बेलौरी खबर

दार्चुलामा महाकाली बाढीको त्रास, सदरमुकाम जोगाउने तटबन्ध भासियो

सन्तोष कोट्टारी, दार्चुला, २६ असार । महाकाली नदीको कटानबाट दार्चुला जिल्ला सदरमुकाम खलंगालाई जोगाउने उद्देश्यले निर्माण गर्न लागिएको तटबन्ध भत्किन थालेको छ ।


अविरल वर्षाका कारण महाकालीमा बहाव बढेपछि प्याकेज नम्बर १० मा तटबन्ध निर्माणका लागि राखिएको ‘गे्रभेटी रिटेनिङ वाल’ डेढ फिट भासिएको छ ।

भासिने क्रम जारी रहेमा र महाकाली नदीको बहाव बढ्दै गएमा दार्चुला सदरमुकाम खलंगा बजार खतरामा पर्ने भन्दै स्थानीय त्रासमा छन् । ‘तटबन्ध निर्माण हुन थालेपछि महाकालीमा पानीको बहाव जति बढेपनि सुरक्षित हुने आशमा रहेका खलंगाबासी तटबन्ध नै भासिन थालेपछि पुनः ०७० सालको बाढीको स्मरण गरिरहेका छौं,’ स्थानीय नरेश अवस्थीले भने ।

०७० साल साउन २ गते आएको महाकाली बाढीले सदरमुकाम खलंगामा ठूलो जनधनको क्षति भएको थियो ।

बाढीले कुरुप बनाएको जिल्ला सदरमुकामको रिङनताल क्षेत्रमा यसपालिको बाढीले पनि तटबन्ध भत्काउन सुरु गरेपछि स्थानीय त्रसित भएका हुन् । उक्त वाल महाकालीले बगाउने होे भने पुनः समस्या सिर्जना गर्नसक्ने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलप्रसाद देवकोटाले अनुमान गरे ।

कसरी भत्कियो तटबन्धको वाल ?

रिङनताल क्षेत्रमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको ग्रेभेटी रिटेनिङवालको सपोर्टमा नदीमा रहेका ढुंगाहरु नदीको बहावले बगाएको छ । सपोर्टको अभाव हुँदा नदीको बहाव र पानीसँगै बगेर आएका ढुंगाले वालमा लगातार हान्ने गरेको तथा तल्लो भागमा कटान गरेकाले वाल भासिन सुरु भएको महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा काउन्टर रिटेनिङवाल राख्ने ठाउँ नपुगेकाले ग्रेभेटी रिटेनिङवाल राखिएको थियो । ‘काउन्टर रिटेनिङवाल राख्न पाएको भए नदीले कटान गर्ने र भासिने सम्भावना कम हुने थियो,’ आयोजना प्रमुख देवकोटा भन्छन् ।

तटबन्धको अन्य प्याकेज जस्तै ठाउँ नपुग्दा राखिएको ग्रेभिटी रिटेनिङवालका कारण पनि नदीलाई कटान गर्न सजिलो भएको उनको भनाइ छ ।

तटबन्ध भत्क्यो भने कहाँ पुग्छ असर ?

तटबन्ध भासिनुमा तत्कालिक कारण महाकालीको बहाव बढ्नु नै भएपनि नदी पारी भारततिर गएको पहिरो पनि थप अर्को कारण रहेको स्थानीय बताउँछन् । पारीतिर भारतको पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गत गएको पहिरोका कारण महाकालीको मूल प्रवाह नेपालतिर फर्किएको छ । सोही दिनदेखि नै तटबन्धमा असर परेको थियो ।

केही गरी उक्त प्याकेज नम्बर १० को ग्रेभिटी रिटेनिङवाल भासिएर नदीमा बग्यो भने चार वर्ष अगाडि महाकालीमा आएको बाढीले निम्त्याएको खतरा पुनः सिर्जना हुनेछ ।

यद्यपि उक्त प्याकेजभन्दा दक्षिणतिर १ किलोमिटर भन्दा बढी तटबन्ध निर्माण गरिसकिएकाले पहिले जत्तिकै खतरा भने नहुने आयोजना प्रमुख देवकोटा दाबी गर्दछन् । तर, घाटबजार र ग्रेभिटी रिटेनिङवाल राखिएका क्षेत्रमा भने पुनः समस्या हुने उनले अनुमान गरे ।

कामचलाउ काम

तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको पहलमा पटक-पटक भारतीय समकक्षीलाई भेटेर भारततिरको पहिरो हटाउन आग्रह गरिएको थियो ।

भारतीय पक्षले पनि नेपालतिरको गाम्भीर्यतालाई हेरेर तुरुन्तै पहिरो हटाउने जानकारी दिएको थियो । तर, नदीको मूल प्रवाह नै नेपालतिर फर्काउने गरी भारततिर गएको पहिरोलाई अहिलेसम्म हटाइएको छैन । नेपाल सरकारका तर्फबाट उक्त पहिरो हटाउन भारतीय पक्षलाई आग्रह गरेर औपचारिकता पूरा गर्नुबाहेक थप विशेष पहल नगरिएको स्थानीयको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला भने नेपालतिरको अवस्थाबारे भारतीय समकक्षीलाई जानकारी गराएको भएपनि वर्षामा पहिरो हटाउने कार्य सम्भव नै नभएको बताउँछन् ।

हालसम्म साढे ३७ करोड खर्च, थप ८ करोड माग

भारततर्फ पहिरो गएर महाकालीको बहाव परिवर्तन भएको झण्डै ८ महिनापछि मात्रै नेपाली पक्षले तटबन्ध राख्न टेण्डर आहृवान गर्ने तयारी गरेको छ ।
भारततिर पहिरो गएको ठाउँको ठीक वारीतिर तटबन्ध राख्न मंगलबार मात्रै टेण्डर आहृवान गरिने महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ । ‘पहिरो गएको केही महिनामै तटबन्धका लागि टेण्डर आहृवान गरेको भए अहिलेसम्म आधा काम सकिन्थ्यो र महाकालीले कटान गर्ने काम पनि सहजै गर्न सक्दैनथ्यो,’ स्थानीय मदनसिंह धामी भन्छन् ।

भत्कन लागेको तटबन्धको नदीमा परे पनि थप समस्या सिर्जना नहोस् भनेर निरन्तर काम गरिरहेको आयोजना प्रमुख देवकोटा बताउँछन् ।

आयोजनाले १२ प्याकेजमा तटबन्ध निर्माण कार्य गरेवाफत गत महिनासम्म ३७ करोड ५१ लाखभन्दा बढी खर्च गरिसकेको छ । यो वर्ष बाँकी कामका लागि ८ करोड माग गरिएको छ । भौतिक कार्य प्रगति भने ७० प्रतिशत मात्रै रहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।

<