खेलकुद
धरानलाई हराउँदै संकटा खप्तड गोल्डकपको क्वाटरफाइनलमा

२३ पुस, धनगढी । सडनडेथमा धरानलाई स्तब्ध पार्दै संकटा युवा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्षेत्रीय रङ्गशाला मैदानमा दुवै टिमले निर्धारित समयामा गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा संकटाले धरानलाई ५(४ गोल अन्तरले पराजित गरी अन्तिम आठको यात्रा तय गरेको हो ।
दुवै टिमबाट सातरसात जनाले पेनाल्टी प्रहार गरेका थिए । संकटाको तर्फबाट अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सिजन थापा र अभिषेक रिजालले गोल गरे । सुनिल लामा र भुषण सुब्बाको प्रहारलाई धरानका गोलकिपर रोशन खड्काले गोल हुनबाट रोेके ।
यस्तै, धरानको तर्फबाट वर्तमान राई, रोमन लिम्बु, सुरज बिके र प्रकाश बुढाथोकीले गोल गरे । सुबोध शाहीले प्रहार गरेको बल गोलपोष्ट भन्दा माथिबाट बाहिरिएको थियो भने, सुजन राई र रोशन खड्काको प्रहारलाई गोल हुनबाट बचाव गर्दै संकटाका गोलकिपर विनय श्रेष्ठ खेलको नायक बने । उनि म्यान अफ द म्याच घोषित भए ।
यसअघि, खेलको पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै धरानले संकटालाई दबावमा राख्न सफल भए पनि गोल गर्न सकेन । पाएको केहि मौकालाई धरानका खेलाडीले गोलमा परिणत गर्न सकेनन् ।
संकटाका खेलाडीले डी एरियाभित्र हातले बल छोएपछि पेनाल्टी पाएको धरानले अवसर सदुपयोग गर्न सकेन । धरानका वर्तमान राईले गरेको प्रहारसङ्कटाका गोलकिपर श्रेष्ठले रोकेका थिए ।
खेलपछिको पत्रकार सम्मेलनमा धरानका प्रशिक्षक अशोक राईले लामो यात्रा गरेर थकित भए पनि आफ्नो खेलाडीले सोचे अनुरुप नै प्रदर्शन गरेको बताए ।
यस्तै, संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा तालमेल बिग्रिए पछि दोस्रो हाफमा कमजोरी सुधार गरेको बताए । संकटा गत संस्करणको उपबिजेता हो ।
प्रतियोगिता अन्तर्गत भोलि सोमवार थ्री स्टार क्लब ललितपुर र झापा(११ बीच प्रतिस्पर्धा हुनेछ ।
अनलाइनखबर