विरोध हुँदाहुँदै जसको तुष्टीकरणका लागि यो प्रतिगामी संशोधन ल्याइएको थियो, तिनले पनि संशोधनको विरोध गरेछन् ।  यस्तो हरिबिजोग हुँदा पनि हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई लाज लाग्दैन । 
सङ्घीयता, संविधान र ऐन कानुनको सामान्य जानकारी समेत नभएका सत्ता सञ्चालक भएपछि संविधानलाई जति भाँचकुच गरे पनि हुन्छ, कानुनको ठीक्क उल्टो गरे पनि हुन्छ भन्ने ज्ञान भएका राजनीतिक नेताहरू नै राज्य सञ्चालक भएपछि यो देशको गति ‘चल जोगी फटकार छाला, जहाँ जाला उहीँ खाला’ हुनु स्वभाविकै हुन्छ । 
शेरबहादुर देउवा र पुष्पकमल दाहालले दोस्रो संशोेधनमार्फत गणतन्त्रको सङ्घीयतालाई राजा महेन्द्रको पथमा लैजानु भयो ।  यसै गर्नु थियो भने सिधै चौध अञ्चल, पचहत्तर जिल्लाको संरचनामा गए भइहाल्थ्यो नि ! किन यो प्रदेशको नाटक गरिरहनु पथ्र्यो ? नेताहरूका बारेमा यत्ति । 
अब अलिकति चर्चा बुद्धिजीवीको पनि गरिहालौँ ।  बुद्धिजीवी भनेको मानसिक श्रम बेचेर बाँच्ने समुदाय हो ।  अर्थात्, इज्जतका साथ भन्ने हो भने यिनीहरूको दर्जा राजनीतिक नेताभन्दा माथि हुुन्छ ।  अध्ययन, अनुसन्धान यिनीहरूको विशिष्ट चरित्र हो ।  यो सार्वभौम सत्य हो ।  त्यसैले संसारभरका नेताहरूले विशिष्ट विद्वानहरूलाई सल्लाहकार राखेका हुन्छन् ।  हाम्रो देशका विद्वानहरू त्यस्ता छन् ? छैनन् ।  जसमा स्वाभिमान छ तिनलाई नेताले चिन्दैनन् ।  चिन्न पनि चाहँदैनन् ।  जसको स्वाभिमान मरेको छ, तिनीहरूबाट अध्ययन अनुसन्धानको अपेक्षा गर्न सकिने कुरै भएन ।  किनभने उनीहरूको चरित्र नेताको स्तुतिगान गाएर पदलाभको उद्देश्यमा समेटिएको हुन्छ । 
मुलुकको इतिहास, संस्कृति र सामाजिक परम्पराको अध्ययन गरेर राजनीति गर्ने नेताहरूलाई सल्लाह दिने काम हो बुद्धिजीवीको ।  तात्कालिक मुद्दाहरूमा, तथ्यमा आधारित भएर नेताहरूलाई ज्ञान दिने काम पनि बुद्धिजीवीकै हो ।  तर नेपालका बुद्धिजीवीहरू यी सबै क्षेत्रमा चुकेका छन् ।  एकखाले मानिसहरू अहिले पनि पृथ्वीनारायण शाहलाई विस्तारवादी नै मान्दछन् ।  बेलायती उपनिवेशवादको साम्राज्य विस्तारलाई पृथ्वीनारायण शाहको फौजले नै रोकेको हो भन्ने अन्तिम सत्यलाई तिनीहरू स्वीकार गर्न चाहँदैनन् ।  पृथ्वीनारायण शाह मगरका सन्तान हुन् र उनी स्वयं पनि मगर थिए ।  पृथ्वीनारायण शाह, भारतीय राजपुत रजौटासँग सम्बन्ध राखेर जात उचाल्न बनारस गएर गोत्रसमेत परिवर्तन गरेर आएका हुन् भन्ने सामान्य ज्ञान समेत या त हाम्रा बुद्धिजीवीले थाहा पाएका छैनन् या सत्य बोल्न डराएका छन् ।  यही अज्ञानताका कारण ‘क्रान्तिकारी’हरूले पोखराको पृथ्वीचोकमा उभिएको पृथ्वीनारायण शाहको शालिक भत्काएर लखन थापाको सानो मूर्ति स्थापना गरेका हुन् । 
अध्ययन र अनुसन्धानको अनिकाल लागेको नेपालको बौद्धिक समुदायले नेपालको बसोबासको इतिहास पनि उत्खनन् गर्न सकेका छैनन् ।  महामञ्जुश्रीले चीनबाट आएर चोभार डाँडो काटेर उपत्यकाको पानी बाहिर निकाले, आत्तिएर भागेका नागहरूलाई टौदहमा राखिदिए भन्नेजस्तो किंवदन्तीलाई अहिलेसम्म इतिहासको स्रोत बनाइएको छ ।  नाग भनेको पानीमा बगेर गएको सर्प होइन ।  त्यो हो मानव समुदाय ।  एउटा जाति समुदायलाई सर्प बनाउने काल्पनिक कथा अहिले पनि खण्डित भएको छैन ।  संस्कृति संरक्षणको रूपमा निरन्तरता दिइएको भोटो देखाउने जात्रा कुनै सर्पको काँचुली होइन ।  यो भोटो प्रदर्शन उपत्यकाको पानी स्वात्त सुकेर बस्ती बस्नु अगाडि, पाखा पखेरामा बसोबास गर्ने नाग जातिको पराजयको मिथक प्रदर्शन हो । 
पशुपतिनाथमा मूर्ति छोएर पूजा गर्ने मूलभट्ट या भट्टहरू कुनै अलौकिक विद्वान होइनन् ।  तिनीहरू पशुपतिनाथको उदयसँगै पुजारी बनेर आएका पनि होइनन् ।  प्रताप मल्लको पालामा, भारतको कर्णाटकसँगै डोलासँगै आएका भान्से बाजे लम्बकर्ण भट्टले यो पूजाको अधिकार पाएका हुन् ।  ती भट्ट कर्णाटकबाट प्रताप मल्लको विवाहका लागि डोला लिएर आएका रहेछन् ।  दक्षिण भारतको बाहुनलाई पशुपतिनाथको मूल पुजारी बनाउने प्रताप मल्लको निर्णयले नेपालका नेवार र दक्षिण भारतका नायरका बीचको सम्बन्ध जोडिन पनि सक्छ ।  हाम्रो अज्ञानले दक्षिण भारतका बाहुनहरूले तीन सय वर्षदेखि हाम्रो सम्मान र संस्कृतिको दोहन गरिरहेका छन् ।  
दर्जनौँँ यस्ता उदाहरण छन् जसको गहिराइमा गएर अध्ययन अनुसन्धान हुनु जरुरी छ ।  यस्तै अध्ययनले नेपालीलाई नेपाल र नेपालीको गौरव चिन्न सिकाउने छ र भविष्यमा पनि त्यो गौरव बचाउने प्रेरणा दिनेछ ।  प्रदीप नेपाल

<