विविध

मौसमविद् भन्छन् : अब चिसो हुँदैन ।।

पुसको अन्तिम साता ह्वात्तै बढेको चिसो माघ महिना लागेसँगै घटेको छ । अधिकतम र न्यूनतम तापक्रममा बृद्धि आएपछि उपत्यका तातो बन्दै गएको छ । उपत्यकामा पुसको अन्तिम साता न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । अहिले तापक्रम क्रमश बढ्दै गइरहेको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भन्नुभयो, ‘कुनै मौसमी प्रणाली भित्रिएन भने अब तापक्रम बढ्दै जान्छ । तर अहिले नै तापक्रम बढेर गर्मी सुरु भइहाल्छ भन्ने होइन । सामान्यतया उपत्यकामा जनवरीको दोस्रो सातासम्म अत्याधिक चिसो हुने गर्दछ ।’ महाशाखाका अनुसार मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । मौसमविद् रिमालले भन्नुभयो, ‘अहिलेसम्मको मौसमी प्रणालीलाई हेर्दा अब तापक्रम घट्ने सम्भावना देखिदैन ।’

यो वर्ष हिउँदे वर्षा नभएपनि पुसको अन्तिम साता उपत्यकाको तापक्रम शून्यमा झर्यो । महाशाखाले रेकर्ड गरेको तथ्यांक अनुसार पुस २५ गते यो वर्ष सबैभन्दा चिसो भएको थियो । पुस २५ र २६ गते उपत्यकाको तापक्रम सबैभन्दा कम शून्य दशमलव ६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । मौसमविद् रिमालका अनुसार सुर्यको ताप अब विस्तारै बढ्दै जान्छ र गर्मी बढ्छ । यो वर्ष हिउँदे वर्षा नभएका कारण पनि लामो समय चिसो नभएको महाशाखाले जनाएको छ । मौसमविद् रिमालले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभावले हिउँदमा बर्षा हुने गर्छ । यो वर्ष पश्चिमी वायुको प्रभाव देखिएन ।’  महाशाखाका अनुसार हिउँदका महिनामा औसतमा १३ मिलिमिटरसम्म वर्षा हुने गर्छ । तर यसपटक जनवरीमा शून्य दशमलव ६ मिलिमिटरमात्र वर्षा भएको छ ।
 

<