ताजा खबर

बेलौरी खबर

अत्यधिक चिसोका कारण कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालय ३ दिनका लागि बन्द गरिने ।। 

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २३ पुस ।
केही दिनयता बढेको अत्यधिक चिसो र शितलहरका कारण कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालय ३ दिनका लागि बन्द गर्ने जनाइएको छ । चिसो अत्यधिक बढ्न थालेपछि आइतबार जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा बसेको वैठकले कञ्चनपुर जिल्ला भरिका सबै सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २४, २५ र २६ गते जाडो बिदा गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले जानकारी दिनुभयो ।

 

पश्चिम नेपालका कञ्चनपुर र कैलाली लगायत तराईँका विभिन्न जिल्लामा बढेको चिसोले सुकुम्बासी, आरक्ष पीडित तथा मुक्त कमैया बस्तीका बासिन्दा बढी प्रभावित बनेका छन् । जाडो छल्न स्थानीयहरु आँगन, चोक चौतारामा आगो बालेर ताप्न बाध्य भएका छन् । यसैबीच कञ्चनपुरका स्थानीय तहहरुले स्थानीय बजार लगायत आसपासका क्षेत्रमा सर्वसाधारणलाई आगो ताप्न केही दाउराको व्यवस्थापन मिलाएको जनाएका छन् । तर स्थानीय तहहरुले वितरण गर्न लागेका दाउरा ग्रामीण क्षेत्रमा नपुगेको स्थानीयबासीले गुनासो गरेका छन् ।

 

 

चिसोका कारण गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र बृद्धावस्थामा रहेका नागरिकहरुको स्वास्थ्य नराम्ररी प्रभावित भएको छ । चिसोका कारण आर्थिक अवस्था दयनीय भएको वस्तीमा बालबालिका र वृद्धवृद्धाहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । बाक्लो हुस्सु, कुहिरो र शितलहरका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, निमोनिया र श्वासप्रश्वास सम्बन्धी बिरामीहरुको संख्या बढेको महाकाली अञ्चल अस्पतालका अध्यक्ष अशोक पाण्डेयले बताउनु भयो ।

 

 

झण्डै डेढ साता देखि पश्चिम नेपालको तराईँमा बढेको चिसोका कारण मानव जनजीवन मात्रै नभई खेतीबालीमा समेत नराम्रो असर पर्न गएको छ । बाक्लो हुस्सु, कुहिरो र शितलहरका कारण कृषकहरुले लगाएको आलु, गोलभेडा लगायतका तरकारीबाली नष्ट हुन थालेको बेलौरी नगरपालिका कृषि शाखाका प्रमुख रण बहादुर मल्लले बताउनु भयो । 
 

<