ताजा खबर

अर्थ-वाणिज्य

विद्यालयको बृहत्तर विकासका लागि सञ्चालन गरिएको महायज्ञमा बाह्र लाखभन्दा बढी रकम संकलन

कञ्चनपुर, १३ मंसिर ।।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा असिग्राम माध्यमिक विद्यालयको बृहत्तर विकासका लागि सञ्चालन गरिएको महायज्ञमा रु १२ लाख ४४ हजार ४७९ रकम संकलन भएको छ । मंसिर ३ गतेदेखि १० गतेसम्म सञ्चालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो ।

 

एक सातासम्म सञ्चालन भएको महायज्ञमा कलशबाट रु तीन लाख ३४ हजार ४००, विभिन्न संघसंस्था र व्यक्तिबाट रु छ लाख ४९ हजार ७२०, तुलादानबाट रु २४ हजार ९६९, पूजा आरतीबाट रु दुई हजार ३७९, शालिग्राम पूजाबाट नौ हजार ९१९ रकम संकलन भएको महायज्ञ मूल कार्य समितिका सचिव तेजबहादुर सुनारले बताए । खर्च भएको रकम कटाइ बाँकी रहेको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलबको व्यवस्था गर्न र विद्यालयमा पढाइको गुणस्तर सुधार गर्नमा खर्च गरिने उनले बताए ।

 

असिग्राम माध्यमिक विद्यालयमा पढ्दै आएका अति विपन्न, गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा बस्दै आएका धर्मसिंह साउदले अक्षयकोषका लागि रु दुई लाख एक हजार र स्थानीय बासिन्दा वीरेन्द्रबहादुर ऐरले रु एक लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष स्थापना गर्ने ऐर सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षकमा कार्यरत छन ।

 

अक्षयकोषमा जम्मा रहेको रकमबाट आउने ब्याजबाट अति विपन्न, गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रद्यानाध्यापक भरतबहादुर ऐरले बताए । विद्यालयमा ४०० भन्दा बढी बालबालिका पढ्दै आएका छन ।
 

<