स्थानीय समाचार

पर्यटकीय दृष्टिकोणले ठूलो सम्भाव्यता बोकेको कञ्चनपुरमा ४ दर्जन जति प्राकृतिक ताल

कञ्चनपुर, २९ चैत्र । पर्यटकीय दृष्टिकोणले ठूलो सम्भाव्यता बोकेको कञ्चनपुरमा ४ दर्जन जति प्राकृतिक ताल रहेका छन् । कञ्चनपुर जिल्ला भित्रका ४७ ओटा प्राकृतिक तालहरु मध्ये सबैभन्दा ठूला तालहरुमा बेलौरी नगरपालिकामा रहेका पुरैना ताल र बन्दा ताल गणना गरिन्छन् । पुरैना तालको क्षेत्रफल ३० हेक्टर छ भने बन्दातालको क्षेत्रफल २५ हेक्टर रहेको छ । बाँकी अन्य तालको क्षेत्रफल ०.४ हेक्टरदेखि ७ हेक्टरसम्म रहेको छ । कञ्चनपुरका विभिन्न ठाउँमा रहेका जम्मा ४७ ओटा प्राकृतिक तालहरु मध्ये २७ ओटा तालमा व्यवसायिक माछापालन गरिएको छ । केहीमा उपभोक्ता समूह मार्फत माछापालन गरिएको छ भने केही तालहरु सामुदायिक वनले ठेक्कामा दिएर माछापालन व्यवसायमा प्रयोग गरिएको छ । तर सामुदायिक वन तथा निकुञ्ज क्षेत्रमा रहेका २० ओटा तालहरुमा प्राकृतिक रुपमा माछा रहे तापनि व्यावसायिक माछापालनको कार्य नगरिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनु भयो । 

प्राकृतिक तालमध्ये सबैभन्दा बढी ताल शुक्लाफाँटा नगरपालिकामा भित्र रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा जम्मा १३ ओटा प्राकृतिक ताल छन् । त्यस्तै बेलौरी नगरपालिकामा ८, बेदकोट नगरपालिकामा ६, पुनर्वास नगरपालिकामा ५, कृष्णपुर नगरपालिकामा ४, महाकाली नगरपालिकामा ३, बेल्डाँडी गाउँपालिकामा ४, लालझाडी गाउँपालिकामा १, भीमदत्तनगरपालिकामा १ र शुक्लाफाँटा निकुञ्जमा २ गरी ४७ वटा तालहरु रहेका जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । यी तालहरुमा २९ प्रकारका माछा, ११ प्रकारका उभयचर तथा सरिसृपका साथै ३१ किसिमको सिमसार क्षेत्र पनि रहेको छ ।

अधिकांश प्राकृतिक तालहरु वर्षाको पानीले बगाएर ल्याउने माटो र बालुवाका कारण तथा संरक्षण संवद्र्धनको अभावमा पुरिदै जान थालेपछि ती तालहरुको अस्तित्व लोप हुने खतरामा रहेको वरिष्ठ कृषि विकास अधिकृत जोशीले बताउनु भयो । चुरे पहाडको फेदीमा रहेका २ दर्जन भन्दा बढी तालहरु सबैभन्दा बढी जोखिममा रहेका छन् । जसले गर्दा दुर्लभ चराचुरुङ्गी, सरिसृपको वासस्थान समेत खतरामा परेको छ । समुद्र सतहदेखि १६० मिटरदेखि १५२८ मिटरसम्म उचाइ रहेको कञ्चनपुरमा विशेष किसिमको जैविक विविधता पाइन्छ ।

<