स्थानीय समाचार

शुक्लाफाँटाका नवनिर्वाचित नगर प्रमुख द्वारा आफ्नो घरकै काठको कुर्सीमा पदभार ग्रहण

अर्जुन सिंह, कञ्चनपुर, २६ असार । राजनितिज्ञहरु कुर्सीका लागि हानथाप गर्छन् अनि सेवासुविधा पुगेन भनेर तत्कालै खरिद गर्छन् । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वा्चित मेयर दिलबहादुर ऐरले भने नगरपालिकाले उपलब्ध गराएको आरामदायी कुर्सी छोडेर घरबाटै काठको कुर्सी लगेका छन् ।

ऐरले नेपाली कांग्रेसबाट नेकपा एमालेलाई पराजीत गर्दै मेयर पदमा जित हात पारेका थिए । नगरपालिकाले मेयरका लागि कार्यालयमा कुर्सीको व्यवस्था गरेको भएपनि आईतबार सपथग्रहणपछि कार्यभार सम्हालेका मेयर ऐरले घरबाट लगिएको काठको कुर्सीमा बसेर काम थालेका छन् । उनले भने, ‘कार्यालयले दिएको सुविधासम्पन्न कुर्सीभन्दा आफूले सधैं बस्दै आइरहेको काठको कुर्सी नै प्यारो लाग्छ ।’ उनले सुविधासम्पन्न कुर्सीभन्दा जनताको जनप्रतिनिधिको हैसियतले जनताको कामलाई प्राथमिकतामा राखेर दिनरात काम गर्ने बताए ।


पदभार ग्रहण लगतै नगरपालिकाका मेयर ऐरको अध्यक्षतामा बसेको बैठकले सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । ४ बुँदे निर्णयमा सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि प्रक्रिया थाल्ने तथा विगत वर्षदेखि नै अव्यवस्थित बसोबास गर्दै आएका व्यक्तिलाई जग्गाधनी प्रमाणपत्रको पूर्जा प्राप्तिका लागि आवश्यक प्रक्रिया थाल्ने उल्लेख गरे ।

बैठकले १२ वटै वडामा पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्ने, आवश्यक जनशक्ति पूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने, नदी कटान नियन्त्रणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पायक पर्ने स्थानमा ५० शैयाको अस्पताल स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको मेयर ऐरले बताए ।
 

<