खेलकुद

१५ महिनापछि मैदानमा फर्कियो थ्रीस्टार, खप्तड गोल्डकपमा विजयी सुरुआत ।।

कैलाली, २४ पुस ।

१५ महिनापछि फुटबलमा फर्किएको ए डिभिजन च्याम्पियन थ्रीस्टार क्लवले सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी सुरुआत गरेको छ ।

 

सोमबार धनगढी रंगशालामा भएको खेलमा झापा ११ लाई ३–१ गोलअन्तरले हराउँदै थ्रीस्टार प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । पहिलो हाफको ३४ औं मिनेटमा विदेशी खेलाडी मार्टिनले गोल गरेर थ्री स्टारलाई अग्रता दिलाए ।

 

३९ औं मिनेटमा बुद्ध चेमजोङले गोल गर्दै अग्रता दोब्बर पारे । झापा–११ का लागि कर्ण लिम्बुले ४१ औं मिनेटमा गोल फर्काएर अन्तर कम बनाए पनि ४३औं मिनेटमा चेम्जोङले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा थ्रीस्टारले ३–१ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा गोल हुन सकेन र खेल थ्रीस्टारले जित्यो ।

 

खेलपछिको पत्रकार सम्मेलनमा झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले टिमले राम्रै खेले पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताए । यसैगरी, थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टिमले सुखद् नतिजा दिन सफल भएको बताए ।

 

अखिल नेपाल फुटबल संघ एन्फाले समयमै नाम दर्ता नगरिदिएका कारण एएफसी कप खेल्न नपाएको बिरोधमा थ्रीस्टारले १५ महिनाअघि फुटबलबाट बाहिरिने निर्णय गरेको थियो । गत वर्षको असोजमा सिक्किममा भएको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता खेलेयता थ्रीस्टारले कुनैपनि फुटबल गतिविधिमा सहभागिता जनाएको थिएन ।

 

थ्रीस्टारले त्यस प्रतियोगिताको उपाधिसमेत जितेको थियो । त्यसको एक महिनाअघि मंगोलियामा भएको एएफसी कप छनोटको पहिलो चरण अन्तर्गत समूहमा जित हासिल गर्दै दोस्रो चरणमा पुगेको थ्रीस्टार एन्फाले नाम दर्ता नगरिदिएका कारण प्रतियोगिताबाट बञ्चित भएको थियो । एन्फाले क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख उपलब्ध गराउने भएपछि थ्रीस्टार फुटबलमा फर्किएको हो ।
अनलायनखबर

<