विचार

खुट्टा नकमाऊ कांग्रेस युवा : पत्रकार जीवन भण्डारी 

पार्टीहरूमा वेला–वेला बार्गेनिङका लागि विद्रोह हुने गरेका धेरै उदाहरण छन् । कांग्रेसका नयाँ पुस्ताका विद्रोही नेता त्यस्ता उदाहरणको अपवाद बनून् भन्ने अपेक्षा धेरैले गरेका छन् । केही दिनअघि मात्रै यिनीहरूसँगै पार्टी नेतृत्वविरुद्ध फरक मत राख्दै आएका विश्वप्रकाश शर्मा प्रवक्ता बनेर अहिले नेतृत्वकै बखान गर्ने जिम्मेवारीमा पुगेपछि बाँकी नेता पनि त्यसैगरी पदीय लोभमा फसेर नेतृत्वको आलोचकबाट प्रशंसक बन्ने हुन् कि भन्ने आशंका धेरैले गरेका छन् ।

 


सात भाइका नामले चिनिएका नेतामध्ये एकजनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी दिनु सात भाइ फुटाउने प्रयास पक्कै हो । तर, देउवाबाट नयाँ अवसर पाएका शर्मा र बाँकी नेता पार्टी सुधारको आवाज उठाउने पक्षमा टिकिरहन सक्लान् कि नसक्लान् भन्ने आमकांग्रेसीमा उत्कट जिज्ञाशा छ । कार्यकर्ताले वेला–वेलामा सोध्ने यस्तै प्रश्नको जवाफमा प्रवक्ता शर्माले सातजनाको टोलीबाट आफू फुत्त सभापति देउवाको टोलीमा पुगे पनि पार्टी सुधार अभियानमा सधैँ डटिरहने दाबी गरेका छन् भने अन्य नेताले पनि नियुक्तिको विषयले आफूहरूमा विभाजन नल्याउने विश्वास व्यक्त गरेका छन् ।

 

कांग्रेसमा आशा गरिएका र लोकप्रिय नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले आफूहरूले कुनै पदका लागि नभई समयको मागअनुरूप पार्टी सुधार अभियानमा लागेको बताएका छन् । तर, उनीहरूको अठोटमा शंका गर्दै खुट्टा नकमाउन सुझाब र आडभरोसा दिनेको पनि कमी छैन । वर्तमान चुनौती र वाम गठबन्धनबाट हुनसक्ने क्षतिबाट कांग्रेसलाई बचाउन उनीहरूले गरेको युवाको भेला, बुद्धिजीवीसँगको सुझाब संकलन, पुराना–पाका राजनीतिज्ञसँगको परामर्श बैठक आदिमा पनि उनीहरूलाई सधैँ टिकिरहन सक्छौँ कि सक्दैनाँै भन्ने प्रश्नसहित सही बाटो समातेको प्रतिक्रिया आएका छन् ।

 

क्षमता भएकाको ढिलो–चाँडो पालो आँउछ भन्ने विश्वाससाथ अहिले कांग्रेस सुधार अभियान चलाएका नेताप्रति धेरैको भरोसा देखिन्छ । भरोसा गर्ने कार्यकर्तालाई नेताहरूले भन्ने गरेका छन्— हामी सतीसालझैँ उभिनेछौँ, कुनै लोभ–लालच र धम्कीले हामीलाई प्रभावित पार्नेछैन । एउटा अन्तर्वार्तामा गुरुराज घिमिरेले कांग्रेस सुधार अभियानको समूहमा नजान आफूलाई कन्भिन्स गर्न खोज्नेहरूसँग आफूले तर्क–वितर्क र बहस नै नगर्ने गरेको बताउनुभएको छ ।

 

शुभेच्छुक र सञ्चारमाध्यमको प्रश्नमा उनीहरूले दिएका उत्तरबाट पनि यिनीहरू अडिग छन् भन्ने त देखिन्छ । तर, कुनै अवसर पाएर यो अभियानलाई छोडेर गए भने यिनीहरूप्रतिको विश्वास पूरै थला पर्नेछ । प्रवक्ता बनेका शर्माले अहिले ‘एज हैन एजेन्डा’का आधारमा नेतृत्व चयन हुनुपर्ने तर्क गरिरहेकाले राम्रा एजेन्डा बनाउनु यिनीहरूको मूल जिम्मेवारी हो । पार्टीको मूल सिद्धान्तमा त केही तल–माथि गर्नुपर्ने नै छैन । तर, पार्टी चलाउने नयाँ शैली, निरन्तर क्रियाशीलता, पार्टी र नेताको आचारसंहिता, मापदण्ड आदिका आधारमा आशा र भरोसा जगाउन सक्नुपर्छ । नेतृत्वको चक्करमा नलागी पार्टी सुधारको चक्करमा लागेमा नेतृत्वको अवसर स्वतः आउँछ भन्ने तथ्य यिनीहरूले बुझ्न आवश्यक छ । आफ्नो व्यक्तिगत लोभ–लालचभन्दा पार्टीको हितलाई प्राथमिकता राखेका छन् भन्ने छनक दिन सकेमा यिनीहरूलाई समर्थन गर्नेको कमी हुनेछैन ।

 

अब पार्टीबाट कुनै पद, लाभ र जिम्मेवारीको आशा नगर्नेहरूले यिनीहरूलाई समर्थन गर्न सक्छन् । देउवा, पौडेल, कोइरालाहरूसँग असन्तुष्टले पनि यिनलाई सहयोग गर्न सक्ने देखिन्छ । कांग्रेस कार्यकर्ता मात्रै होइन, कांग्रेसी शुभेच्छुकलाई पनि यिनले आकर्षित गर्न सक्छन् । पुराना नेताप्रति कांग्रेसबाहिरका मान्छेको आकर्षण छैन । ‘कांग्रेस पार्टी त ठीक हो, तर नेता ठीक छैनन्’ भन्ने ठूलो समूहलाई यिनले कांग्रेसमा भिœयाउन सक्छन् । त्यसबाहेक अर्को ठूलो वर्ग छ, जो कांग्रेस होइन, तर निरन्तर कांग्रेसलाई भोट हाल्छ, त्यस वर्गलाई थमाइराख्न पनि यी नेताको अग्रसरता र सक्रियता अनिवार्य छ । धेरै मान्छे भन्छन्– बोलेर केही हुँदैन । तर, मलाई लाग्छ बोलेर तत्काल सुधारको नतिजा नदेखिए पनि अभैm बिग्रनबाट केही न केही रोकेको हुन्छ । नबोलेको भए त अझ बिग्रने थियो अर्थात् यी नेताले बोल्दा र केही न केही सक्रियता देखाउँदा कांग्रेसमा सुधारको आशा गर्ने वर्ग अझै कांग्रेसको प्रतीक्षामै छ । त्यसकारण यिनीहरू बोलिरहन, सुधारको प्रयास गरिरहन आवश्यक छ । पार्टीमा कार्यकर्ता त यसै पनि रहन्छन्, तर शुभेच्छुकचाहिँ स्वतन्त्र हुन्छन्, उनीहरूलाई तान्नका लागि केही सकारात्मक, आशाजनक र भरोशायोग्य संकेत खाँचो पर्छ, यो यिनै नेताबाट मात्रै सम्भव छ ।

 

परम्परावादी, पुरातनवादी, आफ्नो क्षमतामा विश्वास नभई अरूको सहारामा चल्नेहरूले यसलाई सकारात्मक रूपमा लिएका छैनन् । तर, आफूमा पनि केही क्षमता छ, आफूलाई केही चाहिएको छैन, आशा पनि छैन र केवल पार्टी राम्रो होस् भन्ने चाहना मात्र छ भन्नेहरूले भने यिनीहरूलाई विनासर्त सहयोग गर्न सक्छन् । यो वर्ग ठूलो छ नेपालमा । पुराना नेतासँग अहिलेका नयाँ कार्यकर्ताको सहज पहुँच र सम्बन्ध भएको हुँदैन भने दोहोरो चिनजान र भेटघाट पनि निकै कम हुन्छ । तर, नयाँ नेतासँग भने धेरै हिसाबले घुलमिल, उठबस, चिनजान हुन्छ । यी नेता नेविसंघको महामन्त्री, उपाध्यक्ष र अध्यक्ष हुँदा धेरैलाई नेविसंघ बनाएर पार्टीमा छिराएका कार्यकर्ता नै अहिले जिल्लाको प्रभावशाली नेतृत्व तहमा छन्, उनीहरू निर्धक्क यिनीहरूलाई समर्थन गर्न तयार छन् ।

 

उनीहरूले यिनीहरूलाई गरेको समर्थनबाट गाउँका बुढापाका कार्यकर्ता पनि अब पुरानाले होइन, नयाँले चलाउनुपर्छ सहजै भन्न थालेका छन् । पुराना नेतालाई सल्लाहकार मात्रै बनाउने हो, पार्टी त नयाँ पुस्ताले चलाउने हो भन्ने मानसिकता धेरै कांग्रेसीमा देखिन थालेको छ । नयाँले नयाँलाई स्वाभाविक रूपमा रोज्छन् भने पुरानाले पनि आफ्ना समकक्षीसँग अनेक तुष, प्रतिशोध र विवाद भएकाले नयाँ आइदिए हुन्थ्यो भन्ने चाहना राखेको पाइन्छ । त्यसैले पनि यी युवा नेताको सम्भावना बलियो देखिन्छ । पार्टी पुरानै होस्, तर नेता र शैली नयाँ होस् भन्ने धेरैको चाहना छ । अहिलेकै तरिकाले हुँदैन भन्नेमा अधिकांश सहमत छन् । यही भावनालाई यी नेताले डोहो¥याउन सक्ने देखिन्छ । त्यसैले कांग्रेसका नयाँ पुस्ताका नेतालाई पार्टी सुधार अभियानमा खुट्टा नकमाउन खबरदारी छ । साभार : नयाँ पत्रिका

<