बेलौरी खबर

‘प्रहरीभित्रको विभाजन मेट्दै ‘चेन अफ कमान्ड’ कायम गर्छु’ : आईजीपी अर्याल

काठमाडौं, ३० चैत्र । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले विगत केही समययता संगठनका सबै दर्जाबीच कोरिएको विभाजन मेट्दै चेन अफ कमान्ड कायम गर्ने घोषणा गरेका छन् ।

सरकारले प्रहरी संगठनलाई जनताको सुरक्षाको भरपर्दो साथीका रूपमा अघि बढाउन आफूलाई नेतृत्वको जिम्मा दिएको भन्दै केही दिनभित्रै दुई महिनायता संगठनभित्र मौलाएको विकृति र विसंगति नियन्त्रण गर्ने घोषणा गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

‘नेपाल प्रहरीभित्र केही समययता कोरिएको सबै दर्जाबीचको विभाजनलाई मेटेर चेन अफ कमान्ड कायम गर्नेछु,’ नवनियुक्त आईजीपी अर्यालले भने । नेपाल प्रहरीमा आफूसँगै सेवा प्रवेश गरी आईजीपीका लागि आफूसँगै प्रतिस्पर्धामा रहेका देखि संगठनका सबै सदस्यहरूलाई साथमा लिएर जनताले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्ने प्रतिबद्धता पनि जनाए ।

‘निकै चुनौतीपूर्ण जिम्मेवारी पनि सबैलाई साथमा लिएर सहजताका साथ सम्पन्न गर्ने मेरो विगतको कामलाई हेरेरै सरकारले यो चुनौतीपूर्ण जिम्मेवारी दिएको हो, यो चुनौतीलाई पनि पार गरेर नागरिकले अनुभूति गर्ने गरी शान्ति सुरक्षा दिने प्रयास अघि बढाउँछु,’ अर्यालले भने ।

उनले प्रहरीभित्र प्रतिस्पर्धाका आधारमा कसैप्रति अन्याय नगर्न दाबी पनि गरे । उनले प्रतिस्पर्धामा रहेका सबैले खेलको नियम मान्नुपर्ने धारणा पनि राखे । ‘नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एकजना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरूले स्विकार्न सक्नुपर्छ,’ आईजीपी अर्यालले भने, ‘हामी संगठनमा रहेका सबैले म र मेरो भावनाभन्दा माथि संगठन हो भन्ने मान्यता राखेर अघि बढ्न मेरा सहकर्मी र समकक्षीलाई आग्रह गर्छु ।’

दबाब र प्रभावमा काम गरिन्नँ

आईजीपी अर्यालले संक्रमणकालको आवरणमा शान्ति–सुव्यवस्थामा खलल पार्ने कुनै गतिविधि क्षम्य नहुने निर्देशन पनि दिएका छन् । सोमबार राति नै प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षकको कार्यभार सम्हालेका अर्यालले मंगलबार प्रहरी मुख्यालयमा वरिष्ठ प्रहरी अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

संविधान बनेसँगै स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नका लागि आवश्यक अभिभारा पूरा गर्न प्रहरी संगठनले आफ्नो प्रभावकारी भूमिका निर्वाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उनले जनाए ।

संगठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको पनि प्रस्ट पारे । ‘म तपार्इंहरूको प्रिय नेतृत्वकर्ता बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु,’ वरिष्ठ प्रहरी अधिकारीसामु अर्यालले भने ।

उनले संगठनको आचरणविपरीत अवाञ्छित गतिविधि गर्नेलाई भने कारबाहीको दायरामा ल्याइने प्रस्ट पारे । नागरिकलाई पनि यही अनुभूति दिलाउने भन्दै मातहतका सबै अधिकारीलाई दबाब र प्रभावका आधारमा काम नगर्न निर्देशन दिए ।

अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याइन्छ, त्यसमा कसैको प्रभाव र दबाब स्वीकार गरिन्न, तपाईंहरू पनि प्रभाव र दबाब स्वीकार नगर्नोस्,’ आईजीपी अर्यालको भनाइ थियो । दैनिक नेपाल

<