ताजा खबर

विचार

महिला प्रतिको दृष्टिकोण र नेपाली समाज

विविध भौगोलिकता ले सम्पन्न हाम्रो देश नेपाल राजनैतिक सफलता प्राप्ति पछि विकास को गतिमा पाईला अघि बढाउन खोजीरहेको छ । बदलिदो नेपाली समाजमा राजनितीक सफलताका लागि सम्पूर्ण नेपाली जनता ले प्रत्यक आन्दोलनमा एक भएर अघि बढेको इतिहास सबै सामु प्रसस्तै छन ।

 

सदियौ देखि पुरातन परम्परा र संस्कृति हरुले जकडीएको नेपाली समाजले भर्खरै मात्र राजनीतिक स्वतन्त्रता प्राप्त गरेको छ । अबिकसित नेपाली समाज र एहाँका महिलाहरुको अवस्था अत्यन्त दयनीय परिस्थिति बाट गुज्रीरहेकै छ । बहुलजाती बहुभाषा भएको नेपाली समाजमा बिभिन्न खाले अन्तर्घुलन हरु छन । यी अन्तर्घुलनले यो समाजमा विविधता हरु पनि त्यस्तै थपेको छ । जतीबेला भारतीय समाजमा पितृसत्ता चरमोत्कर्षमा थियो,त्यतीबेला पनि नेपालमा मातृसत्ता कायम थियो तर बिस्तारै शासकीय निरंकुशताले महिलाहरुको अधिकारलाई दमन गर्दै पितृसत्ता को जगलाई मजबुद बनाई महिला हरुलाई निरिह बनाउने काम भयो । धर्मका नाममा महिला बिरुद्द हुने धार्मिक र सांस्कृतिक प्रथाहरुका कारण महिलाहरुको अधिकार र स्वतन्त्रता माथि ठुलो प्रतिबन्ध लगाइएको छ ।

 


सतीप्रथा र दास प्रथाको अन्त्यका लागि जहानीया राणा शासक लाई धर्मभिक्षा र जागरण अभियान मार्फ़त दवाब दिने शाहसी बिदुषि योगमाया न्यौपानेले महिला जागरण गर्न र शासक लाइ चुनौती दिन आफ्नो प्राण आहुति गर्नुपर्यो ।जून आन्दोलन एसियाकै सबैभन्दा ठुलो र बलसाली पहिलो महिला आन्दोलन थियो ।नेपालको राजनैतिक आन्दोलन भन्दा पनि पुरानो संगठित महिला आन्दोलन पछि आएर पितृसत्ता को हाबी लाई चिर्न नसकि पछिपरेको इतिहाँस छ। महिलाहरु लाई घरको दैलो कुर्ने जात, अर्काको घरको नासो, पोथी जस्ता बिभेदित शब्दद्वारा अपहेलीत गर्दै सम्पूर्ण क्षेत्रमा उनीहरुको अस्तित्व लाई गौण बनाउने गरि त्यस्तै खालको सामाजिक चेतना निर्माण यसै समाजले गर्यो l

 


जस्ले गर्दा महिलाहरु श्रीमानका प्रयोगका साधन र जीवन सहयोगिको परिचयमा मात्र सीमित हुन पुगे । राज्यको उत्पत्ति संगै पुरुषले सासन गरेको राज्यमा धर्म,संस्कृती, जात र बर्गका रुपमा समाजलाई बिभाजित गरियो र त्यसै अनुरुप समाजमा बिभिन्न खाले बिभेदको उत्पती भयों र परिणाम स्वरुप शासक र शासित संगै लैंगिक बिभेदको पनि चरम बृद्दि हुदै गयो । समाजको चेतनाले राजनीतिक शक्ती सन्तुलन निर्धारण गर्छ र त्यसै अनुरुप देशको मुल कानुन पनि निर्धारण हुन्छ । जब सम्म नेपाली महिलाहरुले आफ्नो कानुन आफै निर्माण गर्दैनन तब सम्म महिलाहरुले समान अधिकारको आसा गर्नु ब्यर्थ हुन्छ भन्नेकुरा हालसम्मका महिलाकाआन्दोलन र त्यसबाट प्राप्त उपलब्धिले प्रष्ट पार्न सकिन्छ। नेपाली समाजलाई पुजीवादको प्रारम्भिक चरणमा प्रवेश गर्दै छ भनी समाजशास्त्रीहरुले बिशलेषण गरिरहेको यस परिस्थिति माँ पनि महिलाहरु लाइ हेर्ने दृष्टिकोण माँ खासै परिवर्तन ल्याउन सकिएको छैन ।

 

नेपालको परिवर्तनको आन्दोलन हरु कुनै त्यस्ता आन्दोलन हरु छैनन् जुन महिलाहरुको बिना उपस्थिति मै सफल भएका हुन । सबै राजनैतिक आन्दोलन हरु सफल पार्न महिलाहरुले पनि काँध र साथ दुबै दिएका छन । शारीरिक अशक्तता लाई महिलाहरु को कमजोरी बनाउदै उनिहरुलाइ राज्यको मुलधारमा ल्याउन नचाहने र चेतनाबाट बन्चित गराउने काम यो समाज ले गर्यो जस्ले गर्दा सामाजिक रुपमै महिलाहरु प्रतिको दृष्टिकोण निरिह,बेशाहारा, अवला को रुपमा स्थापित भयो । हाम्रो समाज जहाँ महिलाहरु ले न्यायको पक्षमा वकालत गर्दा पोथीको संज्ञा पाए र उन्ले बोलेका सब्दहरु तौलबिहिन र अयोग्य भए । यस्तो परिवेशका दास छन नेपाली महिला हरु । २१ औ सताब्दि का मानवजाति हामीहरु अहिले पनि बिदेसका कोठिहरुमा बेचिनु नेपाली महिलाहरु र यहॉको चेतना स्तर माथि बिश्वब्यापिकरणले जिस्क्याइरहेको अनुभव हुन्छ । यो अवस्था सम्म आईपुग्दा महिलाहरु को सवालमा कुनै प्रगति वा उपलब्धि हुन नसकेको भन्ने चै कदापि हैन हाल सम्म एसियाकै महिलाहरुको राज्यको प्रमुख अंगमा प्रमुखकै भूमिकामा २९ वटा राज्यको नेत्रृत्व महिलाहरुले गरेको पाइन्छ ।तर पनि महिलाहरुको समग्र अवस्था सन्तोषजनक भने रहेको छैन ।

 


नेपाली समाजमा रहेका सबैखाले पित्रिसत्ताका प्रखालहरु ढाल्दै लामो संघर्ष र थोरै सफलता लाई आत्मसात गर्दै नेपाली महिलाहरुले आज यो ठाउ सम्म आईपुग्दा महत्वपूर्ण उपलब्धिहरु हासिल गरे ,जुन् देशको मुल कानुनको रुपमा मानिने नेपालको संबिधानमा लिपिबद्ध गर्न सफल भएका छौ । हिजो घरको चौघेरो नाघ्न कठिनाइको सामना गर्नुपर्ने नेपाली महिलाहरु अहिले राज्यको स्थानीय निकायमा ४० प्रतिशत र प्रमुख अंगमा ३३ प्रतिशत अनिवार्य सहभागिता लाई संबिधानमा उल्लेख गराउन सफल भए यो उनिहरुको ठुलो उपलब्धिनै हो । त्यसैले अबको महिला आन्दोलनको कार्यभार भनेको संबिधानमा उल्लेखित अधिकारहरु लाई अनिवार्य रुपमा कार्यान्वयन मा आधारित हुनुपर्छ । जबसम्म महिलाहरुलाई लडाएर महिलाहरु नै महिलाको विरोधी हुन्कि जस्तो पारेर पुरुषहरुले महिलाहरु को सहानुभूति लिदै महिलाहरुलाई लडाइरहन्छन् र महिलाहरु पनी आफ्नो सत्रु पनि महिलाहरुनै हो भन्ने ठानिरहन्छन तब सम्म पुरुषवादि समाजमा महिलाहरु कहिल्यै अघि बढ्न सक्ने छैनन् ।

 

यो खालको सोच र दृष्टिकोण लाइ परिवर्तन गर्न सकेमात्रै पनि समग्र महिलाको जित सुनिश्चित हुन्छ । राजनितीक शिक्षा र चेतनाले मात्र हामी हाम्रो हक़ अधिकारको पहिचान गर्न सक्छौ त्यस्ले हामिलाइ अन्याय बिरुद्द लड्ने प्रेरणा पनि मिल्छ , लोकतान्त्रिक मुलुकका स्वतन्त्र महिलाहरुले बोल्न पाउनु मात्रै अधिकार प्राप्तीमा सफल हुनु होइन, वास्तविक रुपमा अधिकार सम्पन्न हुनु भनेको निति निर्माण र निर्णय कार्यान्वयनको क्षेत्रमा प्रत्यक्ष सहभागि हुनु हो ।

 


हाम्रो नेपाली समाजमा छोरो जन्मने बित्तिकै स्वतन्त्रता ,बहादुरी र परिवारको सम्पत्तिमा पुर्ण अधिकार सम्पन्न भएर जन्मने तर महिला हरुले जन्मदै देखि आस्रित र कमजोर रुपमा जन्मिनु पर्ने बिडम्बनाले महिलाले प्रत्येक सफलताका लागि शंघर्ष गर्नुपर्ने बाध्यता हुन्छन । महिलाहरुले तिन वटा सत्तालाई पार गरेर अघि बढेमा मात्र आधारभूत रुपमा उनिहरु सफल हुनसक्छन ।

 

  • परिवारको सत्ता
  • समाजिक सत्ता
  • राज्य सत्ता


यी सत्ताको कठोरता पूर्वक सामना गर्दै जित्ने महिला मात्र नेपाली समाजमा महिलाहरु को अधिकारको लागि लड्ने अभियन्ता हुन सक्नेंछिन ।

 


बिश्वका विकसित देशहरुका महिला हरुले आफ्नो शरीर माथिको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गर्ने लडाई जितिरहदा नेपालका कैयौ दीदी बहिनी र आमा हरु छाउपडी,देउिक,कमलरी र जघन्य बलात्कारको जस्ता अपराधको सिकार भइरहेका छन् । बिभिन्न खाले प्रताडना का कारण आज पनि महिलाहरु आफ्नो कलकलाउदो जोवन हाम्रो देशको पित्रिसत्तात्मक परम्परा संगै जलिरहेका छन मरिरहेका छन । १०४ बर्ष लामो राणा शासन र २४० बर्ष लामो राज्तन्त्र ले महिलाहरु लाई चौघेरो र पानी पधेरो मैं ब्यस्त राख्यो । सती प्रथा लागु गर्यो र पुरुषको जीवन बिना महिलाको अस्तित्व हुदैन भन्ने अतिवादी संस्कारको स्थापना गरी महिलाहरु लाई दासी बनायो ।

 

यो अतिवाद परम्परागत रुपमा जरा गाडेर नेपाली समाजमा स्थापित भयो र नेपाली महिलाहरु एक शताब्दिनै पछाडी धकेलिनु पर्यो । तर नेपाली महिलाहरुको शाहस र क्षमताले सबैखाले चुनौतीलाई चिर्दै अघि बढ्दै आज यहॉ सम्म आईपुगे र पुरुषसरह आफ्नो अधिकार स्थापित गर्न खोज्दैछन । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो र जनमुखि संबिधान पनि निर्माण भयो अइले सम्म आइपुग्दा लिखितरुपमा महिलाहरु को अधिकार पनि लिपिबद्ध भएको छ ।

 

लामो ऐतिहासिक संघर्ष पछि महिलाहरु ले ठुलो जित हासिल गरेका छन , सन्तान लाई आमाको नामबाट नागरिकता प्राप्त गर्ने ब्यवस्था गर्न नेकपा एमाले तत्कालीन उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ कि अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल की पहिलो महिला राष्ट्रपति सम्माननीय बिध्यादेवी भन्डारी ज्युले संसदमा उठाउनु भएको बुलन्दित आवाज़ र सम्पुर्ण महिला नेत्रित्वको संघर्ष को महान उपलब्धी हो । यसै आन्दोलन को जगमा राज्यका सबै निकायहरुमा ३३ प्रतिशत महिला समाबेसीको ज्ञारेन्टी गरीयो र स्थानीय निकायमा ४० प्रतिशत अनिवार्य गरिनु महिला हरुको लागि अर्को महत्वपूर्ण उपलब्धि मान्नुपर्छ ।

 


अन्तिममा लामो समयको उतारचढाव र बलिदानी पुर्ण संघर्ष पछि हामिले उपलब्धि हॉसिल गरेका छौ उक्त उपलब्धि भनेको महिलाहरु लाई राज्यको आधिकारिक निकायमा पुर्याई राज्यको शुसासनमा आफै सहभागि बन्न पाउनु हो । हिजो सम्मका महिलाहरु माथिका बिभेदहरु चिर्दै समतामुखी र बिकाससिल समाज निर्माण गर्ने अवसर पाउनु हो । जनताको प्रतक्ष अभिमत बाट आज देशैभरी ४० % महिलाहरु राज्यको अंगको रुपमा स्थापित भए अनुरुप सम्पुर्ण महिलाहरुलाई बिभेदको हत्घडी बाट मुक्त गराउने जीम्मा अब महिला आफ्नै को हो ।

 

 

यति गरेमा मात्रै पनि हाम्रो अथक संघर्ष को उपलब्धी हाँसिल भएको ठहर्ने छ र महिला आन्दोलनको योद्धा हरुको आत्मले शान्ती पाउने छ । फेरी पनी यस्लाई प्रभावकारी कार्यान्वयन गराउन सम्पूर्ण क्षेत्रका महिलाहरु एकीकृत भइ आ-आफ्नो ठाउबाट ससक्त भएर लाग्ने हो भने महिलाहरु आफ्नो मालिक आफै हुने सुनौला दिनहरु हामी नजिक सहजीलै पुग्ने छन ।


कमला बोहरा, किसान महासंघ केन्द्रीय सदस्य, हाल विद्यार्थी,  संघाई, चिन

<