विचार

नव निर्वाचित उपप्रमुखलाई खुल्ला पत्र

नव निर्वाचित उपप्रमुख ज्यू ,
भिमदत्त नगरपालिका, कञ्चनपुर, 
तपाई अब कुनै राजनितिक पार्टी बिषेश मात्र नभएर भिमदत्त नगरबासीको अभिभावक बन्नु भएको छ । बिजयी हुनु भएकोमा बधाई तथा कार्यकालको शुभकामना पनि । जुन दिन तपाई भिमदत्तनगर नगरपालिकाको गरिमामय उपप्रमुख पदमा बिजयी हुनुभएको थियो त्यो क्षणमा तपाई खुसी भए पनि म दुःखी थिए र छु । किन भने एकातिर प्रमुख पद हात पारेका उम्मेदवारको बिजयी र्यालीमा महेन्द्रनगर बजार भरी जमात थियो भने अर्को तिर १२ हजार ७ सय ७५ मत जुन भिमदत्त नगरपालीकाका कुनै पनि उम्मेदवारले प्राप्त गर्न सकेनन र तपाईले यति धेरै जनमत ल्याउनु भयो तर पनि तपाईको बिजयीको खुसियालीमा करिब ३०,३५ जना शुभईच्छुकको शुभकामना दिन वरिपरी घेरीएको भिड बाहेक कुनै र्याली देख्न सकिएन । ३०,३५ जनामा पनि धरै महिलाहरु नै थिए पुरुष त ८,१० जना भन्दा बढि थिएनन् ।  
 
मलाई लाग्छ कि सबै भन्दा बढि मत ल्याए पनि तपाई महिला भएर नै कुनै खुसियाली र बिजयी जुलुस निकालीएन । नत्र त सबैभन्दा बढि जनमत ल्याउने उम्मेदवारलाई भव्य स्वागत र सम्मान हुनु पर्ने होईन र ? अरु कसैले स्वागत र सम्मान दिन नसके पनि तपाईले टिकट पाउनु भएको पार्टी र मतदिने मतदाताले त स्वागत गर्न सक्थे नी । हुन त मैले त्यतिबेला भिमदत्त नगरपालिका नगरकार्यपालिकाको आँगनमा बिजयी घोषणा हुने बित्तिकै तपाई संग प्रत्यक्ष प्रसारण मार्फत कुराकानी गर्दा सोधेको थिए “सुदुरपश्चिममा महिलाहरुलाई हेर्ने दृष्टिकोण र यहाँका पुस्तौ देखी अन्याय सहेर बसेका महिलाहरुलाई तपाईले उन्मुक्ती दिन सक्नु हुन्छ ? 
 
तपाईले यसको सकरात्मक जवाफ दिए पनि त्यो जवाफमा निराशापन झल्किएको थियो । हो म सारै दुखी छु , किन भने जव सम्म महिलाहरुलाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन हुदैन, जव सम्म अन्यायमा परेर पनि अन्याय सहेर बसेका महिलाहरुले न्याय पाउदैनन्, जव सम्म सबैभन्दा बढि जनमत ल्याउने महिलाको बिजयी जुलुस र सम्मान हुदैन तव सम्म हामीले खुसि हुनुको औचित्य रहदैन । वर्षौ देखिको यो महिला माथी गरीने बिभेदको अन्त्य गर्ने जिम्मा तपाईको हातमा सुम्पीएको छ । अब तपाईले यसको अन्त्यकालागी केहि पहल गर्नु हुनेछ भन्नेमा आशाबादि छु । हैन भने कहिले सम्म हाम्रा दिदीबहिनीहरुले अन्यायको सिकार भएर बस्ने ? कहिले सम्म अपहेलित भएर बस्ने ?

रमेश धामी, भिमदत्त नगरपालिका, कञ्चनपुर

<