खेलकुद

संकटालाई २-० गोलले हराउँदै एपीएफ खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली, २६ पुस।

संकटालाई २-० गोलले हराउँदै बिभागीय टोली एपीएफ सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

 


बुधबार धनगढी क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनको सहयोगमा एपीएफ संकटामाथि हावी भयो । खेलमा दुवै गोल उनैले गरे ।

 

खेल सुरु भएको २३औं मिनेटमै हेड गोलमार्फत टिमलाई अग्रता दिलाएका विष्टले ८४औं मिनेटमा दोस्रो गोल गरे । उनी खेलको म्यान अफ द म्याचसमेत चुनिए । खेलको दुवै हाफमा एपीएफ हावी देखियो । संकटाले पाएको केहि अवसर पनि सदुपयोग गर्न सकेन ।

 

पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दबावमा परेर खेलमा राम्रो गर्न नसकेको सङ्कटाका प्रशिक्षक सल्यान खड्कीले बताए । पहिलो खेलमा आफ्नो टिमले राम्रो गर्न नसके पनि क्वाटरफाइनलमा सुधार भएको एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले बताए ।

 

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा बिहीवार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अनलाइनखबर

<