ताजा खबर

विचार

कञ्चनपुरको बेलौरीलाई प्रदेश नं. ७ को राजधानी बनाउँदा उपयुक्त हुने ।

लामो समयसम्म कैलाली र कञ्चनपुरको सदरमुकाम रहेको बेलौरी केही वर्ष कञ्चनपुरको मात्रै पनि सदरमुकाम रह्यो । वि.स. १९१७ देखि २०१९ (सन १८६० – १९६२) सम्म १०३ वर्ष जति बेलौरी सदरमुकाम थियो । तर यस क्षेत्रमा उपयुक्त नेतृत्व गर्ने व्यक्ति नभएपछि अन्ततः बेलौरीबाट सदरमुकाम महेन्द्रनगर सारियो । यो कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिकका लागि ठुलो पीडा र दुर्भाग्यको कारक बन्यो ।

 


अहिले प्रदेशको राजधानी कता बनाउन उपयुक्त भन्ने विषय खुबै चर्चा र बहसको विषय बनेको छ । यही चर्चा र बहस चलिरहेकै बेला कञ्चनपुरको बेलौरीलाई समेत प्रदेश नम्बर ७ को राजधानी बनाउँदा उपयुक्त हुने चर्चा चलिरहेको छ । 

 

 

यदी कञ्चनपुरको बेलौरीलाई केन्द्र मानी प्रदेश नम्बर ७ को राजधानी तोकिने हो भने नगरपालिकाबाट गाउँपालिकामा परिणत हुँदाको पीडामा परेका नागरीकको बाहुल्यता भएको बेल्डाँडी, रानाथारु समुदायको अत्यधिक बसोबास रहेको, राज्यको दृष्टि पुग्न नसकेको, तराईमा भएपनि चारपांग्रे सवारी साधन समेत आवतजावत गर्न नसकिने दुरावस्थामा रहेको लालझाडी, पुनर्वास गराइएको, बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक तथा शहीद गोविन्द गौतमको नगरी पुनर्वास तथा सदरमुकाम नै खोसिएको, ठेकेदारका कामदारदेखि सरकारका प्रमुखसम्मले खेलबाड र शोषण गर्दै आएको बेलौरीका नागरिकले राहात मात्रै पाउँने नभई निर्वाध अन्तर्रा्ष्ट्रिय नाका देखि पर्यटकीय भूगोल, औद्योगीकरण र बजारीकरणको प्रचुर सम्भावना बोकेको बेलौरीलाई प्रदेश नम्बर सातको राजधानी बनाउँदा सात नम्बर प्रदेशको मात्रै होइन नेपालकै लागि उपयुक्त क्षेत्र बन्नेमा दुई मत छैन । 

 

 

त्यसकारण कञ्चनपुरको बेलौरीलाई केन्द्र राखी प्रदेशको राजधानी तोकिनु पर्छ । यसअघि पनि कञ्चनपुरको बेलौरीलाई केन्द्रित गर्दै यस क्षेत्रका समाजसेवी बुद्धीजिवी आदरणीय केशब राज जोशी ज्यू ले यहाँका मुख्य आधार, पृष्ठभूमि, इतिहास, चुनौती र सम्भावनाका विषयमा थुप्रै पटक कलम चलाउनु भएको थियो । जुन यस क्षेत्रमा मात्र होइन, केन्द्रमा समेत बहसको विषय बन्ने गर्दथ्यो र परिवर्तन सम्भव छ भन्ने विषय नेतृत्वले समेत सोच्न बाध्य हुनु पथ्र्यो । त्यही आधार, पृष्ठभूमि, इतिहास, चुनौती र सम्भावनाका विषयलाई यहाँ चित्रण गर्न खोजिएको हो । जुन प्रदेश नम्बर ७ को राजधानीका रुपमा बेलौरी समेत एक विकल्प बन्न सकोस् ।

 

  • बेलौरी प्रदेश नम्बर ७ को राजधानी बन्न उपयुक्त मानिने मुख्य आधारहरु ।।

 

कञ्चनपुरको बेलौरी, बेल्डाँडी, लालझाडी र पुनर्वास उत्तर–पश्चिम शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पूर्व दक्षिण भारतीय क्षेत्रमा दुधवा राष्ट्रिय निकुञ्ज पर्दछ । जुन पर्यटकीय क्षेत्रका लागि उपयुक्त स्थान हो । २०१९ सालमा राजा महेन्द्रको हिउँदे पर्यटन भ्रमण कञ्चनपुर इमलिया क्याम्पको हुकुम अनुसार यहाँबाट सदरमुकाम विस्थापित भएको हो । यसरी राज्यबाट प्राप्त सौभाग्य राज्यले नै हरण गरेपनि यहाँको भूगोल यही रह्यो । विगतमा कैलाली कञ्चनपुरका ५ वटा मण्डी (बजार) भजनी, हसुलिया, मालाखेती, बेलौरी, ब्रम्हदेव मध्ये  ठुलो मण्डी बेलौरी नै थियो र बेलौरी भन्सार नै ठुलो भन्सार थियो ।

 

खाद्यान्नमा धान, गहुँ, मकै, तेलहनमा तोरी, तेल, आलस मात्रै नभई काठ, काठका भाँडाकुँडा, जीवजन्तुका हाडखोर, जडीबुटी आदि सामग्री निर्यात गरिने वस्तु थिए भने लत्ताकपडा, नुन, गुड, भाँडाकुँडा, औषधी, घर निर्माण सामग्री आयात गरिने मुख्य वस्तु थिए । मंसिर देखि चैत्र÷बैसाख सम्म भारतका सीमावर्ती बजार खजुरिया, सम्पूर्णानगर, पलिया, पुरनपुर, मैलानी, सिजगढ, बरेली, पिलिभित, सीतापुर, काशिपुर, लखनौं र कानपुर सम्मका व्यापारीहरु हाट बजारमा व्यापार गदर्थे । 

 

सदरमुकाम विस्थापित हुँदा विकास निर्माण ओझेलमा परे पनि उर्वराशक्ति राम्रो भएका कारणले नगदे बाली उखु (गन्ना) खेतीको विस्तार भएको छ । फलस्वरुप यस क्षेत्रमा ५० भन्दा बढी गुड उत्पादक कोलु छन् । बेलौरीमा उत्पादित गुडको प्रमुख बजारहरु नेपालगंज, सुर्खेत, बुटवल र नारायणघाट मानिएका छन् । महाकाली र भागेश्वर २ वटा ठुला चिनीमिलहरु संचालनमा छन् । ठाउँ ठाउँमा दाल, चामल, पिठो र तेल मिलहरु छन् । दुई दर्जन बढी इटा उद्योगहरु छन् । दर्जनौँ फर्निचर उद्योग छन् । 

 


भारत उत्तराञ्चल चम्पावतको पूर्णागिरीको टाकुरा स्थित पूर्णागिरी माताको दर्शन लगतै तिर्थाटनको पुण्यलाभ प्राप्तीका लागि सिद्धबाबाको दर्शन अनिवार्य रहेको धार्मिक मान्यता छ । फागुन देखि वैशाख पूर्णिमा सम्म चल्ने पुर्णागिरी मेलामा बेलौरी र यस निकटका भारतीयवस्ती र बजार खजुरीया, सिद्धनगर, कमलापुर, हजारा, सिंघाई, पुरनपुर, सम्पूर्णानगर, पलिया, लखिमपुर, गोलागोकर्ण आदि क्षेत्रका तीर्थ यात्रीले पुर्णागिरीको दर्शन पश्चात बेलौरी स्थित सिद्धबाबाको दर्शन गर्ने व्यवस्थाले यहाँको धार्मिक पर्यटकीय महत्व बढ्ने छ । यसका लागी कलुवापुर–बेलौरी–सिमासडक स्तरीय हुनु आवश्यक छ । बेलौरी बजार क्षेत्रमा नै रहेका मठ मन्दिरमा त्रिपुरासुन्दरी, दुर्गामाता, कालिका देवी, त्रिपुरेश्वर महादेव, कालेश्वर महादेव (नकटा बाबा), निङ्लासैनी आदिको आफ्नै महत्व छ । गंगादशहराका उपलक्ष्यमा भकुण्डा नकटा–बाबा मन्दिर मेलामा नेपाल र भारतका  हजारौ तीर्थयात्रीले मेला भर्दछन् ।

 

 

बेलौरी बजारबाट धनगढी २५ किलोमिटर पुर्वमा छ, महेन्द्रनगर ४५ किलोमिटर पश्चिम–उत्तर र अत्तरीया ४० किलोमिटर पुर्व –उत्तरमा छ । बेलौरी बजार कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को केन्द्र हो, सम्पूर्ण दक्षिणी भेगको केन्द्र हो । बेलौरी क्षेत्रमा ठाउँ ठाउँमा बजारहरु फैलिएका छन् । कुनै टोलवस्ती स्तरका बजार छन् भने कुनै नगर स्तरका बजार छन् । चौवन्नी, बेल्डाँडी, रतनपुर, खैरीघाट, भुडा, शिवनगर, कलकत्ता, पचुई, बरैया, बेलौरी, चान्देव, कुण्डा, गोकुलपुर, खिरिया, बुटावारी, आईबिआरडी, त्रिभुवनवस्ती, परासन, चकमली, डोकेबजार २० ओटा बजार मध्ये बेलौरी बजार र आइविआरडी शहरोन्मुख बजार हुन भने सबैभन्दा ठुलो बजार बेलौरी नै हो ।
 


२०७२ बैसाख देखि बेलौरी बजारमा कञ्चनपुरको दक्षिणी भेगका साविक १० वटा गा.वि.स. का लागि मालपोत तथा नापी शाखा कार्यालय सञ्चालन भएर ५५ वर्ष पछि सदरमुकाम पुर्नस्थापित भएझैँ यहाँका जनतालाई महशुस भएको छ । १ लाख ५१ हजार भन्दा बढी जनसंख्या लाभान्वित भएका छन् । आर्थिक व्यय भार घटेर समयको पनि बचत भएको छ ।  बेलौरी बजारमा गृह, अर्थ, संचार, शिक्षा, कृषि, स्वास्थ्य, उर्जा, बन, भूमि सुधार, संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास आदि मन्त्रालय अन्र्तगत पर्ने थुप्रै सरकारी कार्यालय छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डौं, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, कञ्चन विकास बैंक, ग्रामिण विकास बैंक, निर्धन उत्थान बैंक लगायत थुप्रै बैंकका शाखा साथै दर्जनौ सहकारी संस्थाहरुले पनि वित्तिय कारोबारमा सहयोग पु¥याएका छन् । 

 

  • बेलौरी प्रदेश नम्बर ७ को राजधानी बन्ने प्रचुर सम्भावना र चुनौती ।।

बेलौरी बजार बृहत, औद्योगिक, व्यापारिक, पर्यटकीय, स्वस्थ, बहुआयामिक साथै नमुना शहरको योजना कार्यान्वयनको पक्षमा रहेकाले बेलौरी प्रदेश नम्बर ७ को राजधानी बन्ने प्रचुर सम्भावना छन् भने चुनौती पनि कम छैनन् । 
 


खासगरी भौतिक पूर्वाधार निर्माण गर्दा १०० वर्ष पछिको उन्नत ढाँचा र स्वरुपको परिकल्पनालाई साकार पार्दै जानुमा बेलौरी वा जुनसुकै ठाउँको पनि उज्जवल भविष्य सुनिश्चित छ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

निर्माण कार्य चालु रहेको ३० किलोमिटर लामो कलुवापुर बेलौरी सिमासडक र डोकेबजार–बेलौरी, बेलौरी–बेल्डाँडी, बेल्डाँडी–दैजी हुलाकी सडक खण्ड कम्तिमा चार लेनको बनाइनु पर्दछ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

उक्त दुवै सडकको भूमिका विर्तामोड–भद्रपुर, ईटहरी–विराटनगर, ढल्केवर–जनकपुर, सिमरा–विरगंज, बुटबल–भैरहवा, भैरहवा – लुम्बिनी, कोहलपुर–नेपालगंज र अत्तरीया–धनगढी जस्तै औद्योगिक कारिडोर बन्ने छ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

बेलौरी ७ नं. प्रदेशको दक्षिणी मोहडाको प्रवेश द्धार हो । यहाँबाट भारत उत्तर प्रदेशको राजधानी लखनउ, औद्योगिक शहर कानपुर पश्चिम र पश्चिम उत्तरका रुद्रपुर बरेली जस्ता ठुला औद्योगिक, व्यापारिक शहर पनि नजिक पर्ने हुनाले उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतसित व्यापारका लागि ट्रान्जिट पोइन्ट बन्न सक्छ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

सिमा ईलाका नेपाल भारत दुवै तर्फ नदी नाला, जंगल नभएको खुला र आवादी क्षेत्र भएकाले नेपाल भारत सिमास्तम्भ १०९ र ११० का बीच नेपाल तर्फको कलुवापुर–बेलौरी सहायक राजमार्ग र भारत तर्फको पुरनपुर–खजुरिया सब हाइबेको मिलान भएकोले सडक यातायातका लागि उत्तम क्षेत्र बन्न पुगेको छ । १५७ वर्ष पुरानो ३२,८२७ (बत्तिस हजार आठ सय सत्ताईस) वर्गमिटर परिसर र ३ वटा पक्की घर भएको भौगोलिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय, व्यापारिक महत्व बोकेको बेलौरी भन्सारलाई बेलौरीका हितका लागि, कञ्चनपुरको हितका लागि, ७ नं. प्रदेशको हितका लागि, देशकै हित र समृद्धिका लागि नाका भन्सारमा परिणत गर्नु नितान्त आवश्यक छ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

 

उत्तर दक्षिण कलुवापुर– बेलौरी सहायक राजमार्ग र पूर्वपश्चिम हुलाकी सडकलाई आधार मानेर गाउँ, बस्ती, टोल र बजारका चालु बाटाहरुलाई नै जोडेर स्तरोन्नती गरेर त्यसमा बन्ने ढल निकास, पौडण्डी, हरित पेटी, विद्युत÷टेलिफोन पोलिङ, खानेपानी, ग्याँस÷पाइपिङ्ग र मुल सडक कम्तिमा २ लेनको डिजाइन एउटै मोडलमा बनाई १६–२० मिटर चौडाईको मापदण्ड कायम राखी कम्तिमा ४ ओटा चक्रपथको निर्माण कार्य पूर्वाधार विकासको योजनालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी कार्यान्वयनका लागी तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक छ । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

बेलौरी बजारलाई नमुना शहर बनाउने सरकारी योजना कार्यान्वयनको चरणमा भएका कारणले पनि स्थानीय सरोकारवाला सबैले आफ्नो दायित्व जिम्मेवारी पूर्वक बहन गर्ने नै छन् । बेलौरी बजार एक नमुना शहर बन्ने क्रममा छ । आसपासका सबै गाउँ बस्ती र टोल पनि सुविधा सम्पन्न बस्तीमा परिणत हुनेछन् । जुन प्रदेश राजधानी बनेपछि प्रचुर मात्रामा सम्भव छ ।

 

 

 

हरिश चन्द्र बाग, सञ्चारउद्यमी ।
संस्थापक अध्यक्ष ः उदयदेव मिडिया प्रा.लि. कञ्चनपुर ।
स्टेशन म्यानेजर ः रेडियो बेलौरी, कञ्चनपुर ।
 

<