ताजा खबर

बेलौरी खबर

जेष्ठ नागरीकलाई जाडो छल्न ब्ल्यांकेट प्रदान ।।

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ६ माघ ।
बेलौरी नगरपालिका वडा नं. ५ ले उक्त वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता खाइपाई आइरहनुभएका लगभग १३० जना जेष्ठ नागरीकलाई जनही १ – १ ब्ल्यांकेट प्रदान गरेको छ । बेलौरी नगरपालिकाका उपप्रमुख समेत रहनुभएका प्रमुख अतिथि चित्र कुमारी चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका भित्र रहनु भएका जेष्ठ नागरीकहरुले खेप्दै आएको समस्या प्रति नगरपालिकाले दृष्टिगत गरिरहेको र त्यस्तो समस्यामा परेका जेष्ठ नागरीकहरुलाई सम्मानित जीवन जिउँन मद्दत पुर्याउन सम्बन्धित घरपरिवारलाई सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभयो । 

 


बेलौरी नगरपालिका वडा नं. ५ सुदर्शनपुरमा रहेको वागेश्वरी आधारभूत विद्यालयको प्रांगणमा आयोजित जेष्ठ नागरीकहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सभापति समेत रहनुभएका वडा नं. ५ का वडा अध्यक्ष साइतु कुमार चौधरीले आफ्नो वडा भित्रका अधिकांश बृद्धबृद्धाहरुको नागरिकता समेत नभएकोले छिट्टै प्रकृया पूरा गरी नागरिकता वितरण टोलिको व्यवस्थापन गर्ने बताउनु भयो । वडाको बजेटले खरिद गरी सोही वडाका सामाजिक सुरक्षा भत्ता खाइपाई आइरहनुभएका जेष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरेसंगै अन्य अशक्त, अपांगता भएका व्यक्तिहरुलाई समेत वडाबाट सहायताका सामग्री वितरण गर्ने योजना रहेको उहाँले बताउनु भयो । जेष्ठ नागरिकलाई प्रदान गरिने भनिएका ब्ल्यांकेटको संख्या कम परेकाले हप्तादिन भित्रै आवश्यक ब्ल्यांकेट ल्याई वितरण गरिने वडा अध्यक्ष साइतु कुमार चौधरीले बताउनु भयो ।

 


त्यस्तै, उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं वडा नं. ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जेष्ठ नागरिकहरुलाई कुनै समस्या परेका जनप्रतिनिधिहरुलाई जानकारी गराउन आग्रह गर्दै आफुहरुले ती समस्या समाधान तर्फ लाग्ने प्रतिबद्दता जनाउनु भयो । त्यस्तै, अर्का विशिष्ट अतिथि एवं बेलौरी नगरपालिकाका कार्यपालिका सदस्य पुनम श्रेष्ठ तुलसीले वडाले जेष्ठ नागरिकको हितका लागि चालेको कदम सह्रानीय भएको बताउँदै बेलौरी नगरपालिकाले समेत आगामी दिनमा यस्तै कार्यप्रति कदम अगाडी बढाउने बताउनु भयो । 

 

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्दिजीवि, सामाजिक व्यक्तित्व लगायत विद्यालयका शिक्षक कर्मचारीहरुको समेत सहभागिता रहेको बेलौरी नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले बताउनु भयो । यसअघि शुक्रबार बेलौरी नगरपालिका वडा नं. ७ ले समेत सामाजिक सुरक्षा भत्ता खाइपाई आइरहनुभएका ७१ जना जेष्ठ नागरिकलाई जनही १ – १ ब्ल्यांकेट र नगद रु २००।– प्रदान गरेको थियो । 
 

<